
बैंकिङ खबर । यो साता बैंकिङ क्षेत्रमा विभिन्न खबरहरु चर्चित रहे । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष चयनमा विवाद रह्यो ।
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड दिएको छ ।
- आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु. ८७५ अर्ब ३ करोड कायम भएको छ ।
- निषेधाज्ञामा पनि रेमिट्यान्स कारोबार सुचारु हुने भएको छ ।
- आर्थिक वर्ष २०७६र७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु।३२ अर्ब ६ करोड कायम भएको छ ।
- नएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि एकीकृत वित्तीय कारोवार शुभारम्भ गरको छ ।
- मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड दिएको छ । केन्द्रीय बैंकले एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय भुक्तानी बढाउन निर्देशन दिएको हो । राष्ट्र बैंकले एक सूचना जारी गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई जोड दिँदै सो को सुरक्षामा सतर्कता अपनाउन पनि आग्रह छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विभिन्नस्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । यस्तो अबस्थामा सुरक्षित ढंगले सिमित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्न बैंकहरु सक्रिय छन् । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढाउन भनेको छ । एटीएममा राखिएको पैसाको प्रभावकारीरूपमा निगरानीको व्यवस्था गर्न तथा प्रयाप्त रकम राख्न पनि राष्ट्र बैंकले बैंकवित्तलाई निर्देशनमा भनेको छ ।
रु . ८७५ अर्ब ३ करोड विप्रेषण आप्रवाह
आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु.९८२ अर्ब २२ करोड कायम भएको
छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो ।
निषेधाज्ञामा पनि रेमिट्यान्स कारोबार सुचारु हुने
निषेधाज्ञामा पनि रेमिट्यान्स कारोबार सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जाँदा गरीएको निषेधाज्ञाले विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार समेत सूचारु राख्न निर्देशन दिएको हो ।
यसरी सेवा सुचारु गर्दा सम्बन्धित स्थानिय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फंड ट्रान्सफरतथा वि.मु. सटही गर्ने विप्रषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन, आफू अन्तर्गतका निकायहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अनुपालना गरी भिडभाड नगर्न निर्देशन दिएको छ ।
चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम
आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ । आर्थिक वर्ष २०७६र७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी रु.१४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ६ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।
उपेन्द्रकुमार कोइरालाको नियुक्ती विवादास्पद, बैंकिङ क्षेत्रमै बदनाम
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्ती प्रकरणले बैंकिङ क्षेत्रमा हंगामा मच्चाएको छ । उनको नियुक्ति विवादमा परेको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्ष पदमा उपेन्द्रकुमार कोइरालालाई बनाउने निर्णय भएको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । सरकारको निर्णय अनुसार यसअघि बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बताइएको थियो । तर बुधबार बैठक बस्न सकेन । उनी विवादमा तानिएपछि अबस्था अन्योल भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्त भए । गुणस्तरहीन उत्तर पुस्तिका खरिदमा भ्रष्टाचारको आरोप लागेका उनी सार्वजनिक लेखा समितिले छानबिन गरेपछि उनले राजीनामा दिएका थिए । कोइरालाको नियुक्ती विवादास्पद बन्नुका साथै बैंकिङ क्षेत्रमै बदनाम भएको छ ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक गाभ्यो
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि एकीकृत वित्तीय कारोवार शुभारम्भ गरको छ । प्राप्ति पश्चात एनएमबि बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ४५ करोड रुपैयाँ भएको छ । त्यसैगरी जगेडा कोषको आकार रु.७.३५ अर्वमा बृद्घि भएको छ । सुदुर पश्चिमको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात बैंकको १ सय ८६ शाखा, ६ विस्तारित काउन्टरहरु र १ सय ३५ एटीएमहरुको संजाल विस्तार भएको छ ।
सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य
नेपाल स्टक एक्सचेञ्जको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सो पद रिक्त थियो । आचार्य बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेकोमा उनीसहित सात जनाको आवेदन परेको थियो ।
मिर्मिरे लघुवित्तले नागबेलि लघुवित्तलाई गाभ्यो
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको छ । एकिकृत कारोबार पछि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा र कार्यकारी प्रमुख अधिकृतमा कुमार याक्सो रहेका छन् भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ । मिर्मिरे लघुवित्तले नागवेली लघुवित्तलाई प्राप्ति गरे पश्चात चुक्ता पूँजी. ३९ करोड ९८ लाख ७२ हजार रुपैयाँ भएको छ भने शाखा संख्या १११ पुगेका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त सञ्चालक पदहरुमा दिप बहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेलि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकिकृत कारोबार सञ्चालन पश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरि सञ्चालक द्वयलाई नियुक्ती गरेको हो । एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष टेक बहादुर बोहरा, सदस्यहरुमा सन्तोष फुया्ल, दिप बहादुरश्रेष्ठ, संजय कुमार श्रेष्ठ, संन्जु घिमिरे, मनि बोहरा थापा रहेका छन् । यस संस्थाले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको हो ।
बैंकहरुमा सर्बसाधारणको भिड
बैंकवित्तले थोरै शाखा संचालनमा ल्याएपछि सबैजसो बैंकहरुमा सर्बसाधारणको भिड बढेको छ । सरकारले निशेधाज्ञा जारी गरेसँगै काठमाडौं उपत्यकामा बैंकवित्तहरुले कम केही मात्रै शाखा संचालन गरेका छन् । वाणिज्यस्तरका बैंकहरुले थोरै शाखा संचालनमा ल्याएका छन् । निशेधाज्ञामा अन्य सेवाहरु बन्द रहेपनि बैंकवित्तमा मानिसहरुको सहभागिता उल्लेख्य रहेको पाइएको छ । बैंकवित्तमा सेयर खरीद गर्नेदेखि रबकमान्तरण गर्नेहसम्मका काममा मानिसहरुको सहभागिता रहँदै आएको छ । सरकारले काठमाडौं, ललीतपुर र भक्तपुरमा स्थानीय प्रशाशनद्धारा निशेधाज्ञा जारी गरिएको हो ।
कोरोना जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा प्रभाव
कोरोना जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा यसको प्रभाव बढ्दै गएको छ । बैंकवित्तका कर्मचारीमा कोरोना संक्रमण बढ्नुका साथै बैंकको सेवा समेत प्रभावित हुन थालेको छ । हालसम्म बैंकवित्तमा मात्रै झण्डै २ सय ५० जना कर्मचारीमा कोरोना संक्रमण फैलीएको जनाइएको छ । नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकको गोंगबुस्थित एउटै शाखामा ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथलीमा पनि एउटै शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ । एभरेस्ट बैंकको पनि मुख्य कार्यालयमै २ जनालाई कोरोना संक्रमण भएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाँस बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलीएको छ । ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, एभरेस्ट बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक लगायताका बैंकवित्तका कर्मचारीमा संक्रमण देखिएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका छन् । केहीदिन अगाडि नेपालगञ्ज, बीरगञ्ज, बीराटनगर जस्ता ठाउँमा रहेका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हाल केहीदिन यता काठमाडौं उपत्यका भित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरु र मुख्य कार्यालयमै कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्रमा सन्त्रास बढेको छ ।
 
       
        
 
 
 
 
 
  
 
  
 
 