
बैंकिङ खबर । बंगलादेशबाट १९७० को दशकमा ग्रामीण बैंकको नामबाट माइक्रोफाइनान्सको सुरुवात भएदेखि नै यसको फाइदाका बारेमा वादविवाद हुँदै आएको छ । सन् २००६ मा मुहम्मद युनुसले माइक्रोफाइनान्सको सुरुवातकै लागि नोबल शान्ति पुरस्कार पाएपछि माइक्रोफाइनान्सले विपन्न र पिछडिएका परिवारमा महिला सशक्तिकरणमा सहयोग गर्ने कुरालाई स्वीकार गर्न थालियो । अहिले विश्वभर माइक्रोफाइनान्समार्फत गरिबहरुको उत्थान गर्दै आएका उदाहरणहरु प्रशस्तै भएका छन् । माइक्रोफाइनान्सको कर्जा लिएर आफ्नो जीवन सुधार्न सफल भएका केही व्यक्तिहरुको सफलताको कथा उदाहरणका लागि यहाँ प्रस्तुत गरिन्छः
Reuben Mpunda, Tanzania
होटल, मदिरा पसल, रुबी खानी लगायतमा १० वर्ष संघर्ष गरेपछि रिउबेनलाई अफ्रिकामा स्वच्छ पानी विक्री गर्ने आइडिया फुर्यो । तर, उसँग ट्यांकी किन्नेसम्मको पैसा पनि थिएन । तीन वर्ष योजनामै बितेपछि उनले माइक्रोफाइनान्सबाट ३६० अमेरिकी डलर कर्जा लिएर काम सुरु गरे । अहिले उनको लगानी छ गुणा भएको छ । त्यो पैसा उनले आफ्नो परिवारका लागि पोषणयुक्त खाना र छोराको पढाईका लागि खर्च गरिरहेका छन् ।
Marcelino Lopez, Colombia
लोपेज र उसको परिवार कोलम्बियाको बेरियो नेल्सन मण्डेलामा एउटा प्लास्टिकको टेन्टमा जीवन विताइरहेका थिए । उनको नाममा जम्मा ३०० अमेकिी डलर थियो । गुरिल्लाको हमलाका कारण शरणार्थी क्याम्पमा सारिएपछि उनले फाउन्डेसन मारियो सेन्टो डोमिङ्गोबाट ९५ अमेरिकी डलर कर्जा लिए र एउटा सानो स्टोर खोले । एक वर्षपछि आफ्नो परिवारका साथमा उनी बरियोको एउटा घरमा सरे, जहाँ उनले एउटा सफल मासु पसल चलाउन थाले ।
Nadya Felah, Jordan
नद्यालाई पालेबाट एक सफल महिला व्यवसायी बन्न द माइक्रोफण्ड फर वुमनले मद्दत गर्यो । उक्त फण्डबाट कर्जा लिएर उनले ग्यास सिलिण्डर विक्रीको व्यवसाय थालिन् र सिलिन्डर डेलिभरीका लागि दुई वटा कार किनिन् । दुई वर्षमा उनले आठ जनालाई फुल टाइम रोजगारी दिने हैसियत बनाइन्, सरकारी कन्ट्राक्ट हासिल गरिन् र आफूबाहेक सात वटा परिवारलाई सहयोग गरिन् । साथमा ग्यास विक्रेताहरुको युनियन पनि चलाइरहेकी छिन् ।
Lidia Calzado, U.S.
सबै माइक्रोफाइनान्सका सफल कहानीहरु गाउँमा वा तेस्रो मुलुकहरुमा हुँदैन । लिडियाले एस्सन सान डीगोबाट १० हजार अमेरिकी डलर कर्जा लिएर गहना र पर्फ्युम विक्री व्यवसायलाई विस्तार गरिन् । अब उनी आप्रवासी महिलाहरुका लागि समाजेवाको काम गर्न सक्षम भएकी छिन् । उनी आफैँ क्युबाबाट अमेरिका गएकी थिइन्, जतिबेला उनलाई अंग्रेजी बोल्न आउँदैनथ्यो र अमेरिकाको कानुनका बारेमार अलिकति पनि जानकारी थिएन ।
Joyce Wafukho, Kenya
आफ्नो ससनो बचतबाट जोयसले सन् १९९४ मा एउटा हार्डवेयर स्टोर खोलिन् । पुँजी अभावका करण थोरै सामानमात्रै बेच्न सकिन् । पाँच वर्षपछि कर्जाले थिचेपछि उनले केन्या वुमन फाइनान्स ट्रष्टबाट ६८० अमेरिकी डलर कर्जा लिइन् । त्यसपछि उनले थप पाँच पटक कर्जा लिइसकेकी छिन् । जसबाट उनले २५ जना अफ्रिकीलाई फुट टाइम जागीर दिएकी छिन् । पुराना सामान किनेर विक्री गर्ने काम पनि सुरु गरेकी छिन् । अहिले उनको व्यवसाय २७ हजार अमेरिकी डलर बराबरको भएको छ । अहिले उनी आफ्ना सन्तनको स्वास्थ्य र शिक्षा मात्रै नभएर बहिनीको मास्टर डिग्रीका लागि पनि खर्च गर्न सक्ने भएकी छिन् ।
Parveen Baji, Pakistan
कास्फ फाउन्डेसनको ७० अमेरिकी डलर कर्जाले पर्विनको जिन्दगी बदलियो । नौ सन्तानकी अशिक्षित आमा र हिंस्रक एवम् कुलतमा फसेको पतिकी पत्नी पर्विनले छिमेकीसँग खाना मागेर खानुपर्ने दिनसम्म देखिन् । कर्जा लिएर गहना फसल खोलेपछि छिटै नै उनको जीवनमा सुधार आयो । अहिले उनी रेष्टुरेन्ट र क्याटरिङ व्यवसाय पनि सम्हाल्छिन्, जहाँ आठ जना कामदार छन् । आफ्ना सन्तानका उच्च शिक्षा दिन उनी सफल भएकी छिन् । माइक्रोफाइनान्सले मेरो जीवन बदल्यो, उनी भन्छिन् ।
Bernard McGraw, U.S.
न्यु अर्लिन्समा आएको आँधीका कारण घरबारविहीन भएका बर्नार्ड बेरोजगार थिए । आफ्नो परिवारलाई टेक्ससको सान एन्टोनियोमा राखेर उनले कजुन रेस्टुरेन्ट खोले । द बाप्टिस्ट युनिभर्सिटीले कलेजमा उक्त रेस्टुरेन्ट चलाउन भनेपछि उनले एस्सन टेक्सस लुसियानाबाट चार हजार दुई सय ६५ अमेकिी डलर कर्जा लिएर व्यवसाय सुरु गरे र पार्ट टाइम कामदार राखे । अहिले उनी प्रतिदिन १०० भन्दा बढी ग्राहकलाई सेवा दिन्छन् । उनले घरबारविहीनलाई खाना खुवाउने अभियान पनि चलाएका छन् ।
Likelesh Gebru, Ethiopia
आफ्नो श्रीमानको सानो कमाईमा सघाउन पाँच सन्तानकी आमा लाइकलेशले एउटा सानो ट्रेडिङ विजनेस सुरु गरिन् । चार वर्षका लागि श्रीमान् जेल परेपछि उनी एक्लैले परिवार सम्हाल्नुपर्यो । उनले विसडम माइक्रोफाइनान्सबाट १० वर्षमा ११ पटक कर्जा लिएर आफ्नो व्यवसायलाई निकै विस्तार गरिन् । उनको कमाईले अहिले आफ्ना सन्तानका साथमा आपन्तका सन्तानलाई पनि पढाईको खर्च पुगेको छ ।
Bodour Al- Jayousi, Jordan
बुबाआमाको डिभोर्स भएपछि १५ वर्षको उमेरमै बोडोरले स्कुल छोडेर बुबालाई गहाना व्यापारमा सघाउनुपर्यो । माइक्रोफण्ड फर वुमनबाट दुई पटक कर्जा लिएर व्यापार फस्टायो । यद्यपि, बुबासँगको विवादका कारण उनले व्यापार छोड्नुपर्यो । सोही फण्डबाट लिएको तेस्रो कर्जाबाट उनले एउटा हेयर सलुन खोलिन्, जसबाट मासिक ३५० अमेरिकी डलर मात्रै कमाई हुन्थ्यो । अहिले उनले १२ जनालाई रोजगारी दिनुका साथै आफ्नी अपाङ्ग बहिनीलाई पनि सहयोग गरिरहेकी छिन् ।
प्रशंग लघुवित्त र बैंकिङ अबस्थाको
संसारभरको सम्पत्तिको बराबर वितरण हुने हो भने हरेक कुनाका मानिसलाई आरामले जिन्दगी विताउन पुग्छ । तर, यहाँ सम्पत्तिको समान वितरण छैन । केही मुलुक अत्याधिक विलाशी जिवन विताइरहेका छन् भने कतिपय देशमा खानकै लागि पनि संघर्ष गरिरहनु परेको छ । देशको अर्थतन्त्र, वैदेशिक व्यापार, पूर्वाधारको विकास, खानीजन्य उत्पादन, प्रतिव्यक्ति आय लगायतका हिसाबले अमेरिकी, अष्ट्रेलिया र युरोपी देशहरु प्रायः धनी छन् भने अफ्रिकी र एसियाली मुलुक गरीब छन् । गरीब देशहरु कसरी आम्दानी बढाउने र सामान्य जीवन विताउने भन्नेमा केन्द्रित भइरहँदा विकसित मुलुकहरु विभिन्न नयाँनयाँ परीक्षण, प्राविधिक विकास लगायतमा खर्च गरिरहेका छन् ।
विकसित देशमा बैंकिङ क्षेत्र निकै अघि बढेको छ । त्यहाँ प्रायः कारोबारहरु नगदरहित हुन्छ । बैंकबाट कर्जा लिएर घर, गाडी किन्ने र विस्तारै किस्ता तिर्दै जाने, बीमा गर्ने जस्ता कुरा विकसित देशमा आम विषय भइसकेको छ । गरीब देशहरुमा भने बचत गर्ने बानी बसाउनका लागि नारा लगाउँदै हिँड्नुपर्ने अवस्था छ । खान नै नपुग्ने कमाई भएका जनताले भोलीका लागि बचत गर्नेबारे सोच्ने अवस्था पनि छैन ।
संसारका सबैभन्दा गरीब देशहरुमा प्रायः अफ्रिकी मुलुकहरु पर्छन् । तीनैमध्ये, टप पाँच गरीब देशहरुको बैंकिङ क्षेत्रको अवस्थाका बारेमा यहाँ चर्चा गरिन्छः
बुरुण्डी
२७ हजार आठ सय ३० वर्गकिलोमिटर क्षेत्रफल भएको एक भूपरिवेष्ठित राष्ट्र बुरुण्डीमा १०.४ मिलियन जनसंख्या छ । जसमध्ये, ७४ प्रतिशत जनसंख्या गरीबीको रेखामुनी छ । ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । २०१५ र २०१६ मा गिरावट आएको अर्थतन्त्रमा अहिले सुधार आउँदैछ । २०१८ मा बुरुण्डीले १.६ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ । २०१७ मा १६ प्रतिशतभन्दा माथि रहेको मुद्रास्फीति २०१८ मा २.६ प्रतिशतमा झर्न सफल भएको छ ।
गरीब देश भएर पनि यहाँको बैंकिङ क्षेत्रको अवस्था उत्साहजनक छ । बुरुण्डीमा निजी क्षेत्रको खासै विकास भएको छैन । ८४.४ प्रतिशत सम्पत्ति बैंकिङ क्षेत्रसँग छ भने ११.४ प्रतिशत माइक्रोफाइनान्ससँग र ४.३ प्रतिशत बीमा कम्पनीहरुसँग छ । जीडीपीमा बैंकिङ क्षेत्रको योगदान १५ प्रतिशतको हाराहारीमा छ । आधाभन्दा बढी बैंकिङ लगानी छोटो समयावधिको भएका कारण तरलता समस्या छ । यहाँका बैंकहरुले विदेशी विनिमय संचितीको गिरावट, तरलता अभाव जस्ता समस्या झेलिरहेका छन् ।
यहाँका बैंकहरुको ६०.६ प्रतिशत लगानी यातायातमा, ३२.९ प्रतिशत उर्जामा, ४.८ प्रतिशत कृषिमा र बाँकी अन्य क्षेत्रमा रहेको एक अध्ययनले देखाएको छ । औसतमा झन्डै चार वर्षका लागि यहाँका बैंकहरुले लगानी गरेका छन् जसको एकमुष्ट व्याज झन्डै ३५ प्रतिशत हुन्छ । बुरुण्डीले नेशनल डेभलपमेन्ट प्लान २०१८–२७ सुरु गरेपछि बैंकिङ क्षेत्रको क्रमशः सुधार हुँदै आएको छ । यस योजनाले कृषि, यातायात र उर्जामा लगानी केन्द्रित गर्ने, सबै कारोबारलाई बैंकिङ च्यानलमा ल्याउने, राजनीतिक र सामाजिक समस्याको असर बैंकिङ क्षेत्रमा पर्न नदिने लगायतका लक्ष्य बोकेको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिक
४.७ मिलियन जनसंख्या भएको यो पनि एक भूपरिवेष्ठित राष्ट्र हो । २०१३ को आर्थिक मन्दीबाट ग्रसित यस देशका ६० प्रतिशत मानिस ग्रामीण भेगमा बस्छन् । जीडीपीमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । टिम्बर र डायमण्ड सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्छन् । कमजोर यातायात व्यवस्था, अदक्ष जनशक्ति, कमजोर वित्तीय नीति लगायतबाट यहाँको अर्थतन्त्र प्रभावित छ । जीडीपी वृद्धिदर पाँच प्रतिशतभन्दा तल रहेको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मुद्रास्फीती पनि चार प्रतिशतको हाराहारीमा छ । यहाँको ७५ प्रतिशतभन्दा बढी जनसंख्या गरीबीको रेखामुनी छ ।
यस देशको बैंकिङ क्षेत्र तुलनात्मक रुपमा स्थीर हुँदै आएको छ । जीडीपीमा झन्डै १८ प्रतिशत योगदान वित्तीय क्षेत्रको रहेको छ । यद्यपि, खराब कर्जाका कारण समस्या पनि छ । पछिल्लो तथ्यांकअनुसार, यहाँका बैंकहरुम ३० प्रतिशतको हाराहारीमा खराब कर्जा रहेको छ । यसको सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले सहयोग गरिरहेको छ । मानिसहरु विस्तारै बैंकिङ कर्जाप्रति आकर्षित हुन थालेका छन् । माइक्रोफाइनान्स कार्याक्रमहरुका कारण वित्तीय पहुँच वृद्धिमा ठूलो मद्दत पुगेको छ ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो
१८ कमर्सियल सहित अन्य बचत तथा ऋण सहकारी, लघुवित्त, विनिमय, विकास बैंक लगायतका वित्तीय संस्थाहरु डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा संचालित छन् । यहाँका बैंकहरुले प्रायः छोटो समयमा कर्जा लगानी गरेका छन् । बैंकिङ पहुँचका हिसाबले भने यो देश कमजोर रहेको छ । बैंकमा खाता हुने युवाहरुको संख्या ज्यादै न्यून छ । सयभन्दा बढी लघुवित्त संस्थाहरुे वित्तीय पहुँच वृद्धिमा क्रमशः सुधार ल्याउँदै छन् ।
८० मिलियन जनसंख्या भएको यस देशमा ६० प्रतिशतभन्दा बढी ग्रामीण भेगमा बस्छन् भने ७७ प्रतिशत जनसंख्या गरीबीको रेखामुनी छ । जसकारण माइक्रोफाइनान्सको सेवा बढी प्रभावकारी बन्न पुगेको छ । बहुमुल्य धातुहरुसहित ११०० भन्दा बढी खनिजजन्य पद्धार्थ यहाँ पाइन्छ, जुन यहाँको अर्थतन्त्रको मूख्य खम्बा हो । १९९० को दशकमा भएको द्धन्द्धका कारण प्रभावित बनेको यहाँको अर्थतन्त्र दुई दशकपश्चात् पनि निकै पछाडी नै छोडिएको छ । २०१५ देखि ०१७ सम्मको संकटबाट पुनः प्रभावित हुन पुगेको यहाँको अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशत छ । खानी उत्खनन र प्रशोधनमा लगानी बढ्दो छ । फलस्वरुप २०१७ मा ५४.८ प्रतिशत रहेको मुद्रास्फीति २०१८ मा ७.२ मा झर्न सफल भएको छ ।
मलावी
मलावी पनि एक भूपरिवेष्ठित राष्ट्र हो । सानो बैंकिङ प्रणाली भएको यो देश आर्थिक अस्थीरता, कमजोर पूर्वाधार, नीतिगत समस्या, उच्च भ्रष्टाचार, अधिक जनसंख्या जस्ता समस्याका कारण पीडित छ । १७.५ मिलियन जनसंख्या रहेको यस देशको ८० प्रतिशत जनसंख्या ग्रामीण भेगमा बसोबास गर्छन् । अर्थमन्त्रको ८० प्रतिशत हिस्सा कृषिमा आधारित छ । सूर्तिक खेती यहाँको प्रभुख बाली हो । वर्षामा आधारित कृषि भएका कारण अर्थतन्त्र प्रभावित हुने गरेको छ । फलस्वरुप, मूल्य वृद्धिदर, व्याजदर लगायत उच्च हुने गरेको छ ।
मलावीको बैंकमा खराब कर्जाको समस्या छ । यहाँका बैंकहरुमा ६.१ प्रतिशत खराब कर्जा छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार, ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकहरु जोखिमपूर्ण मानिन्छन् । बैंकिङ पहुँचका हिसाबले पनि मलावी कमजोर छ । एक अध्ययनका अनुसार जम्मा १८ प्रतिशत मलावी युवाले बैंकमा खाता खोलेका छन् । बैंकहरुले ससाना विजनेशरुमा कर्जा लगानी गर्नेतर्फ ध्यान नदिँदा ग्रामीण भेगका मानिसहरु बैंकिङ कारोबारबारे जानकार हुन सकेका छैनन् । सहरी क्षेत्रमा पनि महिलाहरुको बैंकिङ पहुँच नगण्य छ । बैंकिङ पहुँच विस्तारका लागि विभिन्न कार्यक्रमहरु ल्याइएका छन् ।
नाइजर
२२.४ मिलियन जनसंख्या भएको नाइजर पनि एक भुपरिवेष्ठित राष्ट्र हो । यहाँको अर्थतन्त्र डाइभर्सिफाइड छैन । कृषिमा आधारित अर्थतन्त्र भएको यस देशको जीडीपीमा कृषिको योगदान ४० प्रतिशत छ । ८० प्रतिशतभन्दा बढी जनसंख्या यसै पेशामा निर्भर छन् । २०१८ मा नाइजरले ६.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । यहाँको ४१.५ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ । जसकारण विदेशीनेको संख्या पनि अत्याधिक छ । जम्मा १६.४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्छ । खनिज पद्धार्थ अत्याधि हुँदा पनि उत्खनन हुन नसक्दा मुलुक गरीब रहन पुगेको छ । यसतर्फ अब सरकारले ध्यान दिन थालेको छ ।
कमाई नै धेरै नभएका कारण बैंकिङ क्षेत्रतर्फ उनीहरुको आकर्षण पनि कम छ । बैंकमा खाता हुने युवा जम्मा १६ प्रतिशत छन् । ११ वटा कमर्सियल बैंक र एउटा वित्तीय संस्था नाइजरमा संचालित छन् । मध्यम वा दीर्घकालीन लगानीका लागि हिच्किचाहटका कारण बैंकहरु अधिक तरलताको समस्यामा छन् । चार वटा मिडियम साइजका बैंकहरुले ८० प्रतिशत बजार ओगटेका छन् । खानिजजन्य उद्योगमा बैंकहरुले लगानी बढाउन थालेका छन् ।