२०७७ भाद्र १२ गते

कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

भगवती चौधरी लघुवित्त अभियन्ता हुन् । विकास र समृद्धि अनि आम नागरिकको आर्थिक उन्नतीका लागि उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहोर्याएकी उनी हाल फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष छन् । कोरोना संक्रमणको सन्त्रासमा हाल कायम भएको निषेधाज्ञा तथा यस अघिको लकडाउनले ग्रामिण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा परेको प्रभावलाई हामीले उनीसँग कोरोना प्रभावका बारे गहिरो विश्लेषण गर्ने कोशीस गरेका छौं । प्रस्तुत छ लघुउद्यमशीलता र लघुवित्त क्षेत्रमा कोरोना प्रभावका बारे भगवती चौधरीसँग बैंकिङ खबरका लागि आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादीत अंश : 

कोरोना सङ्क्रमणले लघुवित्त क्षेत्रलाई कम्जोर बनाउँला कि बलियो बनाउला ?

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बँच्न हामीले अत्यन्त संवेदनशील भएर सावधानी अपनाउनु पर्छ । हामी लघुवित्तले विपन्न वर्गलाई स्वारोजगार र उद्यमशील बनाउने काम गदै आएका छौ । दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई आफ्नै व्यावसाय गरेर आत्मनिर्भर बनाउन हामीले सहकार्य गरिरहेका छौ । अहिले सबैको व्यापार व्यावसाय बन्द भएको अवस्था छ । यस्तो अवस्थामा विपन्न वर्गहरुमा जो दैनिक ज्याला मजदुरी गरेर आफ्नो दैनिक गुजारा चलाई रहेका छन् उनीहरुले भोकमरिको सामना गर्नु पर्ला जस्तो देखिएको छ । निमुखा मानिसको जिविकोपार्जन उकास्न उद्यमशीलता तथा स्वारोजगारको सिर्जना गर्नका लागि लघुवित्तहरुले गाँउ गाँउमा गएर लगानी गरिरहेका छन् । लकडाउन तथा कोरोना सङक्रमणले गर्दा सबैको व्यापार व्यावसाय बन्द भएको छ । यस्तो विषम परिस्थितिमा हामीले ऋण लगानी तथा असुली गर्न सकिरहेका छैनौ । यसरी कारोना संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा लघुवित्त क्षेत्रलाई कमजोर बनाउदै लैजाने देखिन्छ । यो पैसाको क्षेत्र हो, पैसाको कारोबार नभएपछि लघुवित्त क्षेत्र कमजोर हुँदै गइरहेको छ ।

कोरोनाका कारण लघुवित्त क्षेत्रमा खराव कर्जा बढ्ने सम्भावना कस्तो देख्नु हुन्छ ?
हामीले हिसाव गर्दा सबै लघुवित्तहरुको असार मसान्तसम्म ६५ प्रतिशत देखी ७० प्रतिशत सम्म ऋणको भाका नाघेको अवस्था छ । राष्ट्र बैंककै मौद्रिक नितिले केही राहत मिलेपनि धेरै ऋणीको भाका नाघिसकेको छ । स्थानीय निकायले आफ्नो क्षेत्रभित्र संक्रमणको अवस्था हेरेर लकडाउन गरेको छ । एक त हामी गरिब छौँ, अर्को हाम्रो मानसिकता पनि गरीब छ । जसको व्यापार व्यावसाय चलिराको छ त्यहाँ असुलीमा जादाँ पनि यस्तो संङ्कटको अवस्था छ भनेर टार्ने गरिराखेको अवस्था छ । निमुखाको त समस्या छँदै छ, तर हुनेखाने पनि हामीलाई राहात चाहियो भनेर राहात मागिराखेको अवस्था छ । लघुवित्तले लगानी विपन्न वर्गका जनताहरुलाई गर्ने हो । जो आफ्नो दैनिक ज्यालाले गुजारा चलाई रहेका हुन्छन् । उनीहरुको कामको ग्यारेन्टी हुँदैन । यस्तो अवस्थामा उनीहरुको आफ्नो गुजारा चलाउन कठिनाई हुँदा किस्ता कसरी तिर्ने ? यस्तो अवस्थामा हाम्रो ऋणको भाका नाघ्ने मात्र होइन ऋण नउठ्ने सम्भावना समेत धेरै छ ।

लकडाउन सुरु भएदेखी लघुवित्तको व्यावसायमा कस्तो प्रभाव परेको छ ? के देख्नु भएको छ । कत्तिको प्रभावित बनेको छ ?
व्यवसाय अहिले त धरासायी अबस्थामा अबस्थामा । अघिल्लो वर्षको व्याज असारमा अलिअलि आयो । जसोतसो गरेर २५ प्रतिशत जति व्याज अहिले पनि आईराखेको अवस्था छ । कहिलेसम्म व्याजमात्र लिने ? व्याजले मात्र संस्था अगाडी बढाउने भन्ने हो । रकम लिएर अरु ठाउँमा लगानी गर्नु पर्ने पैसा एकै ठाँउमा अड्कीएपछि समस्या बढ्ने हो । व्यापार व्यावसाय चौपट भएको अवस्थामा ठुलो ठुलो लगानी बन्द गरिएको छ । सानो सानो लगानी तथा आपत्कालिनका लागी ५० हजार देखी १ लाखसम्म लगानी गरिराखेका छौं । जसले स्वास्थ्य क्षेत्रमा नयाँ व्यावसाय सुरु गर्न लागीरहनु भएको छ उहाँहरुलाई लगानी गरिरहेको छौँ । अहिले लघुवित्तहरुले मास्क, स्यानिटाइजरको व्यावसायका लागी सानो सानो लगानी गरिरहेको अबस्था छ ।

लघुवित्तमा आगामी दिनमा आउन सक्ने समस्याहरु के के हुन् ? कोरोनापछि लघुवित्तको भविस्या कस्तो देख्नु भएको छ ?
बिशेषगरी लघुवित्तले विपन्न वर्गका गरिब जनतासँग कारोबार गर्छ । हाल सबै क्षेत्रको उद्योग व्यावसाय ठप्प भएको अवस्था छ । दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने मानिसहरुको रोजगारी गुमिरहेको छ । विपन्न वर्गका जनतालाई समस्या हुनु र लघुवित्तलाई समस्या हुनु उस्तै हो । किनकी विपन्न वर्गका जनता र लघुवित्त एक अर्काका पुरक हुन् । उनीहरुको दैनिकीसँग लघुवित्त प्रत्यक्ष रुपमा जोडिएको छ । सबै क्षेत्रको प्रत्यक्ष प्रभाव विपन्न वर्गमा पर्दछ । यसरी समग्रमा हेर्ने हो भने सबै क्षेत्रमा समस्या आइपरेको अबस्था र कोरोना संक्रमणको समय कतिसम्म जान्छ भन्ने एकिनभएका कारण लघुवित्तको भविष्य कस्तो हुन्छ र आगामी दिनमा के हुने भन्ने कुरा अन्योलपुर्ण नै छ ।

लघुवित्तले लकडाउन अवधीमा कर्मचारी व्यावस्थापन कसरी गरिरहेको छ ?
साना संस्थाहरु एकदमै चपेटामा परेका छन् । अहिले कर्जा लगानी, कर्जा असुली वा नाफा केही छैन । यो अबस्थामा कर्मचारीहरुलाई तलब कसरी दिने ? सस्ंथाको दैनिक खर्च कसरी चलाउने ? भन्ने समस्या छ । हाम्रै संस्थाको कुरा गर्ने हो भने एक वर्षसम्म कर्मचारीलाइ तलब दिँदा मात्र पनि संस्थाको अस्तित्व नरहने अवस्था छ । चुक्ता पुँजीले गुजारा चलाउन पर्ने अवस्था आइसकेको छ । कर्मचारीलाई सुरक्षा सामाग्री, सेवाग्रही आउँदा मास्क, स्यानीटाइजर पनि वितरण गरेका छौं । यस्तो कठिन परिस्थितीमा व्यावसाय नचलेपछि विपन्न वर्गका जनता भोकमरीको चपेटामा पर्छन् भने माइक्रोफाइनान्सहरुको अवस्था धरासायी हुन्छ ।

कोरोना पछिको अवस्थामा स्वारोजगार तथा उद्यमशीलताका क्षेत्रमा लघुवित्तको भुमिका कस्तो देख्नु भएको छ ? सम्भावना कस्तो छ ?
यो संक्रमणकालीन अवस्था हो । विश्वव्यापी माहामारी भएकाले यसको व्यावस्थापन हुन समय लाग्ला । हामीले बाढी, पहिरो, भुकम्प, आगलागी आदी विपत्ती भोगेका थियौं । यो माहामारीले विश्वनै अक्रान्त बनेको बेला हाम्रो जस्तो विकासोन्मुख सानो देशमा यस्को प्रभाव दिनदिनै बढ्दै गइरहेको छ । आगामी दिन कस्तो हुने अन्योलपुर्ण अवस्था छ । विपन्न वर्गलाई उद्यमशील र आत्मनिर्भर बनाउन काम गर्ने लघुवित्तहरुको अवस्था झन् दयनिय बन्दै गैरहेको छ । हालको यो कठिन परिस्थितीमा हामीले रोजगार विहिन बन्नु भएका ग्रामीण क्षेत्रका महिला दिदि बहिनीहरुलाई हार्पिक, मास्क बनाउने कच्चा सामाग्री खरिद गरेर रोजगारीको अवस्था सिर्जना गरिरहेका छौं । यो व्यवसायले मात्र सबैको जिविका पार्जन हुँदैन जसले चिया, कपडा, होटल व्यावसाय गर्नुभएको छ, उहाँहरुको व्यवसाय विगत ५।६ महिनादेखी बन्द भएको छ । उहाँहरुले आफ्नो दैनिक खर्च चलाउन नसक्ने अवस्था छ । कोरोना कहिलेसम्म रहन्छ भन्ने कुरा थाहा नहुँदा मानिसको दैनिकी असहज बन्दै गएको छ । अबस्था सहजीकरणतिर गएपछिको १ वर्षको अवधीमा बल्ल व्यबसायले गति लिन सक्ला । तर त्यतिबेलासम्म संस्था चलाउनै सकिएन भने अबस्था झन् गम्भिर पनि हुन सक्ने देखिन्छ ।