बैंकिङ खबर । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कोरोना जोखिममा पर्न थालेका छन् । बैंकवित्तहरुमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ । अधिकाँस बैंकवित्तका कर्मचारीमा कोरोना संक्रमणले छोएको छ । कसैको शाखामा त कसौको मुख्य कार्यालयमै काम गर्ने कर्मचारीमाथि कोरोना संक्रमण देखिउको हो ।
विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेपछि बैंकमा कार्यरत कर्मचारीहरुको कोरोना परिक्षण बढाइएको छ । बिराटनगर, नेपालगञ्ज, विरगंज जस्ता बोर्डर क्षेत्रमा रहेका बैंकहरु कोरोनाको उच्च जोखिमा रहेको पाइएको छ । पछिल्लो समय भने काठमाडौंमै संक्रमीतहरु बढेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने सेवा अवधि पनि कम गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।
कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौंमा रहेका बैंकहरुमा समेत कोरोना संक्रमण देखिएको छ । बिरगञ्ज, बीराटनगर, काठमाडौं, धादीङ, इटहरी, कपिलबस्तु, धनगढी लगायतका ठाउँमा कार्यरत बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्नु’ भनेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न राष्ट्र बेंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला बैंकहरुले आलोपालो रुपमा कर्मचारी परिचालन गरेका छन् । तथापी काठमाडौं उपत्यकामा खुलेका बैंकवित्तमा ग्राहकको भने उल्लेखनीय भिड देखिएको छ ।