निषेधाज्ञा खुकुलो भएसँगै सहकारी संघसंस्थाहरूलाई तरलताको समस्या हुन थालेको छ । लकडाउन अवधिमा बचत वृद्धि भइ अधिक तरलताको समस्या भोगेका सहकारीहरूमा आर्थिक क्रियाकलाप बढेसँगै बचत फिर्ताको चाप बढेकाले तरलता अभाव भएको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोरोना महामारीको समयमा तरलता बढेको देखिए पनि अहिले धेरै सहकारीलाई तरलताको अभाव भएको बताउँछन् ।
“तरलता बढ्दा प्रचार गर्ने तर अभाव भएको कुरा सार्वजनिक नगर्ने भएकाले तरलताको अभाव परेका सहकारीको वास्तविक तथ्याङ्क आउन नसकेको हो,” सहकारी हकहित समाजले गरेको कार्यक्रममा उनले भने, “तरलताको अभाव भएको कुरा बैंक र छाता संघहरूलाई समेत भन्न हिचकिचाउने गरेको छन् ।” उनले आर्थिक क्रियाकलाप सुचारु भएपछि सहकारीमा तरलताको समस्या बढ्नसक्ने उल्लेख गरे । अध्यक्ष उप्रेतीले अहिले सरकारी पक्षले सहकारीको सन्दर्भ ब्याजदर १३ प्रतिशतमा झार्न प्रयास गरिरहेको खुलासा गरे । “उहाँहरू लघुवित्त वित्तीय संस्थाको ब्याजदर १८ प्रतिशत हुँदा सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोक्यौं, अहिले लघुवित्तको ब्याजदर १५ प्रतिशत ग¥यौं, सहकारीको व्याजदर १३ प्रतिशत गर्दा कसो होला भन्नुहुन्छ,” उनले भने । सहकारीको ब्याजदर कम हुँदा राम्रो हुने भए पनि विषम परिस्थितिमा ब्याजदर घटाउँदा सहकारीको पैसा बाहिरिन सक्ने भएकाले अभियानले तत्काल ब्याजदर नघटाउन आग्रह गरेको अध्यक्ष उप्रेतीले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारीलाई तरलता अभाव भएको अवस्थामा सहयोग गर्न सहकारी बैंक र नेफ्स्कूनले सहकार्य गरेर एक–एक अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सुलभ कर्जा दिनका लागि १ खर्बको ऋण तयार पारिरहेको उल्लेख गर्दै उनले भने, “हामीसँग त्यस्तो कुनै निकाय भएन । राज्यसँग पटकपटक छलफल ग¥यौं तर आफ्नै जगमा उभिनुबाहेक अरु कुनै विकल्प भएन ।” यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईंले अहिले समुदायमा आधारित र व्यवसायकेन्द्रित सहकारीभन्दा पनि लहैलहैमा खोलेका संस्थामा समस्या देखिएको बताए । “केही सहकारीले लकडाउन बढे हुन्थ्यो, संस्था बन्द भइरहे सदस्यलाई बचत फिर्ता गर्नुपर्दैन थियो भन्ने मनोकामना राखेको पाइन्छ,” ललितपुर जिल्लामा सातदेखि १० प्रतिशत सहकारी संस्था लहैलहैमा खुलेको खुलासा गर्दै उनले भने, “सबै सहकारीको अभिभावक भएकाले जिल्ला बचत संघ त्यस्ता सहकारीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर केन्द्रित भएको छ ।”
कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जिल्ला बचत संघमा गत फागुनमा ५० करोड ५९ लाख रुपैयाँ बचत रहेकोमा अहिले १ अर्ब २३ करोड रूपैयाँ पुगेको जानकारी दिए । यसैगरी १७ करोडमा रहेको ऋण लगानी भने ९ करोडमा झरेको जानकारी दिए । छलफलमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का कोषाध्यक्ष निरञ्जन सेढाईंले सदस्य संस्थालाई तरलतको अभाव हुँदा उपलब्ध गराउन संघले पछि वृद्धि गर्दै लैजानेगरी ५ करोड रुपैयाँको व्यवस्थापन कोष खडा गरेको बताए ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।