Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जा–लगानी बढ्दै

२०७७ आश्विन १७ गते

बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै अर्थतन्त्र चलायमान हुन थालेको छ । चाडबाडको रौनकले पनि यसमा साथ दिएको छ । दशैँको पूर्वसन्ध्यामा बजारमा बढ्न थालेको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको छ ।
नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको र कर्जा लगानी बढ्न थालेको हो ।
भदौ मसान्तदेखि असोज ९ सम्म करिब दुई सातामा वाणिज्य बैङ्कको कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको सङ्घले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ब्याज बढाएका कारण निक्षेप सङ्कलन पनि दुई सातामा करिब ३७ अर्ब रुपियाँले बढेको छ । असोज ९ सम्ममा वाणिज्य बैङ्कहरूले ३५ खर्ब ३२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपियाँ कर्जा
लगानी गरेका छन् । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले कर्जाको माग बढ्न थाल्नु खुसीको कुरा भन्दै अझै पनि अवस्था सामान्य अवस्था नभए पनि बिस्तारै बढ्दै जाने बताउनुभयो ।

औसत कर्जा ब्याज दरमा कमी
बैङ्क तथा वित्तीय संस्थामा बैङ्कहरूले दिने कर्जाको औसत ब्याज दरमा कमी आएको छ । चालू आर्थिक वर्षको साउनमा कर्जाको औसत ब्याज दर १०.४७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको औसत ब्याज दर १२ प्रतिशत थियो । बैङ्कहरूको आधार दर घटेसँगै कर्जाको ब्याज दरमा कमी आएको हो ।
चार÷पाँच महिना कर्जाको न्यून माग भएपछि कर्जाको ब्याज दर ह्वात्तै घटाउन थालेपछि पछिल्लो समय कर्जाको माग बढ्न थालेको हो । बैङ्क तथा वित्तीय संस्थाले असोज १ देखि लागू हुने गरेर नयाँ ब्याज दर सार्वजनिक गरेपछि कर्जाको नयाँ माग बढ्न थालेको हो ।
राष्ट्र बैङ्कले केही दिन पहिले मात्रै बैङ्क तथा वित्तीय संस्थालाई प्रत्येक महिना सुरु हुने अघिल्लो दिन अर्को महिनाको ब्याज दर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार भदौ अन्तिम दिन नै केही बैङ्क तथा वित्तीय संस्थाले असोज १ बाट लागू हुने गरी नयाँ ब्याज दर सार्वजनिक गरेका थिए ।
कर्जा विस्तारमा विभिन्न सुविधा र अफरसहितका योजना सार्वजनिक गरिरहेका बैङ्कहरूले कर्जाका लागि एकल बिन्दु अर्थात् १० प्रतिशतभित्रै कर्जा योजनालाई अटाएका छन् । बैङ्क तथा वित्तीय संस्थाले धमाधम घरजग्गा र सवारीसाधन किन्न सस्तोमा कर्जा उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको महामारीका कारण लगानी गर्न नपाएका बैङ्क तथा वित्तीय संस्थाले लकडाउन खुकुलो भएसँगै धमाधम कर्जा लगानीका लागि उपभोक्ता तान्ने होडमा छन् ।
कोरोना भाइरसका कारण सरकारले गत चैत ११ देखि मुलुकभर नै लकडाउन गरेयता बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएका कारण बैङ्कहरू कर्जा लगानीका लागि उदार देखिन थालेका हुन् ।

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

 

Ad