February 2nd, 2016

शेयर बजारमा अर्को हलचल : १० ब्रोकर बराबर एउटा डीपी

economic 2नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यता सम्बन्धि कार्यमा विशिष्टीकरण गराउने उद्येश्यले आफ्नो नियम संशोधन गरेको छ । बोर्डले कमतीमा १० वटा शेयर ब्रोकर मिलेर मात्रै एउटा निक्षेप सदस्य (डीपी) खोल्न पाउने गरि नियम संशोधन बोर्डका प्रवक्ता निरज गिरीले एक वक्तव्यमार्फत जानकारी गराए । यसबाट इच्छुक धितोपत्र दलाल व्यवसायीहरु मिलेर ठूलो पुँजी तथा पर्याप्त क्षमताका साथ निक्षेप सदस्यतासम्बन्धि सेवा दिन सक्ने वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, देशभर छरिएर रहेका धितोपत्र खरिद तथा विक्रिकर्ताहरुले सहज रुपमा प्रतिष्पर्धी सेवा पनि प्राप्त गर्न सक्नेछन् । यसअघि डीपी सदस्यताको आवेदन कम परेको भन्दै बोर्डले कम्पनिको नेटवर्थको ५ गुणासम्म सम्पति व्यवस्थापन गर्न सक्ने गरी नियम संशोधन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ४७ कम्पनिले डीपीको इजाजत लिएका छन् । जसमध्ये ९ कम्पनि शेयर ब्रोकर हुन् ।

धितोपत्र बोर्डले दोस्रो बजार विस्तारको नीतिगत निर्णय लिँदा अनिवार्य रुपमा आफ्नो सहमति लिन समेत नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारलगायतका अन्य विषयमा आफ्नो अनिवार्य सहमति लिन नेप्सेलाई निर्देशन दिएको हो । साथै, दोस्रो बजार विस्तारका लागि ब्रोकरको शाखा वा संख्या विस्तारको अध्ययनका लागि कार्यदल गठन गर्नुपर्ने बोर्डको निर्देशन छ । यसम्बन्धका काम अघि बढिसकेको र एक साताभित्रै कार्यदल गठन भइसक्ने नेप्सेले जनाएको छ ।