Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब दिनभरीका बैंकिङ खबरहरु एउटै समाचारमा (हेरौं आजका बैंकिङ खबरहरु)

२०७७ आश्विन १३ गते

बैंकिङ खबर । बैंकिङ खबरमा अबदेखि हरेक दिनका बैंकवित्तका खबरहरु एउटै समाचारमा समेट्ने कोशिस गरेका छौं । हेरौ दिनभरीका बैंकिङ खबरहरु

एक व्यक्ति दुई वटा सहकारीमा सदस्य बन्न नपाइने
अबदेखि एक व्यक्ति एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् । शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाइ छ ।

सूचीकृत कम्पनीलाई नबिकरण शुल्क बुझाउन नेप्सेको निर्देशन
नेपाल स्टक एक्सचेञ्जले सूचीकृत सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरणका लागि असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था छ । धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार नेप्सेले आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र वापतको बार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।
जस अनुसार ५० करोडसम्म चुक्तापूँजी भएका कम्पनीलाई वार्षिक नबिकरण शुल्क बापत ५० हजार रुपैयाँ तोकिएको छ । ५० करोडभन्दा माथिका कम्पनीले भने १ लाख बुझाउनु पर्नेछ । यस्तै, ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका म्युचुअल फन्डले २५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउन पर्नेछ भने, ५० करोड माथिका म्युचुअल फन्डले ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

एशियाको जीडीपी वृद्धि १९६७ पछिकै सबैभन्दा कम हुने विश्व बैंकको आंकलन
एशियामा कोरोना महामारीको कारण १९६७ पछि कै सबैभन्दा कम जीडीपी वृद्धि दर हुन सक्छ । यो लगभग ०.९ प्रतिशत हुनेछ । विश्व बैंकले आर्थिक अपडेटमा यस्तो जानकारी दिएको हो । विश्व बैंकको यो जानकारीका अनुसार पूर्वी एशिया र एशिया प्रशान्त (चीन सहित) मा कोरोनाको कारण विगत ५० बर्षको सबैभन्दा कम वृद्धि दर हुनेछ । कोरोना भाइरस महामारीको कारण पूर्वी एशिया र प्रशान्त क्षेत्रका साथै चीनको अर्थव्यवस्थामा पनि सबै भन्दा कम बृद्धि हुने अपेक्षा गरिएको छ । विश्व बैंकका अनुसार २०२० मा यस क्षेत्रमा ०.९ प्रतिशत मात्र वृद्धि हुने अपेक्षा गरीएको छ । आर्थिक अपडेटका अनुसार पूर्वी एशिया र प्रशान्त क्षेत्रको बाँकी क्षेत्रमा जीडीपीको वृद्धि दरमा ३.५ प्रतिशतको गिरावट आउन सक्छ । प्रतिवेदनमा भनिएको छ “महामारीलाई रोकथाम गर्ने प्रयास र यसको प्रसारले आर्थिक क्रियाकलापमा उल्लेखनीय समेत ल्याएको छ ।” यी देशहरूले महामारीको आर्थिक र वित्तीय प्रभाव पार गर्नका लागि राजस्व जुटाउन वित्तीय सुधार गर्नुपर्नेछ ।

पुनकर्जाको लागि आवेदन दिने समय थप
नेपाल राष्ट्र बैंकले पुनकर्जाको लागि आवेदन दिने समय थप भएको छ । केन्द्रिय बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाइ एकमुष्ट रुपमा प्रदान गर्ने यस्तो कर्जाको लागि आवेदन दिने म्याद असोज ३० गतेसम्मको लागि थपेको हो। नेपाल राष्ट्र बैंकले भदौ एक गतेदेखि पुनरकर्जाको लागि आवेदन माग गरेको थियो। यसको म्याद असोज १४ गतेसम्म थियो । तर लकडाउन तथा निषेधाज्ञाको कारण बैंक तथा वित्तीय संस्थाहरुले आग्रह गरेपनि केन्द्रिय बैंकले यस्तो कर्जाको म्याद थप गरेको हो ।

नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहको १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

यूनाइटेड फाइनान्सको ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्दती निक्षेप’ योजना
दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी युनाइटेड फाइनान्स लिमिटेडले ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना ल्याएको छ । नेपालीहरुको महानपर्वहरु मध्यनजर गर्दै फाइनान्सले आकषर्क ब्याजदरमा लामो समयाअवधिको मुद्धती निक्षेप योजना संचालनमा ल्याएको हो । सो योजनामा सम्पूर्ण आम सर्वसाधारण, संघसंस्थाहरु सहभागी हुन पाउने छन् ।

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ‘ट्राफिक पोल’ हस्तान्तरण
ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ‘ट्राफिक पोल’ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई पोल हस्तान्तरण गरेको हो ।

नेप्से ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ अर्व ८२ करोड माथिको कारोबार
साताको तेस्रोे दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लागेको छ । आज मंगलबार नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ हजार ५ सय ५३.६२ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.७९ अंकको गिरावटका साथ ३०७.८२ विन्दुमा पुगेको छ । कूल १९२ कम्पनीले ७२ लाख ८० हजार ६६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ८२ करोड ३२ लाख ८३ हजार १७५ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ३ समूहको कारोबार बढेको छ । भने बाकीँ ९ उपसमूहको कारोबार घटेको छ ।

Ad