Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेप्सेमा समस्या समाधान गर्न अर्थको निर्देशन

२०७७ भाद्र ३० गते

सेयर कारोबारको दोस्रो बजार नेप्सेमा पटकपटक समस्या आउन थालेपछि समस्याको दीर्घकालीन समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई निर्देशन दिएको छ ।
मन्त्रालयमा सोमबार भएको छलफलमा सेयरको कारोबार व्यवस्थापन प्रणालीमा देखिने समस्या बारेमा जानकारी गराएको र तत्काल समाधानको उपाय अपनाउन निर्देशन भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष लक्ष्मण न्यौपानेले बताउनुभयो ।
नेप्सेमा यको लिमिटेडले सफ्टवेयर जडान गरेको छ तर उक्त सफ्टवयरको वारेन्टी अवधि अझै नसकिएकाले त्यसको स्वामित्व नेप्सेले लिइसकेको छैन । हाल देखिएका समस्या समाधानका लागि उक्त कम्पनीले प्रयास गरिरहेको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले समस्या समाधान गर्न नसके हामी विकल्प पनि सोच्न सक्छौँ । ”
प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएपछि नेप्सेको अनुरोधमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गत बिहीबार कारोबारको राफसाफ र फस्र्योट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । आइतबार पनि त्यस्तै समस्या आएकाले उक्त दिनको कारोबारको मात्रा हेरेर केही दिनका लागि स्थगित गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।
लगानीकर्ताले नेप्सेले आफ्नो सिस्टममा सुधार गर्न नसकेका कारण लगानीकर्ताको लगानी जोखिममा परेको, नोट्स सञ्चालनमा आइसकेको दुई वर्षसम्म पनि त्यसमा आवश्यक सुधार नभएको गुनासो गरेका छन् । पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोख्रेलको गुनासो छ, “नेप्सेले ब्रोकर कम्पनीलाई दोषारोपण गर्छ तर आफ्नो पद्धतिमा सुधार गर्दैन । यसबाट लगानीकर्ताको दुःखले आर्जन गरेको लगानी जोखिममा परेको छ । ”

कारोबार भने बढ्यो
साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अङ्कले सुधार भएको छ । सेयर बजार मापक नेप्से ३.२६ अङ्कले उकालो लागेर १५४०.५१ को बिन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ अङ्कले उकालो लागेर ३०६.२४ को बिन्दुमा पुगेको छ ।
कुल १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ सेयर किनबेचबाट तीन अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपियाँको कारोबार भएको छ ।  

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad