कोभिड–१९ को असरले अर्थतन्त्रका अघिकांश क्षेत्र सुस्ताएको समयमा सेयर बजारमा भने उत्साह देखिएको छ । सेयर बजार हरेक दिनजसो दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ । वित्तीय क्षेत्रमा अधिक तरलता रहेकाले ब्याजदर घटेको, लगानीका अन्य क्षेत्र ठप्प रहेको, अनलाइनबाटै कारोबार गर्न सकिनेलगायत कारण अहिले दोस्रो बजार निरन्तर उकालो लागेको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब साढे २५ अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १.७२ प्रतिशतले बढेपछि समग्र नेप्से १५ सय माथि (१ हजार ५ सय १०.५७ अंक) पुगेको छ । अघिल्लो कारोबार दिन पनि नेप्से २२.३१ अंकले बढेको थियो । बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा दिन थालेकाले नयाँ लगानीकर्ता भित्रिएको इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए । ‘निषेधाज्ञाका कारण अर्थतन्त्रका अन्य क्षेत्रमा काम हुन सकेको छैन,’ उनले भने, ‘बैंकबाट सस्तोमा कर्जा पाइन्छ, घरमै बस्यो सेयर कारोबार गर्यो, यही कारण नेप्सेमा सकारात्मक प्रभाव परेको छ ।’ वाणिज्य बैंकबाट पनि अहिले करिब ७ प्रतिशत ब्याजदरमा कर्जा पाइने भएकाले सेयर बजारमा उत्साह देखिएको उनको भनाइ छ ।
बजार बढ्न थालेपछि उद्योगी व्यवसायी पनि सेयर बजारमा भित्रिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । ‘व्यापारिक क्षेत्रबाट पनि राम्रो लगानी आएको देखिन्छ,’ उनले भने, ‘आफूहरूले गरिरहेको मुख्य व्यवसायमा बन्द भएपछि उनीहरू सेयर बजारमा आएको देखिन्छ ।’ अहिले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सेयर बजारमा लगानी बढाएको उनको बुझाइ छ । ‘सस्तो ब्याजदरमा कर्जा पाइन्छ, घरैबाट सेयर कारोबार गर्न सकिन्छ, बजार बढिरहेको छ,’ उनले भने, ‘यसबाहेक के चाहियो बजार वृद्धिका लागि ?’ पुराना लगानीकर्ताले पनि लगानी बढाएका र नयाँको पनि प्रवेश भएकाले बजारमा निरन्तर सुधार भएको रानाभाटको भनाइ छ । ‘व्यवसाय थप्प भए पनि सो प्रयोजनका लागि जुटाइएको पुँजी पनि सेयर बजारमा आएको देखिन्छ,’ उनले भने, ‘त्यत्तिकै ब्याज मात्र तिरेर बसिरहनुभन्दा यता राम्रो प्रतिफल लिन सकिन्छ ।’
अहिले बजारमा हरेक दिनजसो कारोबार रकममा बढोत्तरी आएको छ । यसकारण पैसाको स्रोतबारे पनि प्रश्न उठ्न थालेको छ । अहिले सेयर बजारमा भित्रिएको पुँजीको स्रोतमा शंका गर्नुपर्ने अवस्था नरहेको रानाभाटको दाबी छ । ‘सबै भुक्तानी बैकिङ प्रणालीबाट हुने हो,’ उनले भने, ‘तोकिएको व्यवस्थाअनुसार स्रोत खुलाएर मात्र कारोबार गर्न पाइन्छ ।’ बजारमा बुधबार ४ अर्ब १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । करिब ४५ हजार कारोबारबाट १ सय ८६ कम्पनीका ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएको छ । सो दिन कुल बजार पुँजीकरण पनि बढेर १९ खर्ब ९८ अर्ब रुपैयाँ कायम भएको छ ।
‘अहिले बजारमा व्यक्तिगत र संस्थागत लगानीकर्ताले लगानी बढाइरहेका छन्,’ एक ब्रोकरले भने, ‘निषेधाज्ञाले बाहिर हिँड्न पाइँदैन, घरमै बस्यो । मज्जाले सेयर किनबेच गर्यो ।’ यसकारण पनि बजारमा नयाँ लगानीकर्ता बढेका हुन् । बुधबार निर्जीवन बीमा र जीवन बिमा समूहबाहेक सबै उपसमूहका परिसूचक घटे । लकडाउनयता सेयर बजार (दोस्रो बजार) मा अनलाइन कारोबारका लागि करिब ४० हजार लगानीकर्ता थपिनुले पनि सो पुष्टि हुन्छ । लकडाउनले सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको हो ।
नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ६४ हजार ६ सय १६ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । लकडाउन सुरु हुनुभन्दा अघि (गत चैत ११ अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ५ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ सय ५० प्रतिशतले बढेको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।