August 11th, 2020

बढ्न सकेन कर्जामा आकर्षण

वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक गरिरहँदा पनि कर्जा विस्तार हुनुको सट्टा सङ्कुचन हुँदै गएको छ ।
कोरोना सङ्क्रमणले थलिएको अर्थतन्त्रसँगै उद्योग÷व्यवसाय प्रभावित हुँदा एकल अङ्ककै ब्याजदरमा उपलब्ध हुँदा पनि कर्जा विस्तार हुनुको सट्टा घट्दो क्रममा छ । बैङ्कहरूमा निक्षेप सङ्कलन बढ्दो छ भने कर्जाको माग र आपूर्ति घट्दो छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार असारमा मात्रै १५६ अर्ब निक्षेप सङ्कलन भएको थियो । यो तथ्याङ्क प्रारम्भिक भएका हुनाले अझ बढ्न सक्ने उहाँको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको बन्दाबन्दीयता निक्षेप बढिरहेको छ । उहाँका अनुसार बन्दाबन्दी सुरु भएको चैतमा ५३ अर्ब सङ्कलन भएको निक्षेप वैशाखमा ४५ अर्ब, जेठमा ७४ अर्ब सङ्कलन भएको छ ।
घट्दो कर्जा लगानी र बढ्दो निक्षेप दरले गर्दा बैङ्कहरूमा तरलता बढ्दै गएपछि बैङ्कहरू बीचमै सस्तो र सुलभ दरमा अझ केही बैङ्कले त आधार ब्याजदरमै कर्जा योजना ल्याएका छन् ।
नेपाल बैङ्कर्स सङ्घका अनुसार गत सातामा मात्र बैङ्कहरूको निक्षेप २५ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने एक अर्बले घटेको छ । साउन ९ गते शुक्रबार वाणिज्य बैङ्कहरूको कर्जा लगानी २८ खर्ब ६७ अर्ब र निक्षेप ३४ खर्ब ६२ अर्ब रहेकोमा मध्य साउनमा बढेर ३४ खर्ब ८७ अर्ब पुग्यो भने कर्जा लगानी एक अर्बले घटेर २८ खर्ब ६६ अर्बमा झ¥यो ।
नयाँ कर्जाको माग निकै कम भएकाले बैङ्कको सीसीडी रेसियो ७२.०५ प्रतिशतमा सीमित भएको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ तर बैङ्कहरूको सीसीडी रेसियो भने निकै तल छ ।
बैङ्कहरूसँग अहिले करिब दुई खर्ब रुपियाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । बन्दाबन्दी खुकुलो भएपछि पनि कर्जाको माग केही बढे पनि सोचेअनुसार बढ्न नसकेको बैङ्करहरू बताउँछन् ।
कोभिड–१९ को प्रभाव बढिरहँदा लगानीकर्ताको मनोबल खस्किँदै गएका कारण कर्जाको माग बढ्न नसकेको एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसी बताउनुहुन्छ । समग्र व्यवसाय सामान्य अवस्थामा नआएसम्म कर्जा जाने सम्भावना नभएको भन्दै उहाँले बन्दाबन्दी खुलेसँगै लगानीका लागि केही माहोल बन्दै थियो, फेरि सङ्क्रमण बढ्दै जाँदा लगानीका लागि कठिन भयो, सामान्य अवस्था आउन समय लाग्ला भन्नुभयो । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत पुरानै कर्जामा २० प्रतिशतसम्म कर्जा थप गर्न पाउने व्यवस्था गरेको छ जसले गर्दा पुराना ऋणीहरूले पनि कर्जा थप गरेका छन् तर नयाँ ऋणीहरूले भने ठूलो परिमाणमा कर्जा लिएका छैनन् ।
अहिले बैङ्किङ प्रणालीमा बढिरहेको तरलता कम गर्न राष्ट्र बैङ्कले थप २० अर्ब रुपियाँ तरलता प्रशोचन गरिसकेको छ । साउन महिनामा मात्रै राष्ट्र बैङ्कले तीन पटक २० अर्बका दरले ६० अर्ब रुपियाँ प्रशोचन गरिसकेको छ । अन्तरबैङ्क कारोबार ठप्प भएको अहिले कोरानो सङ्क्रमण बढ्दो क्रममा रहेकाले लगानीकर्तामा विश्वास नबढ्दा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको माग भएको छैन ।
तरलता प्रशोचन मात्रै समस्याको समाधान नभएको भन्दै राष्ट्र बैङ्कका प्रवक्ता भट्टले अर्थतन्त्रलाई गति दिन बैङ्कहरूले कर्जा लगानी विस्तार गर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले पनि लगानी विस्तारमा जोड दिँदै आएको बताउनुभयो ।  

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]