Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना बीमाको दाबी : निजी ल्याबको पीसीआर रिपोर्ट बीमा समितिको स्वीकृतिपछि मात्र भुक्तानी

२०७७ आश्विन २६ गते

अब कोरोना बीमामा निजी प्रयोगशालाको पीसीआर रिपोर्ट बीमा समितिको विशेष कार्यदलले स्वीकृत गरेपछि मात्र त्यसको दाबी भुक्तानी गरिने भएको छ । निजी प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइआएको दाबी आवेदनको हकमा यस्तो व्यवस्था गर्न लागिएको हो । बीमा कम्पनीहरूमा हालसम्म ‘पेन्डिङ’मा रहेको दाबी र अब आउने दाबी आवदेन दुवैमा यो व्यवस्था लागू हुनेछ । निजी ल्याबको रिपोर्टलाई बीमायोग्य मान्यता दिने विषयमा यसअघि नै समितिको कार्यकारी निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल बीमक संघका प्रनिनिधि पनि छन् । अब सोही कार्यदलले निजी ल्याबबाट आएको पीसीआर रिपोर्टलाई ‘बीमायोग्य’ प्रमाणित गरेपछि मात्र दाबी भुक्तानी दिने व्यवस्था गर्न लागिएको हो । सम्भवतः यही सातादेखि यो व्यवस्था लागू हुने बीमा समितिले बताएको छ ।

सरकारी स्वामित्वको प्रयोगशालाबाट प्राप्त पीसीआर रिपोर्टको हकमा भने यो व्यवस्था लागू हुनेछैन । निजी प्रयोगशालाको पीसीआर रिपोर्ट नक्कली हुने आशंका देखिएपछि कोरोनाको बीमाको दाबी भुक्तानीमा नयाँ प्रणाली विकास गर्न लागिएको हो । बीमा दाबी लिने नियतले नै निजी ल्याबमा नक्कली रिपोर्ट बनाएर बीमा दाबी गर्ने गरेको कम्पनीहरूको आशंका छ । त्यस्तो प्रवृत्ति देखिएपछि बीमा कम्पनीहरूले पछिल्लो समय दाबी प्रक्रिया नै रोकेका छन् । त्यसपछि निजी ल्याबको रिपोर्टलाई स्वास्थ्य मन्त्रालय समेतको प्रतिनिधित्व रहेको कार्यदलबाट स्वीकृति गर्ने व्यवस्था गर्न लागिएको हो । अहिले बीमा कम्पनीहरूमा ७१ अर्ब रुपैयाँ बराबरको दाबी आवेदन थाती छ ।

निजी ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएमा बीमितले सम्बन्धित कम्पनीमै आवश्यक कागजपत्र सहित दाबी पेश गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले त्यो आवेदनको कागजपत्र मिलाएर नेपाल बीमक संघ अर्थात् लघुबीमा पुलमा पठाउनेछ । संघले समितिमा त्यो फाइल पठाउनेछ र समितिले उक्त कार्यदल मार्फत दाबी दिने÷नदिने विषयमा निर्णय गर्ने बताइएको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले यस विषयमा आवश्यक तयारी भइरहेको बताए । ‘निजी ल्याबमा नक्कली पीसीआर रिपोर्ट बनाएर बीमा दाबी गर्ने गरिएको आशंका छ । त्यसैले हामीले दाबी भुक्तानीमा पनि ढिलाइ गरेका हौं,’ उनले भने, ‘अहिले दाबी भुक्तानीमा नयाँ मापदण्ड बनाउन लागिएको हो । त्यो मापदण्ड लागू भएपछि पेन्डिङमा रहेका दाबी आवेदन प्रक्रियामा अगाडि बढ्छन् ।’ यस विषयमा आवश्यक पूर्वाधार तयार भइसकेको उनको भनाइ छ ।

एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले निजी ल्याबको पीसीआर रिपोर्टलाई बीमायोग्य भनी मान्यता दिँदा नै दाबी भुक्तानीमा समस्या आएको बताए । ‘बीमितले सरकारी ल्याबमा मात्र परीक्षण गर्नुपर्ने भनेर व्यवस्था गरेको भए यस्तो समस्या आउने थिएन । निजी ल्याबको रिपोर्टलाई मान्यता दिइयो,’ उनले भने, ‘तर, निजी ल्याबबाट नक्कली रिपोर्ट आउने अवस्था पनि देखियो । त्यसैको त्रासले नै दाबी भुक्तानीमा समस्या आएको हो ।’

बीमा समितिका एक उच्च अधिकारीले पनि कार्यदल मार्फत निजी ल्याबको रिपोर्टलाई बीमायोग्य भनेर स्वीकृत दिने विषयमा आवश्यक तयारी भइरहेको बताए । ‘बीमा समितिका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गत हप्ता कार्यालय नै सिल गरेका थियौं । त्यसैले यसमा प्रभावकारी रूपमा काम गर्न पाइएको थिएन,’ उनले भने, ‘आइतवार कार्यालय सञ्चालन गरेसँगै यस विषयमा आवश्यक कामहरू भइरहेको छ ।’

साथै, बीमा कम्पनीहरूलाई कोरोना बीमाको दाबी भुक्तानी फाष्ट ट्र्याकमा अगाडि बढाउन आन्तरिक रूपमा निर्देशन दिएको उनको भनाइ छ । ‘कम्पनीहरूले दाबी भुक्तानी दिइरहेको बताएका छन् । यद्यपि, हामीले फास्ट ट्र्याकमै दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन भनेका छौं,’ उनले भने । साथै, कम्पनीहरूले पनि अब दाबी प्रक्रिया छिटो र सरल रूपमा अगाडि बढाउने बताएका छन् ।

नेपालमा कोरोना संक्रमण शुरू हुन थालेपछि बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसमा नेपाल पुनर्बीमा कम्पनी पनि समावेश छ । यसबाट हुने व्यवसाय र दायित्व पुनर्बीमा कम्पनीलाई २० प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूलाई ८० प्रतिशत दिने व्यवस्था छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad