Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक बन्द गराउने भुवन दाहालको ठाडो आदेश- राष्ट्र बैंकमाथि गम्भिर चुनौती !

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । भदौ ४ गते विहीबार भक्तपुरको प्रभु बैंक खुलीसकेको थियो । बैंकका सेवाग्राही आउँदै थिए । तर एक्कासी बैंकका म्यानेजरको मोवाइलमा फोन आयो । अनि हत्तपत्त बैंक बन्द गर्न लगाइयो । कारण थियो बैंकर्स संघको निर्देशन । विहीबार सानीमा बैंकका कर्मचारीलाई जमलमा प्रहरीले रोक्यो । त्यसपछि सुरु भयो नयाँ नयाँ घटना । सानिमा बैंकका कर्मचारीले बैंकका सिइओ भुवन दाहाललाई फोन गरेर सुचना दिए । उनले यत्तिकैमा बैंकका केही सिइओहरुलाई फोन गरे र बैंकहरुको सेवा बन्द गर्न निर्देशन दिए । बैंकका कर्मचारीलाई प्रहरीले रोकेको बहानामा बैंकहरुले सेवा नदिने निर्णय बेंकर्स संघले गर्यो । सानिमा बैंकका सिइओ दाहाल बैंकर्स संघका अध्यक्ष छन् । यो सुचना नेपाल राष्ट्र बैंक समक्ष पुग्यो । राष्ट्र बैंकले यसबारेमा गृह मन्त्रालयसँग समन्वयन गर्यो । तत्पश्चात केही ठाउँमा रोकीएका बैंकका कर्मचारीलाई छाडीयो । राष्ट्र बैंकले गृहमन्त्रालयलाई बैंक अत्याबश्यक सेवा भएका कारण कर्मचारीमाथि हिडडुलमा रोक नलगाउन भन्यो । फलस्वरुप प्रहरीले बैंकका कर्मचारीलाई बैंककै परिचयपत्रबाट हिडडुल गर्न पाउने सहमति भयो । तर यस्तो सहमति हुँदा बैंकहरुले भुवन दाहालको ठाडो आदेशमा सेवा बन्द गरीसकेका थिए । आफु र आफ्ना कर्मचारीलाई रोकेकै आधारमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले एकाएक आफु खुसी बैंक बन्द गराए । सहमतिको बाटोलाई छाडेर राष्ट्र बैंकसँग समन्वयन गर्दै नगरी बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई सेवा बन्द गर्न लगाउनु र ठाडो आदेश दिनु कानुन विपरीत हो । उनले आफ्ना कर्मचारीलाई रोकेका आधारबाट सबै बैंकलाई सेवा बन्द गर्न लगाउनु व्यक्तिगत रिसिबी र गैर जिम्मेवार देखिन्छ । बैंकिङ सेवा सुचारु गर्ने वा नगर्ने राष्ट्र बैंकको अधिकारभित्र पर्दछ । यसबारेमा हामीले नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टसँग जानकारी माग्यौं । उनले बैंकङ सेवा बन्द गर्न नमिल्ने बताउँदै हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए ।

बैंकिङ सेवा बन्द गर्न मिल्दैन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र बन्द गर्न नमिल्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकिङ क्षेत्र अत्याबश्क भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने बताए । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकको निर्णय उनले सुनाए । उनका अनुसार हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए ।

राष्ट्र बैंकको निर्देशन यस्तो थियो

राष्ट्र बैंकले यसअघि नै सूचना निकालेर सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले नगद जम्मा, भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ जस्ता कामहरु सुचारु राख्न भनेको थियो । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेपछि अन्य सेवाहरु ठप्प प्राय छ । व्यापार व्यबसायहरु पनि बन्द छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम राखेर संचालन गरिएका छन् । राष्ट्र बैंकले विद्युतीय कारोबार बढाउन जोड दिएको छ । त्यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको छ । बैंकवित्तका शाखाहरु भने आंशिक रूपमा खुल्ने छन् । निश्चित समयका लागि आलोपालो गरेर कर्मचारी परिचालन गरिने छ । बैंकवित्तको खुल्ला रहने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीले हिडेरै पनि सुचारु गरे बैंकिङ सेवा

विकास बैंकहरुले भने सेवा सुचारु राखेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द ढकालले विकास बैंकहरु खुल्ला रहेको बताए । उनले राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले सिमित शाखा संचालन गरेको बताए । विकास बैंकका केही कर्मचारीहरु हिडेर बैंकसम्म आएर पनि सेवा दिएका छन् । विकास बैंकहरु सबैजसोको सेवा सुचारु रहेका छन् । त्यसैगरी फाइनान्स कम्पनीहरु पनि संचालनमा रहेको वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । असहज अबस्थामा पनि सिमित शाखाबाट सेवा सुचारु रहेको उनले बताए । बैंकिङ खबरसँगको कुराकानीमा उनले वित्तीय क्षेत्र अत्याबश्यक सेवामा परेका कारण बन्द नहुने उल्लेख गरे ।

Ad