Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाली बनेर भारतीयद्धारा दुई अर्ब ३९ करोडको राजश्व छली

२०७७ आश्विन २७ गते

एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ। राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन्। उनले सुनिल सुनारको नाममा नेपाली नागरिकतासमेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। 

उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको मैनालीले जानकारी दिए। उनीहरु विरुद्ध दुई अर्ब ३९ करोड ५५ लाख रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो।

उनलाई विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटबलबाट खटिएको टोलीले असार ३० गते पक्राउ गरेको थियो। सोनीले सुन, चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको खुलेको छ। अनुसन्धानका क्रममा उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने र सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने गरेको पाइएको मैनालीले जानकारी दिए।

 

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।

Ad