आर्थिक वर्ष २०७६-०७७ मा कोरोनाका कारण आयात घटेपछि शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो ।
गत आवमा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । आर्थिक वर्ष २०७६-७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड रुपौयँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।
२०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७६-०७७ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
आर्थिक वर्ष २०७६-०७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६-०७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६-०७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रेमिट्यान्स आप्रवाह अघिल्लो आवको तुलनामा ०.५ प्रतिशतले थोरै हो । आर्थिक वर्ष २०७५-०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८७९ अर्ब २७ करोड आप्रवाह भएको थियो ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।