September 17th, 2020

सहकारीले वैकल्पिक बाटोबाट साधारणसभा गर्नसक्ने

सहकारी संस्थाहरूले वैकल्पिक व्यवस्थाबाट साधारणभा गर्न पाउने भएका छन् । कोभिड–१९ को महामारी बढ्दै गएपछि सहकारी विभागले साधारणसभाका लागि सदस्यहरूले साधारणभाको प्रस्ताव र प्रतिवेदन अग्रिम रूपमा उपलब्ध गराई निर्णय पुस्तिका खुला राखी निश्चित समयभित्र साधारणसभा गर्न पाउने व्यवस्था गर्ने लागेको हो ।
वैकल्पिक रूपमा साधारणसभा गर्ने विधिबारे विभागले मंगलबार सहकारी महासंघ/संघका पदाधिकारीहरूसँग छलफल गरेको छ । सुझावका आधारमा छिट्टै साधारसभासम्बन्धी निर्देशन जारी गर्ने विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताए । विभागमा भएको छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले साधारणसभासम्बन्धी निर्देशिका छिटो जारी गर्न आग्रह गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले वैकल्पिक विधिबाट साधारणसभा गर्नका लागि नमुना कार्यविधि समेत निर्माण गरेर संस्थाहरूलाई पठाइएको जानकारी दिए ।
सहकारी ऐन–२०७४ मा सहकारी संघ-संस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ । यस्तै, साधारणसभाका लागि संस्थामा कायम रहेको सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिमा अनिवार्य गरिएको छ । तर, कोभिडको महामारीका कारण सदस्यहरूलाई भौतिक उपस्थिति गराउन सम्भव नभए पछि सहकारीहरूलाई वार्षिक साधारणसभा गर्न अप्ठ्यारो परेको छ । सर्वसाधारणको आवतजावतमा प्रतिवन्ध लागेको र स्वास्थ्य सुरक्षामा समेत जोखिम उत्पन्न हुनसक्ने भन्दै सहकारीले वार्षिक साधारण सभाका लागि वैकल्पिक विधिको व्यवस्था गर्नुपर्ने माग राखेका आएका छन् ।
महासंघले साधारणसभाका लागि निश्चित समय नतोकी वर्षभरी साधारणसभा गर्न सकिने व्यवस्था गर्न पनि महासंघले सुझाव दिएको छ । संचालक वा कर्मचारीलाई टोल–टोलमा पठाएर २०÷२५ जना सदस्यको समूहमा प्रतिवेदन पेश गरेर सुझाव संकलन गर्ने विकल्प समेत पेश गरेको छ । यसो गर्न सम्भव नभए सहकारीको कार्यालयमा आर्थिक र वार्षिक प्रतिवेदन, प्रस्तावित कार्यक्रम, छलफलका अजेन्डा र माइन्युट राखेर सबै सदस्यलाई पालैपालो बोलाएर सुझाव लिन सकिने विधि समेत सुझाएको थियो । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]