September 19th, 2020

सातामा नेप्से परिसूचक ५१.४९ अंक बढ्यो, लगानीकर्ताको सम्पत्ति ६८ अर्बभन्दा बढीले वृद्धि

यो साता शेयर बजारमा रू. १४ अर्ब २८ करोड ९७ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको छ । 

यो साता गत साताको भन्दा कारोबार रकम रू. २ अर्ब ७६ करोड ७१ लाख ५८ हजार बढी भएको हो । गत साता रू. ११ अर्ब ५२ करोड २६ लाख ४० हजार बराबरको शेयर कारोबार भएको थियो । यो साता ४ करोड २३ लाख ४३ हजार ६७१ कित्ता शेयर खरीदविक्री भएको छ ।

गत साताको तुलनामा यो साता १ करोड ५३ लाख ६७ हजार ५३९ कित्ता बढी शेयर कारोबार भएको हो । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ५७२ दशमलव १८ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से १ हजार ५२० दशमलव ६९ विन्दुमा थियो । 

साताको कारोबारमा देखिएको परिवर्तनको अवस्था :

स्रोत : नेप्से

गत साताभन्दा यो साता नेप्से ५१ दशमलव ४९ विन्दु माथि उक्लिएको हो । त्यस्तै ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सातामा ११ दशमलव १२ विन्दु बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३०१ दशमलव ३८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३१२ दशमलव ५० विन्दुमा पुगेको हो ।

यो साता पाँच कारोबार दिनमा बजार चार कारोबार दिन बढेको छ भने एक दिन घटेको छ । यो साता अन्तिम कारोबार दिन बजार साताको सर्वाधिक अंक ३० दशमलव ७८ अंकले बढेको छ । मंगलवार एक दिन बजार ४ दशमलव ४७ अंकले घटेको थियो । 

यो समय लगानीकर्ताहरुको बाली भित्र्याउने समय भएकाले पनि बजारले सहि गति लिइरहेको विश्लेषकहरुको भनाइ छ । सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्न शुरु गरेको अवस्थामा लगानीकर्ताहरुले लाभांश सुरक्षित गर्न पनि कारोबार बढाइरहेको देखिन्छ ।

बजार ५१ अंक माथि उक्लिंदा कुल बजार पूँजिकरण रकम पनि सातामा रू. ६८ अर्ब ४५ करोड ७० लाखले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख रहेको कुल बजार पूँजिकरण रकम यो साताको अन्तिम दिन रू. २० खर्ब ९० अर्ब २० करोड ६० लाख पुगेको हो । कुल बजार पूँजिकरण रकम हालसम्मकै बढी हो । 

नेप्सेले उच्च १ हजार ८८१ विन्दु कायम गरेको दिन पनि कुल बजार पूँजिकरण रकम यो भन्दा कम रहेको थियो । विसं २०७३ साल साउन १२ गते नेप्सेले उच्च विन्दु कायम गरेको थियो । त्यस दिन रू. २० खर्ब ७० अर्ब ९९ करोड ५० लाख कुल बजार पूँजिकरण कायम भएको थियो । 

यो साताको अन्तिम दिन हालसम्मकै सर्वाधिक कित्ता शेयर कारोबार भएको छ । बिहीवार १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर कारोबार भएको थियो । यस दिन १९१ ओटा कम्पनीको ५३ हजार २४० पटकको व्यापारमा उक्त कित्ता शेयर कारोबार भएको हो ।
 

सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु : 

स्रोत : नेप्से

यस साता पनि सर्वाधिक कारोबार गर्ने १०ओटा कम्पनीमध्ये पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको सातामा रू. ८२ करोड ४० लाख ८६ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता पाँच कारोबार दिनमै उक्त कम्पनीको सर्वाधिक रकमको कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो स्थान नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । यो साता उक्त कम्पनीको रू. ५३ करोड १० लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।
 

सर्वाधिक बजार पूँजिकरण भएका १० ओटा कम्पनीहरु :

स्रोत : नेप्से

यस साता पनि सर्वाधिक बजार पूँजिकरण हुने कम्पनीका पहिलो स्थान नेपाल दुरसञ्चार कम्पनीले नै लिएको छ । उक्त कम्पनीको शेयरको कुल मूल्य अर्थात कुल बजार पूँजिकरण रकम रू. १ खर्ब ६ अर्ब ८० करोड रहेको छ । कुल बजार पूँजिकरणको सबैभन्दा बढी हिस्सा उक्त कम्पनीले ओगटेको हो ।

शेयर बजारमा उक्त कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । सर्वाधिक कुल बजार पूँजिकरणको दोस्रो भने नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको भने कुल बजार पूँजिकरण रू. ८७ अर्ब ६० करोड कायम रहेको छ । उक्त कम्पनीको १० करोड कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ ।

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]