Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकको नाफा १२ प्रतिशत घट्यो

२०७७ श्रावण ३२ गते
लकडाउनले व्यवसाय नचलेको र राष्ट्र बैंकले स्प्रेड घटाएपछि नाफा घटेको बैंकहरुको दाबी

अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै कोभिड–१९ को असरले बैंकहरूको नाफा पनि प्रत्यक्ष रूपमा प्रभावित भएको छ । यही कारण गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरूको यस्तो नाफा २५ प्रतिशत बढेको थियो ।

बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा वाणिज्य बैंकहरूको कुल नाफा ५४ अर्ब ३० करोड रुपैयाँ छ । अघिल्लो आवको तुलनामा यो करिब १२ प्रतिशत घटेको हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ६१ अर्ब ८४ करोड रुपैयाँ थियो । कोभिडको जोखिमबाट बच्न गरिएको लकडाउनका कारण व्यवसाय प्रभावित भएपछि नाफा घटेको बैंकहरूले जनाएका छन् । ‘विश्वव्यापी रूपमा परेको कोरोनाको असर बैंकिङ क्षेत्रमा पनि देखिएको हो,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘कर्जा वर्गीकरण र त्यसबापतको व्यवस्थामा राष्ट्र बैंकले खुकुलो व्यवस्था गरिदिएको छ । त्यो नभएको भए केही बैंकको नाफा नकारात्मक हुने अवस्था थियो ।’ लकडाउनकै कारण बैंकहरूको वितरणयोग्य नाफामा उल्लेख्य कमी आएको पनि उनले बताए ।

परिस्थितिअनुसार गत आवमा बैंकहरूको नाफा राम्रो भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । ‘नकारात्मक हुने अवस्था थियो, राष्ट्र बैंकको लचिलो नीतिगत व्यवस्थाले बैंकले यत्तिको नाफा देखाउन पाए,’ उनले भने, ‘अप्ठ्यारो परिस्थितिमा अहिलेको नाफा सन्तोषजनक हो ।’वितरणयोग्य आय भनेको बैंकहरूले सेयरधनीलाई लाभांशका रूपमा वितरण गर्ने रकम हो । गत आवमा बैंकहरूको यस्तो आय करिब ४१ प्रतिशत घटेको छ । अघिल्ला आवमा बैंकहरूले औसतमा राम्रो लाभांश वितरण गर्दै आएका थिए । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये प्राइम र एनएमबीबाहेक सबैको वितरणयोग्य नाफा पनि घटेको वित्तीय विवरणमा उल्लेख छ ।

कोरोनाका कारण आवको बीचमा असुली कार्यक्रम गर्न नसकिएको, नयाँ कर्जा प्रवाह नभएकोलगायत कारण बैंकको नाफा घटेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको भनाइ छ । तुलनात्मक रूपमा नेपालको तराई क्षेत्रमा जनधनत्व धेरै छ । ती क्षेत्रमा कर्जा पनि धेरै जान्छ । तर कोभिडका कारण ती क्षेत्र बढी प्रभावित भएकाले बैंकको नाफा घटेको उनले बताए । ‘कृषि विकास बैंकको सन्दर्भमा दुई नम्बर प्रदेशले कोभिडपीडितलाई ब्याज छुट दिन घोषणा गर्‍यो,’ उनले भने, ‘यो घोषणापछि तराईमा ऋण नतिर्ने बढे ।’ यद्यपि बैंकको नाफा नकारात्मक नभएकोमा राम्रो मान्नुपर्ने उनको भनाइ छ ।

‘कोभिडले अर्थतन्त्रमा परेको प्रभाव र राष्ट्र बैंकले कर्जा–निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) घटाएकाले नाफा घटेको हो,’ एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले भने, ‘चालू आवमा कोभिडको असर धेरै देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव बैंकहरूको नाफामा पर्छ ।’ कोभिडबाट धेरै व्यवसाय नराम्रोसँग प्रभावित भएको र सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले बैंकको नाफा प्रभावित बनेको उनको भनाइ छ । ‘बैंकका लागि चालु आव झनै चुनौतीपूर्ण छ,’ उनले भने, ‘यही अप्ठ्यारोको बीचमा बैंकले व्यवसाय गर्नुपर्नेछ ।’ गत आवमा वितरणयोग्य नाफा करिब ४० प्रतिशतले घटेको उनले बताए । ‘चालु आवमा बैंकको सम्भावित नाफाको अवस्थाको संकेत हो,’ उनले भने ।

अघिल्लो आवको तुलनामा गत आवमा पाँचबाहेक सबै बैंकको खुद नाफा घटेको छ । अप्ठ्यारो परिस्थितिमा पनि ५ वटा बैंकको खुद नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये पनि राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४ अर्ब ४५ करोड रुपैयाँ छ । अघिल्लो आवमा यस्तो नाफा ५ अर्ब ४ करोड रुपैयाँ थियो । यस्तै ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएर नबिल दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । धेरै नाफा कमाउनेमध्ये तेस्रोमा कृषि विकास बैंक छ । यसको खुद नाफा ३ अर्ब ४६ करोड रुपैयाँ छ । ३ अर्ब १२ करोड रुपैयाँ कमाएर एनआईसी एसिया बैंक चौथो र ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएर ग्लोबल आईएमई बैंकले शीर्ष पाँचौं स्थान ओगटेको छ । यीसहित १२ बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा बढी छ । गत आवमा सिभिल र सेन्चुरीबाहेक सबै बैंकको खुद नाफा एक अर्ब रुपैयाँभन्दा धेरै छ । तर सिभिल बैंकको खुद नाफा ४५ करोड ७० लाख र सेन्चुरी बैंकको ९० करोड ४३ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा सिभिलको नाफा घटेको हो भने सेन्चुरीको बढेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार कोभिडको असरबाट प्रभावित ऋणीलाई गत चैतमा १० प्रतिशत ब्याज छुट दिएका बैंकहरूले चैतदेखि असारसम्म २ प्रतिशत ब्याजदर घटाएका छन् । ऋण तिर्ने क्षमता नभएका ऋणीले कर्जाको किस्ता र ब्याज पनि तिरेका छैनन् । असुली नभएका कर्जाको पुनःसंरचना गर्दा ५ प्रतिशत प्रोभिजन (व्यवस्था) गर्नुपर्नेलगायत कारण बैंकको नाफा उल्लेख्य घटेको जानकारहरू बताउँछन् ।

नाफा घटे पनि बैंकहरूको निक्षेप गत आवमा करिब २४ प्रतिशत बढेको छ । सोही अवधिमा कर्जा प्रवाह २०.३७ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा बैंकहरूको आधार ब्याजदर भने घटेको छ । यसको अर्थ नयाँ पुराना सबै ऋणको ब्याज घट्नुपर्छ भन्ने हो । अघिल्लो वर्षको तुलनामा गत आवमा अपवादबाहेक सबै बैंकको सम्पत्तिको प्रतिफल (आरओई) घटेको वित्तीय विवरणहरूले देखाएका छन् ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

Ad