चार कार्यदिन कारोबार भएको शेयर बजारमा यो साता लगानीकर्ताको सम्पत्ति रू. २ अर्ब १६ करोड २० लाख ८९ हजारले बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन भदौ ११ गते बिहीवार रू. १९ खर्ब २८ अर्ब ४७ करोड २० लाख रहेको लगानीकर्ताको सम्पत्ति अर्थात कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन भदौ १८ गते रू. १९ खर्ब ९८ अर्ब ३१ करोड ४० लाख पुगेको हो ।
कोरोना महामारीको कारण देशभर अन्य व्यवसायिक क्षेत्र ठप्प भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको अधिक तरलता र कम ब्याजदरका कारण शेयर बजारमा लगानी बढी रहेको छ ।
घरमै बसेर कारोबार गर्न पाएका लगानीकर्ताहरुले यो सातामात्र रू. ११ अर्ब ९० करोड २४ लाख ४९ हजारको शेयर खरीदविक्री गरेको तथ्यांक छ । गत साता यो रकम रू. ९ अर्ब ७४ करोड ३ लाख ६० हजार थियो । गत साताभन्दा यो साता कारोबार रकममा रू. २ अर्ब १६ करोड २० लाख ८९ हजारको बृद्धि देखिएको छ ।
यस साता एकै दिन रू. ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । भदौ १७ गते बुधवार रू. ४ अर्ब १८ करोड १० लाख ३६ हजार बराबरको शेयर कारोबार भएको थियो । शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाइरहेकाले कारोबार रकम बढेको ब्रोकरहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाको कम ब्याजदरका कारण संस्थागत लगानीकर्ताहरुले पनि यो क्षेत्रमा लगानी बढाएको ब्रोकरहरुको भनाइ छ ।
बजारमा माग बढ्दै जादा परिसूचक पनि बढेको छ । भदौ १८ गते बिहीवार नेप्से परिसूचक १ हजार ५१० दशमलव ४२ अंकमा पुगेको छ । यो साता एक दिन इन्द्रजात्राको कारण बन्द भएको नेप्सेमा चार दिन शेयर कारोबार भएको छ । चार दिनमा साताको अन्तिम दिन बजार स्थिर रहेको छ भने तीन दिन बढेको छ ।
साताको पहिलो कारोबार दिन ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या आएकाले तीन घण्टा मात्र कारोबार भएको थियो । प्राविधिक समस्या समाधानपछि खुलेको बजार पनि ४ दशमलव ६४ अंकले बढेको थियो ।
तीन घण्टाको कारोबारमा आइतवार रू. १ अर्ब ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । यो साता रू. ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको दिन भदौ १७ गते नेप्से परिसूचक पनि २५ दशमलव ५८ अंकले बढेको थियो । गत साताभन्दा यो साता बजार ५२ दशमलव ३८ अंकले माथि उक्लिएको छ ।
साताको कारोबारलाई हेर्दा लगानीकर्ताहरुले संयमित भएर कारोबारमा सहभागी भएको देखिन्छ । कतिपयले बजार बढ्नुमा अन्य क्षेत्रको व्यवसाय ठप्प हुनु, बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता र सहज तरिकाले कम ब्याजदरमा ऋण पाउनुलाई कारण बनाएका छन् भने कतिपयले अर्थमन्त्रि युवराज खतिवडाको राजीनामाको विषयलाई पनि जोडेका छन् ।
यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । साताको अन्तिम दिन सेन्सेटिभ इन्डेक्स ३०४ दशमलव ७३ विन्दुमा पुगेको छ ।
सातामा भएको कारोबारको महत्वपूर्ण सूचकहरु :

स्रोत : नेप्से
सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

स्रोत : नेप्से
यस साता पनि सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमध्ये पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस कम्पनीको सातामा रू. १ अर्ब ७२ करोड १० लाख ६२ हजार बराबरको शेयर कारोबार भएको छ ।
यो साताको चार कारोबार दिननै नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गर्ने पहिलो नम्वरको स्थान कायम राखेको थियो । त्यस्तै सातामा सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेको इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको यो साता रू. ५० करोड ४० लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक बजार पूँजीकरण भएका १० ओटा कम्पनीहरु :

स्रोत : नेप्से
यस साता पनि सर्वाधिक बजार पूँजीकरण हुने कम्पनीका पहिलो स्थान नेपाल दुरसञ्चार कम्पनीलेनै लिएको छ । नेपाल दुरसञ्चार कम्पनीको शेयरको कुल मूल्य अर्थात् कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ८ अर्ब ३० करोड रहेको छ ।
कुल बजार पूँजीकरणको सबैभन्दा बढी हिस्सा उक्त कम्पनीले ओगटेको हो । शेयर बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । सर्वाधिक कुल बजार पूँजीकरणको दोस्रो भने नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण रू. ८८ अर्ब ९० करोड कायम भएको हो । उक्त कम्पनीको १० करोड कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।