Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कार्यान्वयन हुँदै राहतमुखी पुनर्कर्जा

२०७७ भाद्र ३ गते

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको राहत प्याकेजको कार्यान्वयन अघि बढाएको छ। केन्द्रीय बैंकले साना तथा मझौला उद्यम व्यवसायलाई कोरोना महामारीका कारण सृजित समस्याबाट वित्तीय चपेटामा पर्न नदिन राहत कार्यक्रम घोषणा गरेको थियो। पुनर्कर्जा सुविधामार्फत दिइने यस्तो राहत कार्यक्रमले ऋणीलाई ५ प्रतिशतमात्रै ब्याज तिर्नसक्ने बाटो खोलिदिनेछ।

राष्ट्र बैंकले समस्यामा परेका ऋणीको आवश्यकता अनुसार पुनर्कर्जा माग गर्न सबै बैंकलाई आग्रह गरेको छ। पुनर्कर्जा पाउन योग्य मानिएका ऋणीले अब आफूले ऋण लिएको बैंकमा निवेदन दिनु पर्नेछ। त्यही निवेदनको आधारमा बैंकहरूले राष्ट्र बैंकसँग पुनर्कर्जा माग गर्न पाउनेछन्। केन्द्रीय बैंकले आगामी असोज १४ भित्र एकमुष्ट पुनर्कर्जा माग गर्न बैंकलाई सोमबार निर्देशन दिएको छ।

तर, कुनै पनि बैंकले आफ्नो प्राथमिक पुँजी (सेयर पुँजी र जगेडा कोष)को एक चौथाइभन्दा धेरै पुनर्कर्जा माग गर्न भने पाउने छैनन्। कर्जा भुक्तानी अवधि कम्तीमा एक वर्ष बाँकी नै भएका ऋणमा मात्र पुनर्कर्जा सुविधा पाइनेछ। धेरै बैंकबाट ऋण लिएका ऋणीले कुनै एउटा बैंकमार्फत मात्रै पुनर्कर्जा माग गर्न पाउनेछन्।

बैंकहरूले पनि कुल रकमको ७० प्रतिशत लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नु पर्नेछ। बैंकहरूले आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट कम्तीमा ५ जना ऋणीलाई समेट्नुपर्ने हुन्छ। यस्ता प्रावधानले बैंकहरूलाई मिलेमतोमा ठूला लगानीकर्तालाई मात्रै पुनर्कर्जा .सुविधा दिनसक्ने जोखिम केही हदसम्म घटाउन सघाउ पुग्ने अपेक्षा राष्ट्र बैंकका अधिकारीको छ।

यस्तो पुनर्कर्जामा पर्यटन क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ। राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी एक अध्ययनले पनि पर्यटन क्षेत्र सर्वाधिक प्रभावित भएको उल्लेख गरेको थियो। पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, पार्टी प्यालेस, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षलाई समेत समेटिएको छ।

स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर बेलुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत साहसिक पर्यटन व्यवसायीले पनि पुनर्कर्जा प्राप्त गर्न सक्ने छन्। गल्फ कोर्स, पोलो, पोनी टे«किङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबलकार तथा हवाई एवं पर्यटकीय यातायातका साथै पार्क, रिक्रिएसन व्यवसाय, चलचित्र उत्पादन, वितरण र सिनेमा हलजस्ता मनोरञ्जन क्षेत्रमा पनि पुनर्कर्जा दिने भनिएको छ।

रोजगारी गुमेका वा बाध्यात्मक विदामा बसेमा कामदारले लिएको ऋणमा पनि पुनर्कर्जा प्राप्त हुनेछ। तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दुग्धजन्य उत्पादन, कुखुरा उत्पादन तथा विक्री र अण्डाजस्ता सडेर जाने व्यवसायका लागि लिएको ऋणमा पनि पुनर्कर्जा उपलब्ध हुनेछ। पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय पनि अत्यधिक प्रभावितको सूचीमा नै समेटिएका छन्। राष्ट्र बैंकले तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय र वैदेशिक रोजगार सेवाप्रदायक एवं शैक्षिक परामर्श सेवाप्रदायकलाई पनि कोरोनाका कारण अतिप्रभावित व्यवसायमा समेटेको छ।

प्लास्टिक, फलाम÷स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण, निजी शैक्षिक संस्था, यात्रुवाहक सवारीसाधन, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी, कानुनी, लेखा, इन्जिनियरिङलगायत परामर्श सेवा, सबै किसिमका स्वास्थ्य संस्था, वन तथा खनिजजन्य उद्योग, निर्माण, सञ्चार र टिकाउ सामग्री तथा सामाजिक सेवाका व्यवसायलाई पनि मध्यम प्रभावित व्यवसायको रूपमा पुनर्कर्जा सुविधा दिने राष्ट्र बैंकले बताएको छ।

 

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।

Ad