September 15th, 2020

भारु साट्न सकस

पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो ।
अहिले भने भारतीय एक सय रुपियाँ पनि व्यक्ति, व्यवसायी तथा वित्तीय संस्थाले नसाट्दा समस्या बढेको छ । सरकारी र निजी दुवै बैङ्क र वित्तीय संस्थाले भारु साट्न छाडेका छन् ।
भारतीय रुपियाँ बजारमा प्रशस्त भए पनि सटही नहुँदा व्यवसाय गर्न कठिन भएको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले कारोबार गर्दा भारु धेरै जम्मा भएको तर बैङ्कले नसाटिदिँदा समस्या भएको बताउनुभयो । उहाँले भारु बैङ्कले नसाट्ने, सामान खरिद गर्दा साहूले पनि लिन नमान्ने भन्दै पहिले त १००, ५० को नोट बैङ्कमा जम्मा हुने गरेकामा अहिले त्यो पनि बैङ्कले बन्द गर्दा गाह्रो भएको गुनासो गर्नुभयो । कामदारदेखि बैङ्कसम्म भारतीय रुपियाँको कारोबार नहुँदा नसकेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको उहाँको भनाइ छ ।
बैङ्क तथा वित्तीय संस्थाले सटही गर्न नमानेपछि कर्णाली प्रदेशमा व्यापारीसँग भारतीय मुद्रा थुप्रिएको छ । सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिददेखि बजार र चलनचल्तीमा भारतीय रुपियाँको प्रयोग गर्दै आएका छन् । भारतीय रकम सटही नहुने र नेपाली नोटको कमी हुँदा आर्थिक कारोबारमा समस्या परेको छ । प्रदेशमा भित्रिएको भारु साट्न सरकारले तत्काल कदम चाल्नुपर्ने व्यवसायी सङ्घको माग छ ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका सचिव लक्ष्मण कँडेलले सरकारले सहजै सटही गर्ने व्यवस्था नगरे सर्वसाधारणदेखि व्यापारी सम्मलाई आफ्नो दैनिकी चलाउन मुस्किल हुने बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैङ्कको कर्णाली प्रदेश कार्यालयमा पनि भारतीय रुपियाँ सहटी गर्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको जानकारी दिनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले बन्दाबन्दी गरेकै अवधिमा वैदेशिक रोजगारीमा गएका झन्डै डेढ लाख कर्णालीवासी गाउँ फर्किएको प्रदेश सरकारको अनुमान छ । उनीहरूमार्फत प्रदेशमा कति भारतीय रुपियाँ भित्रियो भन्ने एकिन तथ्याङ्क राष्ट्र बैङ्कसँग पनि छैन । कर्णालीको १० जिल्ला हेर्नेगरी स्थापना भएको राष्ट्र बैङ्कले समेत भारतीय रुपियाँको सटही गर्न सकेको छैन ।
नेपाल राष्ट्र बैङ्क कर्णाली प्रदेश प्रमुख डा. शालिकराम पोखरेलले भारतीय रुपियाँ सटही गर्ने जिम्मा आफूहरूको भए पनि पूर्वाधार र पर्याप्त जनशक्ति तथा ढुकुटी नहुँदा गर्न नसकिएको बताउनुभयो ।
उहाँले जनशक्ति, ढुकुटी, पूर्वाधारको पर्याप्त व्यवस्था हुनासाथ सटही गर्न सकिने उल्लेख गर्नुभयो । अझै पनि विदेशी मुद्रा सटही गर्न प्रदेश ५ को नेपालगञ्जमा रहेको राष्ट्र बैङ्कमा पुग्नुपर्ने अवस्था छ ।  

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]