विश्व बैंकले १७ वर्षदेखि प्रकाशन गर्दै आएको व्यावसायिक वातावरणको सूचकांक (डुइङ बिजनेस रिपोर्ट) प्रकाशन केही समयका लागि स्थगन गरेको छ ।
सन् २०१७ र २०१९ मा प्रकाशित डुइङ बिजनेस रिपोर्टको तथ्यांकमा अनियमितता भएको जानकारी आएको भन्दै विश्व बैंकले तत्कालका लागि रिपोर्ट स्थगन गरेको जनाएको छ ।
विश्व बैंकले तथ्यांकको निष्पक्ष र सत्यताका लागि तत्काल कदम चाल्ने जनाएको छ । ‘पछिल्ला पाँच डुइङ बिजनेस रिपोर्टको संस्थागत तथ्यांक समीक्षा प्रक्रियापछि देखापरेको तथ्यांक परिवर्तनको विषयबारे हामी प्रणालीबद्ध समीक्षा र मूल्यांकन गर्दै छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्व बैंक समूहको स्वतन्त्र आन्तरिक अडिटलाई तथ्यांक संकलन प्रक्रियाको अडिट र समीक्षा गर्न हामीले अनुरोध गरिसकेका छौं ।’ अध्ययनपछि अनियमितताका कारण प्रभावित देशको तथ्यांक सच्याउने विश्व बैंकको प्रतिबद्धता छ ।
विश्व बैंकका कार्यकारी निर्देशक र तथ्यांकमा भएको अनियमितताका कारण प्रभावित देशका सम्बन्धित निकायलाई यसबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘हामीले मूल्यांकन गरिरहेका कारण डुइङ बिजनेस रिपोर्टको प्रकाशन हाललाई स्थगन गरिएको छ ।’
विश्व बैंकले हरेक वर्ष व्यवसायसँग सम्बन्धित १० विषयमा अध्ययन गरी व्यावसायिक वातावरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । अघिल्लो वर्ष नेपाल ११०औं स्थानमा थियो । १०५औं स्थानबाट पाँच स्थान तल झर्दा व्यावसायिक वातावरण नभएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले आलोचना गरेका थिए । विश्व बैंकसँग उनले औपचारिक रूपमा गुनासोसमेत पठाएका थिए । त्यसपछि भएको ९४औं स्थानलाई अत्यधिक सुधार भन्दै सरकारबाहिरका अर्थशास्त्रीहरूले आलोचना गरेका थिए । दुई शीर्षकमा मात्रै उल्लेख्य प्रगति हुँदा समग्र नतिजा राम्रो देखिएकाले विश्व बैंकले सही रूपमा मूल्यांकन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
१० शीर्षकमध्ये व्यवसाय सुरुवात प्रक्रियामा गत वर्ष ५७.९ र कर्जा उपलब्धतामा ५० अंक थियो । यस पटक नेपालले क्रमशः ६७.३ र ७५ अंक प्राप्त गरेको छ । यी दुई शीर्षकभित्रका केही उपशीर्षकमा उल्लेख्य सुधार भएकाले नेपालको समग्र नतिजा माथि देखिएको हुँदा वास्तविक सुधार भने नभएको अर्थशास्त्रीहरूको भनाइ थियो ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।