स्टक डिलरले ५० हजार कित्तासम्म सेयर खरिद गर्न पाउने

धितोपत्र व्यापारी (स्टक डिलर)ले प्रतिकारोबार ५० हजार कित्ता सेयर किनबेच गर्नसक्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले स्टक डिलर सञ्चालनसम्बन्धी कार्यविधि लागू गर्दै ८ अर्ब रुपैयाँ भन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीको एक पटकमा ५० हजार कित्तासम्म सेयर कारोबार गर्न सक्ने व्यवस्था गरेको हो । नेप्सेले जारी गरेको कार्यविधि आगामी भदौ एक देखि लागु हुनेछ । सो कार्यविधिअनुसार धितोपत्र व्यापारीहरूको लागि कारोबार योग्य कम्पनीहरको नामावली नेप्सेले बेबसाइट मार्फत सार्वजनिक गर्नेछ ।
नेप्सेले कम्पनी छनौट गर्दा विगत ३ वर्ष देखि नाफामा रहेको, लगानीकर्ताको संख्या १० हजार तथा चुक्ता पुँजी २० करोड भन्दा धेरै भएको हुनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी कार्यविधि अनुसार नेप्सेमा कारोबार भएका कुल दिन मध्ये ८० प्रतिशत दिन कारोबार भएको हुनु पर्नेछ । त्यसैगरी धितोपत्र व्यापारीले दैनिक रुपमा आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म धितोपत्र किनबेच गर्न सक्नेछ । धितोपत्र ब्यापारिक प्रयोजनको लागि सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था कार्यविधिले गरेको छ । धितोपत्र ब्यापारीले धरौटी राखेको रकमवाट २५ गुणासम्मको सिमाभित्र रही कारोबार गर्न पाउने छ ।

धितोपत्र व्यपारीले राखेको धरौटी रकम कारोबारपछि हिसाब साफसाफ तथा फछ्र्यौट प्रयोजनको लागि प्रयोग गर्न पाउने छैन । धितोपत्र व्यपारीले कारोबार गर्दा आफ्नो खुद पुँजीको ४ गुणा भन्दा बढी धितोपत्र मौज्दात गरी कारोबार गर्नु कार्यविधिमा उल्लेख छ । धितोपत्र व्यापारीले एक पटकमा ८ अर्ब रुपैयाँ वा सो भन्दा वढी चुक्ता पुँजी भएको कम्पनीको ५० हजार कित्तासम्म, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्बभन्दा कम भुक्ता पुँजी भएको कम्पनीको ४० हजार, २ अर्ब रुपैयाँभन्दा वढी र ५६ अर्ब भन्दा कम चुक्ता पुँजी रहेको कम्पनीको ३० हजार, एक अर्ब देखि ३ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २० हजार चुक्ता पुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेस गर्न पाइनेछैन । धितोपत्र व्यपारीले चुक्ता पुँजी जती भएको कम्पनीको पनि एक हजार भन्दा थोरै कित्ता सेयर खरिद बिक्री गर्न पाउने छैन ।
धितोपत्र व्यपारी अक्सन मार्केटमा धितोपत्र ब्यापारीका लागि स्वीकृत प्राप्त कम्पनीको धितोपत्र बिक्री गर्न पाउने व्यवस्था रहेको छ । बिक्री नभएको हकप्रद सेयरको अक्सनमा आवेदन दिन भने पाउनेछ । तर, धितोपत्र व्यापारीले नेप्से तथा बोर्डको स्वीकृति वेगर कारोबार बन्द गर्न पाउँदैन । त्यसैगरी नेप्सेलाई झुटा वा भ्रामक सूचना वा विवरण दिने, नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रूपमा विज्ञापन गर्ने, बजार सञ्चालनका लागि बाधा पुग्ने कार्य गर्न पाउँदैनन ।
बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्ने तथा कारोबार गर्ने धितोपत्रको कृत्रिम रूपमा मूल्यवृद्धि वा कमी गर्ने काम समेत गर्न नपाउने कार्यविधिमा उल्लेख छ । नेप्सेको प्रणाली भन्दा बाहिर गएर धितोपत्र बिक्री गर्ने तथा रोक्का धितोपत्रको कारोबार गर्न समेत धितोपत्र व्यापारीले पाउँदैनन् । झुटा कारोबार गर्ने तथा भित्री सूचनामा आधारित रहेर कारोबार गर्ने समेत धितोपत्र व्यापारीले पाउँदैनन् ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।


सोसिअल मेडिया