धादिङ-पछिल्लो समय बैकको पुँजीको सिमा बढाउनु पर्ने अनिर्वाय शर्तँंगै आपसमा मर्ज हुने क्रम जारी छ । बैंक आपसमा मर्ज तथा गाभिएसँगै नयाँ जिल्लामा वा नयाँ स्थानमा शाखा खोल्न पाउने व्यवस्थाले धादिङ जिल्लामा बैंकको संख्या र शाखा ह्वात्तै बढेको छ । भदौ महिनाको अन्त्यसम्ममा जिल्लामा २७ वटा बैंकका ६९ शाखा रहेका छन् । तर शाखा संख्याका आधारमा महिला नेतृत्व निकै कम रहेको छ । हाल दुई वटा बैंकको दुई शाखाले मात्र महिला नेतृत्व तथा प्रमुख पाएको छ ।
महिला नेतृत्व पाउने राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखा हो ।
२०७० फागुनमा राष्ट्रिय वाणिज्य बैंकमा सेवा प्रवेश गरेकी अनिता श्रेष्ठ आफ्नै घर पायकमा रहेको गजुरी शाखामा हाजिर भइन् । २०७५ कार्तिकबाट केन्द्रिय कार्यालयमा जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभागमा रहेर काम गरिन् । २०७६ वैशाख २५ गते आफ्नै गाँउमा रहेको शाखाको प्रमुख भएर व्यवस्थापकीय जिम्मेवारी लिएर २८ वर्षिय श्रेष्ठ काम गर्न थालिन । “बैंकको व्यवस्थापनले कार्य क्षमता, कार्य शैली हेरर जुन जिम्मेवारी दिएको छ, त्यो पूरा गर्नु मेरो दायित्व हो” उनले भनिन्, “स्मार्ट बैंक बनाउने केन्दीय नीति अनुसार काम गरिरहेकी छु ।” हाल गजुरी शाखामा छ सय भन्दा बढी कर्जा खाता, १५ हजार पाँच सय भन्दा बढी बचत खाता र छ सय भन्दा बढी सामाजिक सुरक्षा खाता रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक १७ वटा शाखा प्रमुख महिला छन् । अर्को महिला प्रवन्धक पाउने बैंक मुक्तिनाथ विकास बैंक हो । २०६८ साउनमा सिभिक डेभलभमेन्टबाट सेवा प्रवेश गरेकी सीता अधिकारी सिभिक डेभलप बैंक २०७२ असारमा मुक्तिनाथ विकास बैक मर्ज भएपछि मुक्तिनाथ विकास बैंक बेनीघाट शाखाको प्रमुख भइ २०७३ साउन २० बाट कार्यरत छिन् । घर पायक पर्ने गरी बैकले शाखा प्रमुखको जिम्मेवारी दिँदा आफूले केही गरेर देखाउने मौका मिलेको बताइन् ।
“व्यवस्थापनलले दिएको लक्ष्य भन्दा बढी नै काम गरेकी छुु, कर्जा खाता दुई सय १३, बचत खाता चार हजार चार सय ७५ र सामाजिक सुरक्षा भत्ता खाता एक हजार रहेका छन्” उनले भनिन्, “उहाँहरुको चित्त बुझ्दो सुवा दिन सके मात्र नयाँ ग्राहक थपिने भएकाले सेवा प्रवाह चुस्तदुस्त बनाएका छौ ।” हाल मुक्तिनाथ विकास बैंकको ९ वटा शाखामा प्रमुख महिला छन् ।
जिल्लामा २१ वटा ‘क’ वर्गका बैंकका ५३ शाखा र छ वटा ‘ख’ वर्गका बैकका १६ वटा शाखा रहेका छन् । सबै भन्दा धेरै ‘ख’ वर्गको मुक्तिनाथ विकास बैकका आठ वटा शाखा र ‘क’ वर्गको प्रभु बैंक, मैगा बैंक, एनआईसी एसिया बंैकका छ÷छ वटा शाखा रहेका छन् । जिल्ला विभिन्न १८ स्थानमा बैंकका शाखाहरु रहेको छन् । सबै भन्दा धेरै जिल्ला सदरमुकाम धादिङवेशीमा १७ वटा बैंकको १९ शाखा रहेका छन् ।
रुवीभ्यालीमा अहिलेसम्म कुनै पनि बैंकका शाखा सञ्चालनमा आएका छैनन् । मुलक संघीय संरचनामा गएपछि एक पालिका एक बैंक भनेपनि रुवीभ्यालीमा बैंक पुग्न नसक्दा जिल्ला सदरमुकाम स्थित बैंकबाट पालिकाले कारोबार गरिरहेको छ । मुलुक संघीय संरचनामा गएपछि, खनियाँबास गाँउपालिकाको दार्खामा बैंक अफ् काठमाण्डू, गंगाजमूना गाँउपालिकाको फूलखर्कमा एसबिआई बैंक, ज्वालामुखी गाँउपालिकाको साँधभन्ज्याङ मेगा बैंक र सिंद्धलेक गाँउपालिकाको बुङचुङमा कुमारी बैंकले शाखा सञ्चालन गरेको छ ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।