
‘नेपालमा धेरै विदेशी लगानी आउने देश भारतमा पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ प्रतिशत घटेको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका परियोजनाहरूमा लगानी आउने क्रम जारी छ । यसकारण पनि विदेशी लगानी गत वर्षको भन्दा कम हुँदैन ।’ विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले पनि सन् २०२१ मा विश्व अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेका छन् । यसले पनि आउँदा महिनामा विदेशी लगानी बढ्ने उनको भनाइ छ । पछिल्ला वर्षमा लगानीको वातावरणमा सुधार भएको, सोसम्बन्धी केही कानुन बनेको, एकद्वार प्रणालीको सुरुवात भएको, लगानी सम्मेलन गरिएकोलगायत कारण विदेशी लगानी बढेको राष्ट्र बैंकले जनाएको छ । ‘कोभिड–१९ ले सिर्जना गरेको अवस्था छाड्ने हो भने मुलुकमा लगानीको वातावरणमा उल्लेख्य सुधार भएको छ,’ प्रवक्ता भट्टले भने । गत आर्थिक वर्षमा एफडीआई करिब झन्डै ५० प्रतिशत बढेको थियो । अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएकोमा गत आवमा यो बढेर १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानीको ९० प्रतिशतभन्दा बढी हिस्सा चारवटा जलविद्युत् आयोजनामा आएको छ । जसमा वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा २ अर्ब, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३ अर्ब ६० करोड, अरुण जलविद्युत्मा ८ अर्ब १५ करोड र सोलु हाइड्रोपावर कम्पनीमा १ अर्ब ४२ करोड विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
गत असारसम्मको तथ्यांक हेर्दा रेमिट्यान्समा जस्तै विदेशी लगानीमा पनि कोभिड–१९ को प्रभाव देखिएको छैन । नेपालमा सरकारले गत चैत ११ देखि लकडाउन गरेको थियो । चैतयता असारसम्म ठूलो परिमाणमा विदेशी लगानी नआए पनि अघिल्लो वर्षभन्दा केही बढेको देखिन्छ ।
कोभिड–१९ का कारण ठूला आयोजनामा आउने विदेशी लगानी नघटे पनि जनताको स्तरमा आउने लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने विज्ञहरू बताउँछन् । तत्कालको कोरोना असरलाई बिर्सने हो भने पनि नेपालमा धेरै विदेशी लगानी भित्र्याउन सरकारले गरेका काम पर्याप्त नभएको उनीहरूको आरोप छ । सरकारले केही नीतिगत सुधार गरे पनि व्यवहारमा अपेक्षित सुधार भएको छैन । ‘एकद्वार नीति बनाउने भन्दै उद्योग विभागमा एक निकाय थपियो । तर त्यहाँ अत्यावश्यक पूर्वाधार पनि छैन । त्यस्तो ठाउँबाट के धेरै सुविधा आस गर्नु ?’ एक विज्ञले भने ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ०७५/७६ मा सबै महिना विदेशी लगानी घटेको थियो । सो आर्थिक वर्षका पुस र जेठमा ऋणात्मक नै पुगेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार देखिएको छ । उक्त आर्थिक वर्षका सबै महिनामा लगानी उल्लेख्य रूपमा बढेको छ ।
पछिल्ला वर्षमा मुलुक भित्रिने विदेशी लगानीभन्दा लाभांशबापत बाहिरिने रकम धेरै छ । यो प्रवृत्ति हरेक वर्ष बढ्दो छ । गत आवमा आएको एफडीआईमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रमा छ । अघिल्ला वर्षमा यस्तो लगानी औद्योगिक क्षेत्रमा धेरै थियो । लगानीमा रहेको पुँजी हेर्दा सबैभन्दा धेरै लगानी ट्याक्स हेभन मानिने ‘वेस्ट इन्डिज’ राष्ट्रबाट आएको राष्ट्र बैंककै अध्ययनले देखाएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।