August 11th, 2020

डिजिटल बैंकिङ्ग कारोबार, कोरोनालाई छेकबार

अनन्त श्रेष्ठ –

हालैको कोरोनाभाईरस संक्रमणले विश्वको अर्थतन्त्रलाई तहसनहस पार्ने लक्षण देखिएको छ । विश्वका जतिसुकै शक्तिशाली वा महाशक्तिशाली देश हौं भनेता पनि ती देशहरुमाभएको शस्त्र अस्त्रलाई यो भाईरसले निस्तेज पारीदिएको छ । कतिपयले यो महामारीलाई तेश्रो विश्व युद्धको रुपमापनि शंज्ञा दिएका छन् । बन्दाबन्दी (Lock Down) लाई यो भाईसरबाट जोगिने एक उपयुक्त माध्यमको रुपमा अपनाइएको छ, किनभने यसको उपचार हाल सम्म पत्ता लागेको छैन । मानिसहरु घरभित्र बन्द रही बसेतापनि दैनिक जीवनको आवश्यकताहरु पुरा गर्न वाध्य हुनु परेको छ । मौज्दात राख्न मिल्ने खाद्य वस्तु पहिल्यै खरिद गरी संचित राखेको भएपनि मौज्दात राख्न नमिल्ने र पूर्वानुमान नगरिएका खर्चहरु गर्नै पर्ने अवस्था हाम्रो आज भोलिको दैनिक जीवनमा यद्यपी छ ।

बन्दाबन्दीको दिनहरु बढ्दै जाँदा दैनिक जीवनका आवश्यक वस्तुहरु पाउन असहज हुनु, संचय गरेको नगद रकम क्रमशः कमी हुँदै जानु, अस्वाभाविक खर्च व्यवस्थापनमा कठिनाई आउनु स्वाभाविक हो । बन्दाबन्दीको अवधि कति समयको रहन्छ भन्ने हामी पूर्वानुमान गर्न सक्ने अवस्थामा छैनौं । यो, जति जति लम्बिदै जान्छ, नगद व्यवस्थापनमा त्यती समस्या बढ्दै जाने र नगद पैसा आफैमा कोरोना भाईरसको संवाहक पनि हुन सक्ने संभावना त्यत्तीकै बढी छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना संक्रमण बढ्न नदिन नगदको कारोबारको सट्टा डिजिटल कारोबारमा जोड दिन संसारभरका मानिसहरुलाई अनुरोध गरेको छ । तर विडम्बना, हाम्रो वरपर हाल वस्तु तथा सामाग्रीहरु खरीद गर्दा नगद कारोबारको अत्याधिक प्रयोग भएको पाइएको छ । ती नगद नोट तथा सिक्काहरुले कतै कोरोना भाईरस बोकेर हातहात र घरघर त पुगेको छैन ? एक गम्भीर प्रश्न खडा भएको छ ।

अहिले अधिकांश ती खाद्यान्न पसल, किराना पसल, फलफूल र तरकारी पसल आदिमा गई खरीद गर्दा रकम भुक्तानीको मितव्ययी, सहज, सरल र सुरक्षित तरिका QR Payment हो । QR Payment मा कसैले केही छुनु पर्दैन । यो सिस्टम नेपालमा करिव १ वर्ष अघिबाट बैंक तथा वित्तीय संस्थाहरुले निशुल्क उपलब्ध गराईरहेका छन् । तर, अझै पनि धेरै व्यवसायीहरुले यसको प्रयोग गरेका छैनन् । यदि यसको व्यपापक प्रयोग गरेको भए, ग्राहकहरु बैंकको शाखा सम्म पुगेर नगद झिक्ने र नगदको कारोबार गर्न वाध्य हुनु पर्ने थिएन, भने व्यवसायीहरुले कोरोना संक्रमित नगद नोट पो आयो कि भनेर शसंकित हुनु पर्ने थिएन ।

कोरोना संक्रमण पूर्व नियमक निकाय नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल पेमेन्टमा जोड दिने त भनियो तर कति सौहार्दपूर्ण वातावरण थियो ? कति व्यवसायीलाई यो प्रविधिको बारेमा बैंक तथा वित्तीय संस्थाहरुले जानकारी गराए त ? कति व्यवसायीले यसलाई सहर्ष आत्मसाथ गरे त ?कति व्यवसायीहरु ऋब कारोबार जति कम्प्यूटरमा तथा बैंकमा जाने भो, बढी कर तिर्नु पर्दछ भनेर डराए पनि । व्यवसायीहरुको यो डर हटाउन बैंक तथा वित्तीय संस्थाहरु कति सफल भए त ?हिजो गरेको पहल र कदम नै आजको परिणाम हो । नगदको प्रयोग कति घटाउन सकियो त ? अहिले बन्दाबन्दी शुरु भए पछि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले आआफ्नो सामाजिक सञ्जाल एवं वेभसाइटहरुबाट डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै #StayHome #BankFromHome#MobileBanking#StaySafe #PayDigital जस्ता ह्यासट्यागलाई ब्यापकता दिएका छन् । के अहिले बन्दाबन्दीको बेलामा यी ह्यासट्यागको कारणले डिजिटल बैंकिङ्ग बढ्ने हो र ? के आजभोलि, हिजो डिजिटल बैंकिङ्ग नभएका ग्राहकहरुले यो सेवा लिन सक्ने व्यवस्था गरिएको छ र ? हिजो व्यापक रुपमा डिजिटल बैंकिङ्ग सेवामा बढी भन्दा बढी ग्राहकहरुलाई आवद्य गर्न सकेको भए अहिलेको ह्यासट्यागहरुले सार्थकता पाउँथ्यो होला । तर अहिले यी ह्यासट्यागहरु सीमित ग्राहकको लागि मात्र लाभकारी छ तर पूर्ण उपयोग भने हुन÷गर्न सक्ने अवस्था छैन ।

एकातिर देश बन्दाबन्दीको अवस्थामा छ । सरकारले कसैलाई घरभन्दा बाहिर ननिस्कनुस् भन्दैछ । अर्को तर्फ, बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखाहरु सीमित अवधिको लागि खोलेर कर्मचारी तथा ग्राहक दुवैले जोखिमपूर्ण सेवादिन÷लिन वाद्य भएका छन् । संघिय, प्रदेश र स्थानीय सरकारले डिजिटल प्रणालीबाट बैंकिङ्गकारोबार बढाउन त्यति चासो र प्रतिवद्धता देखाएको देखिदैन । अहिले तीनै तहको सरकार कोरोना रोकथामको विभिन्न विकल्पहरुमा लागेका छन् तर नगद पैसाबाट सर्न सक्ने जोखिम न्यूनीकरणमा सक्रियता देखिदैन । नोट÷नगद रहित कारोबारमा (डिजिटल बैंकिङ्ग) बृद्धि गरी यो संक्रमणलाई न्यूनीकरण गर्न पनि ढिलाई गर्नुहुदैन । यो समयमा ग्राहकहरुलाई सहज र सरल रुपमा (सके सम्म बैंक तथा वित्तीय संस्थामा नआई) डिजिटल बैंकिङ्ग सक्रिय गराउन बैंक तथा वित्तीय संस्थाहरुले पहल गर्नु पर्दछ भने यदि नियमक निकायको निर्देशन बाधक छ भने त्यो बाधालाई नेपाल राष्ट्र बैंकले फुकाउनु पर्दछ ।

मानिसहरुको बढी आवत जावत हुने क्षेत्रहरु, हाल अत्यावश्यक क्षेत्रको रुपमा तोकिएको र दैनिक जीवनसँग गासिएको तरकारी पसल, खाद्यान्न, किराना पसल, मासुपसल, ईन्धन तथा ग्यास स्टेशन जस्ता क्षेत्रहरुलाई नोट÷नगद रहित कारोबार (नगदमुक्त कारोबार) गर्ने अभियान यही बेला पनि चलाउन सकिन्छ । जुन अति जरुरी पनिरहेको छ र अहिले संक्रमणकालिन अवधिको आवश्यकता पनि हो । सुरक्षित कारोबारको लागी डिजिटल कारोबार गरौं भनेर मात्र डिजिटल कारोबार बढ्ने होईन ।

अहिले धेरै नागरिकको बैंक खाता रहेको छ । त्यस्तै गरी अधिकांश व्यवसायीहरुको पनि बैंक खाता रहेको छ । त्यसैले संभव भएसम्म बढी भन्दा बढी नागरिकहरुलाई नगद रहित डिजिटल कारोबारको प्रोत्साहन गर्न सबै पक्षले आ आफ्नो स्थानबाट पहल गर्न जरुरी छ । यो संक्रमण अवधिको लागिमात्र नभई राज्यले नोट छपाईमा गरेको ठूलो धनरासीको खर्चमा कटौती गर्न, विभिन्न प्रकारका सरुवा रोगका किटाणुहरुलाई रोकथाम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र नगदको चोरी, आगलागी वा अन्य प्रकारबाट हुने हानी नोक्सानीबाट जोगिन पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उचित देखिन्छ । डिजिटल कारोबारमा रहेका जोखिमलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सिस्टमलाई सबलीकरण र ग्राहकहरुमा सचेतना जगाउन पनि त्यत्तिकै महत्वपूर्ण छ ।

अन्त्यमा, बैंक तथा वित्तीय संस्थाहरुमा आवद्ध सबै ग्राहकहरुलाई डिजिटल कारोबारमा अभ्यस्त बनाई डिजिटल नेपाल बनाउने महान अभियानमा योगदान गर्न नियमक निकाय, बैंक तथा वित्तीय संस्थाहरु, ठूला तथा साना व्यवसायीहरु, तीनै तहका सरकारले आ आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न जरुरी छ । अहिलेको बन्दाबन्दीको समयमापनि बैंक तथा वित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने छन् ।

(लेखक हाल मुक्तिनाथ विकास बैंकमा कार्यरत हुनुहुन्छ । उहाँसग १५ वर्षको बैंकिङ अनुभव छ ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]