Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एकै दिन साढे ३ अर्बको सेयर कारोबार

२०७७ भाद्र १६ गते

 दोस्रो बजारमा सोमबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८५ करोड रुपैयाँ बढी हो ।

आइतबार नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि निर्धारित समयपछि दुई घण्टा मात्र (३:१५ देखि ५:१५ बजेसम्म) सेयर कारोबार भएको थियो ।

सो अवधिमा करिब १ अर्ब ६१ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । गत फागुनमा सेयर बजारमा एकै दिन ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबारको कारोबार संख्या भने हालसम्मकै उच्च हो । सो दिन ४० हजार २ सय ६ वटा सेयर कारोबार भएको छ । यसअघि गत फागुनमा एकै दिन करिब ३९ हजार वटा सेयर कारोबार भएको थियो ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक पनि २२.३१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यो १.५३ प्रतिशतको वृद्धि हो । यससँगै समग्र नेप्से १ हजार ४ सय ८५ अंकमा पुगेको छ । सो दिन सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । सो दिन कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो । खासगरी कोभिडको जोखिमबाट बच्न गरिएको लकडाउनयता अनलाइन सेयर कारोबार बढेको छ । यही कारण सोमबार करिब साढे ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हरेक दिन कुल कारोबारको करिब ८० देखि ८५ प्रतिशत अनलाइनमार्फत हुँदै आएको छ ।

लकडाउनयता सेयर बजार (दोस्रो बजार) मा अनलाइन कारोबारका लागि करिब ४० हजार लगानीकर्ता थपिनुले पनि सो पुष्टि हुन्छ । लकडाउनले सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेको लगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको हो । नेप्सेको तथ्यांक अनुसार गत बिहीबारसम्म ६४ हजार ६ सय १६ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् ।

लकडाउन सुरु हुनुभन्दा अघि (गत चैत ११ भन्दा अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ५ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ सय ५० प्रतिशतले बढेको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad