चिनियाँ अग्रसरतामा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को पाँचौं वार्षिक बैठक सम्पन्न भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेको अनलाइन बैठकले बैकको नयाँ अध्यक्षमा जिङ लिक्विनलाई चुनेको छ ।
नेपालका तर्फबाट बैंकको पाँचौं बैठकमा सहभागी अर्थमन्त्री युवराज खतिवडाले ऋण दिँदाको सर्त खुकुलो बनाउन बैंकलाई आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री खतिवडाले सहुलियतपूर्ण ऋणमा पहुँच सहज पार्न पनि बैंकलाई आग्रह गरेका छन् ।
‘अर्थमन्त्रीले बैंकलाई सहुलितयपूर्ण ऋणमा पहुँच सहज पार्न आग्रह गर्नुभयो,’ मन्त्री खतिवडालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसो गर्दा नेपालजस्तो कम आय भएका मुलुकलाई आधारभूत पूर्वाधार परियोजना वित्तीय रूपमा सम्भाव्य हुन्छन् ।’ पूर्वाधार क्षेत्रमा दीर्घकालीन लगानी एकत्रित गर्न अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहकार्य बढाउन मन्त्री खतिवडाले एआईआईबीलाई आग्रह गरेका छन् ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।