बैंक जमानतपत्र र प्रकारहरु : (एक अध्ययन सामग्री)

सरोज कटुवाल

बैंक तथा वित्तीय संस्थाले प्रमुख रूपमा बचतकर्ताबाट प्रयोगकर्तामा कोषको हस्तान्तरण र सो को ब्यबस्थापन गर्ने काम गर्दछन् । जसबाट बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी प्राप्त हुन्छ । यस कारोबारलाई कोषमा आधारित कारोबार भनिन्छ । यो बाहेक पनि बैंकले आम्दानी गर्ने अर्काे प्रमुख कारोबार हुन्छ जसको नाम हो गैह्र कोषमा आधारीत कारोबार । गैह्र कोषमा आधारीत कारोबारमा बैंकले प्रतक्ष रूपमा कोष(फण्ड) हस्तान्तरण नगरेर विभिन्न सेवा, सुविधा वा प्रतिबद्धता प्रदान गरि ग्राहकको काम गर्दछ । प्रतितपत्र, बैकं जमानतपत्र, विल्स कलेक्सन आदि गैह्र कोषमा आधारित कारोबारहरू हुन् । गैह्र कोषमा आधारीत कारोबारबाट बैंकलाई कमिसन प्राप्त हुन्छ । यसरी बैंकका आम्दानीका प्रमुख दुई श्रोतहरू भनेका ब्याज र कमिसन हुन जसबाट बैंकले आफ्ना सम्पूर्ण लागतहरू ब्यबस्थापन गर्दै नाफा कमाउने, राज्यलाई कर तिर्ने, आवश्यक प्रोभिजनिङ गर्ने तथा शेयरधनीलाई लाभांश प्रदान गर्ने गर्दछ ।

पृष्ठभूमि :
कुनै एक पक्षले विभिन्न समयमा विभिन्न ब्यक्ति वा संस्थासँग कारोबार गर्नुपर्ने हुनसक्छ वा उनिहरूलाई कुनै कार्यसम्पादन गराउनुपर्ने हुनसक्छ । यस क्रममा सो ब्यक्ति वा संस्थाको बारेमा सबै यथार्थ जानकारी प्राप्त हुन्छ नै भन्ने छैन जुन कुराले गर्दा विश्वासको अभाव हुनजान्छ । विश्वासको अभावले गर्दा आफ्नो कारोबार वा कार्य रोक्ने कुरा पनि आउदैन , साथसाथै अविश्वासमै कारोबार गर्न पनि जोखिमपूर्ण हुन्छ । भोलीका दिनमा विभिन्न कारणले कारोबार वा कार्यसम्पादन असफल हुने, करार भंग हुने, धोकाधडी जालसाजी हुने संभावना पनि कायमै रहन्छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले उक्त ब्यक्ति वा संस्थाको तर्फबाट जमानी बसी कारोबार वा कार्य सम्पादन सुचारू बनाउन बैंक जमानतपत्र जारी गर्ने गर्ने गर्दछन् । बैंकहरूको बारेमा आम रूपमा जानकारी प्राप्त हुने , विश्वसनीयता हुने, कानुनी रूपमा दावी गर्न पर्याप्त र सजिला आधारहरू हुने हुँदा अन्य ब्यक्ति वा संस्थालाई भन्दा बैंक वित्तीय संस्थाहरूलाई विश्वास गर्न सहज हुने हुँदा बैंक जमानत पत्र बिश्वब्यापीरूमा व्यापक प्रचलनमा रहेको छ ।

परिभाषा :
बैंक जमानतपत्र भन्नाले बैंक तथा वित्तीय संस्थाद्वारा जारी गरिएको एक प्रकारको प्रतिबद्धता पत्र हो जसमा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको तर्फबाट करार उलङ्घन भएमा जमानतपत्र स्विकारकर्ता (बेनिफिसिअरी) लाई निश्चित समयसम्म निश्चित रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाईएको हुन्छ ।
अर्काे शब्दमा ग्राहकले विश्वसनीयता भङ्ग गरेमा, तत्काल नगद जम्मा गर्नु पर्नेमा अथवा भविष्यमा भुक्तानी गर्नु पर्नेमा ग्राहक त्यस्तो कार्य गर्न असमर्थ भएमा बैंक तथा वित्तीय संस्थाले बैंक जमानतपत्र मार्फत भुक्तानी प्रतिबद्धता जनाएको हुन्छ ।  यसरी बैंक तथा वित्तीय संस्थाले बैैक जमानतपत्र मार्फत आफ्नो ग्राहकको वित्तीय जिम्मेवारी लिइ ग्राहकको कारोबारलाई सुचारू गराउने कार्य गर्दछ ।

प्रकार :
आजसम्म सर्वसम्मत तरिकाले कसैले पनि बैंक जमानतपत्रको प्रकार उल्लेख गरेको छैन । आवश्यकता अनुसार विभिन्न नाम दिदैँ फरक फरक तरिकाले जमानतपत्रहरू जारी गर्ने गरिएकोले यसका प्रकारहरू एकिन गर्न नसकिएको हो । यधपी ब्यबहारिक रूपमा सामान्यतया निम्न बैंक जमानतपत्रहरू बढी प्रचलनमा रहेको पाइन्छ ।

१. बिड जमानतपत्र (बिड ग्यारेन्टी )
ठेक्कापट्टा, बस्तु तथा सेवाको आपूर्ति तथा अन्य काम सम्पन्न गराउनका लागि आह्वान गरिएको बोलपत्रमा भाग लिनको लागि पेश गरिने जमानतपत्रलाई बिड जमानतपत्र भनिन्छ । यस्तो कार्यमा भाग लिन ठेक्का रकम वा मालसामान सप्लाई रकमको केही प्रतिसत (सामान्यतया २.५५ देखि ५५ सम्म) नगद धरौटीको रूपमा राख्नुपर्छ वा सो बराबरको जमानतपत्र पेश गर्न पनि सकिन्छ । अर्थात बोलपत्रका साथ पेश गरिने जमानतपत्रलाई बिड जमानतपत्र भनिन्छ । सामान्यतया यसको अवधि ३(६ महिनाको हुन्छ । ठेक्का अस्विकृत भएमा वा स्वीकृत भइ सम्झौता भएमा यो स्वतः निष्कृय हुन्छ । ठेक्का स्वीकृत भइ सम्झौता गर्न नगएमा यसको दावी माग हुने गर्दछ ।

२.कार्यसम्पादन जमानतपत्र (परफमेन्स ग्यारेन्टी)
ठेक्का पट्टा, सामान सप्लाई गर्न वा सेवा प्रदान गर्न आह्वान गरेको बोलपत्र स्वीकृत भए पश्चात् सम्झौता गर्न पेश गरिने जमानतपत्रलाई कार्यसम्पादन जमानतपत्र भनिन्छ । यस्तो सम्झौता गर्नको लागि ठेक्का कबोल गरेको रकमको केही प्रतिशत (सामान्यतया ५५ देखि १०५ सम्म) नगद धरौटी वा सो बराबरको बैंक जमानतपत्र माग हुन्छ । पछि गएर तोकेबमोजिमको कार्यसम्पादन पूरा हुन नसकेमा वा कार्यसम्पादन सन्तोषजनक नभएमा यो जमानतपत्रको दावी माग हुने गर्दछ ।

३. अग्रिम भुक्तानी जमानतपत्र (एड्भान्स पेमेन्ट ग्यारेन्टी)
ठेक्का सम्झौता पश्चात कार्यसम्पादन गर्ने क्रममा सम्पूर्ण खर्च ठेकेदार आफैले लगाउन कठिन भइ कार्य रोकिन सक्छ, यस्तो अवस्थामा कार्यप्रगति अनुगमन गरि समय समयमा आंशिक रकमको भुक्तानी गर्ने व्यवस्था रहेको हुन्छ । यस्तो भुक्तानी लिनको लागि पेश गर्नुपर्ने जमानतपत्रलाई अग्रिम भुक्तानी जमानतपत्र भनिन्छ । यस्तो जमानतपत्र समयमा कार्य सम्पन्न गर्नको लागि वित्तीय श्रोत जुटाउन प्रयोग हुन्छ ।

४) काउन्टर ग्यारेन्टी
ठुला आयोजनाको लागि अन्तर्राष्ट्रियरूपमा ग्लोबल टेन्डर आह्वान गरिन्छ । आह्वान गरेको देशमा अन्य देशका ठेकेदार,कम्पनी, फर्म वा आपूर्तिकर्तालाई प्रतक्ष जमानत जारी गरिदैन सो अवस्थामा उनिहरूले आफ्नै देशमा रहेका बैंक तथा वित्तीय संस्थाको जमानतपत्र मार्फत टेण्डर आह्वान गरेको देशका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गर्न लगाई प्राप्त हुने जमानतलाई काउन्टर ग्यारेन्टी भनिन्छ । यो यउटा जमानतपत्रको आधारमा अर्काे जमानतपत्र जारी गरिने प्रक्रिया हो ।

५) भन्सार जमानतपत्र
यस्तो जमानतपत्रहरू विदेशमा मालसामान आयात निर्यात गर्नको लागि भन्सार कार्यलयहरूले ब्यापारीहरू सँग माग गर्ने गर्दछ । कुनै ब्यबसायीहरूले विदेशमा सामान निर्यात गर्छ भने उसले त्यसको कच्चापदार्थ आयातमा भन्सार छुट प्राप्त गर्दछ तर उक्त छुट स्वदेशमै बस्तु बिक्री गरेमा प्राप्त हुदैन । सुरूमै भन्सार छुट प्राप्त गरेर उत्पादन भएको बस्तु अन्य देशमा बस्तु निर्यात हुने अनिश्चिततालाई न्युनिकरण गर्न यो जमानतपत्रको प्रयोग गरिन्छ ।

६) वित्तीय र भुक्तानी जमानतपत्र
वित्तीय जमानतपत्र त्यस्तो जमानतपत्र हो जसलाई जारी गर्दा जमानतपत्रमा उल्लेख गरिएको रकम बराबर नगद अथवा अन्य मालबस्तु प्राप्त हुन्छ । साधारणतया उधोगको डिलरसिप प्राप्त गर्न, एअरलाईन्स कम्पनीको बिक्रेतारएजेन्ट हुनका लागि यस्तो जमानतपत्र जारी गरिन्छ । ब्यबसाय अवरुद्ध हुँदा यसको दावी माग हुने गर्दछ ।

उल्लेखित जमानतपत्रहरू बाहेक पनि अन्य जमानतपत्रहरू प्रयोगमा छन । जस्तै : डिपोजिट ग्यारेन्टी, धरौटी जमानत(अदालतमा नगद धरौटी को सट्टामा प्रयोग हुने), तेश्रो पक्ष जमानत(कुनै एक को लिमिटबाट अर्काेलाई जारी गरिने जमानत), सिपमेन्ट ग्यारेन्टी आदि ।

अन्तर्राष्ट्रिय रूपमा आई. सी. सी. (इन्टरनेसनल चेम्बर अफ कमर्श ) को यु.आर.डि.जी(युनिफर्म रूल्स फर डिमाण्ड ग्यारेन्टी) ७५८ बैंक जमानतको सबैभन्दा प्रचलित प्राक्टिसको रूपमा स्थापित छ । नेपालमा भने विभिन्न करार सम्बन्धि कानुन, नेपाल राष्ट्र बैंकका परिपत्रहरू मार्फत यसलाई नियमन गर्ने गरिएको यस कारोबारको लागि छुट्टै एउटा ऐेनको स्पष्ट व्यवस्था गर्नु आजको आवश्यकता हो । बैंक जमानतपत्र नगद कारोबारको जोखिमलाई कम गर्न, नगदको अभाव भएको बेला पनि कार्य प्रक्रिया अगाडि बढाउन ग्राहक र बेनिफिसिअरीको बिचमा हुने अविश्वासलाई कम गर्न आदि कारणले व्यापक प्रयोग र प्रचलनमा आएको छ। साथै बैंक हरूको लागि पनि कम जोखिममा राम्रो आम्दानीको श्रोतको रूपमा रहेको यस नन फन्डेड बिजनेसले बिस्तारै आफ्नो योगदान बढाउदै लगेको पाईन्छ । जोखिम र व्यवसाय बिचको आदर्शतम ब्यबस्थापन बाट प्राप्त प्रतिफलको आँकडा हेर्ने हो भने यस कारोबारले नेपाली समाजको “ऋण नलागे जमानी बस्नु“ भन्ने उखानलाई गलत सावित गरिदिएको छ।

(लेखक नेपाल बैंक लिमिटेड, प्र.का. ट्रेड फाईनान्स डिभिजनमा कार्रत हुनुहुन्छ, लेखमा उल्लेखित बिषयबस्तुले लेखकले काम गर्ने संस्थासंग कुनै सरोकार राख्दैन ।)


सोसिअल मेडिया