निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।
‘उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एक/एक शाखा मात्र खुल्नेछन्,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्नेछन् ।’ ती शाखाबाट पनि सीमित बैंकिङ (आधारभूत) सेवा मात्र प्रवाह हुनेछ । शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणको आवतजावत कम हुने भएकाले उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्र सञ्चालन हुने उनले बताए । ‘कोभिडको जोखिम उच्च छ, जोखिमबाट बच्नकै लागि पनि ग्राहकको भीड कम गर्न खोजेका हौं,’ उनले भने ।
राष्ट्र बैंकले पनि न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म कम शाखा सञ्चालन गरी आधारभूत सेवा दिन निर्देशन दिएको छ । यही निर्देशनका आधारमा पनि एउटा बैंकको एउटा मात्र शाखा खोल्ने निर्णय भएको उनले बताए ।
बैंकका कर्मचारीलाई नरोक्न निर्देशन
बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा नरोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । कर्मचारीको आवतजावतमा अवरोध गर्दा बिहीबार उपत्यकाका सबै बैंक बन्द भएपछि गृह मन्त्रालयले उक्त निर्देशन दिएको हो । कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा कर्मचारीलाई आवतजावतमा अवरोध नगर्न मन्त्रालयले भनेको छ । ‘निषेधाज्ञाको अवधिमा पनि सर्वसाधारणलाई आधारभूत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा कार्यालय जाने कर्मचारीलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नका लागि आदेशानुसार अनुरोध गरिन्छ,’ गृह मन्त्रालयको पत्रमा भनिएको छ ।
आधारभूत बैंकिङ सेवा मात्र
निषेधाज्ञाको समयमा पनि आधारभूत (नगद जम्मा/भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदि) निरन्तर राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी उक्त निर्देशन दिएको हो । निषेधाज्ञालगायत विशेष आदेशको पालना गरी बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा निरन्तरता दिन स्वास्थ्य सुरक्षासँग सम्बद्ध मापदण्ड कायमै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा निरन्तर गर्न/गराउन राष्ट्र बैंकले भनेको छ ।
विद्युतीय कारोबारलाई सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ । ‘एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउने,’ विज्ञप्तिमा उल्लेख छ, ‘अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउने ।’
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।