Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्को नेटवर्कमा फोन गर्दा प्रतिमिनेट ४४ पैसा बढी तिर्दै उपभोक्ता

२०७७ श्रावण ११ गते
लकडाउनको कारण देखाउँदै सेवा प्रदायकले शुल्क घटाउन मानेका छैनन्

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको निर्देशिका कार्यान्वयन नहुँदा उपभोक्ताले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा प्रतिमिनेट ४४ पैसा बढी तिरिरहनुपरेको छ । गत पुसमा प्राधिकरणले जारी गरेको अन्तरआबद्धता निर्देशिकामा एक सेवा प्रदायकको नेटवकबार्ट अर्को सेवा प्रदायकको नेटवर्कमा फोन गर्दा लाग्ने शुल्क ५४ पैसाबाट झारेर १० पैसा कायम गर्नुपर्ने प्रावधान छ ।

प्राधिकरणले चैत २० देखि सेवा प्रदायकले उक्त व्यवस्था कार्यान्वयन गर्नुपर्ने निर्देशन दिएको थियो । तर लकडाउनको कारण देखाउँदै सेवा प्रदायकहरूले उक्त प्रावधान कार्यान्वयन नगर्दा उपभोक्ताले प्रतिमिनेट ५४ पैसा नै शुल्क तिर्नुपरिरहेको छ । निर्देशिका कार्यान्वयनमा आए उपभोक्ताले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क कम्तीमा पनि ४४ पैसा घट्नेछ । निर्देशिका जारी गर्न प्राधिकरणले सेवा प्रदायकलाई पत्र पठाए पनि कार्यान्वयन नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । निर्देशिका कार्यान्वयन गर्न प्राधिकरणले केही दिनअघि सेवा प्रदायकसँग छलफल गरेको प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले जानकारी दिए । सेवा प्रदायकहरूले लकडाउनका कारण निर्देशिका कार्यान्वयन गर्न नसकिएको कारण प्रस्तुत गरेको उनको भनाइ छ ।

जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कल गर्दा पनि बढी शुल्क नलगोस् भन्न प्राधिकरणले यस्तो निर्देशिका जारी गरेको थियो । नेपाल टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा प्रिपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा लाग्छ भने पोस्टपेडबाट कल गर्दा १ रुपैयाँ लााग्छ । यो निर्देशिका कार्यान्वयन भए टेलिकमको पोस्टपेडबाट अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ६ पैसा मात्र लाग्छ । पोस्टपेड सिमबाट कल गर्दा लाग्ने शुल्क पनि घट्नेछ । एनसेलको सिमबाट अन्य नेटवर्कमा कल गर्दा हाल प्रतिमिनेट २ रुपैयाँ ५४ पैसा लाग्छ । निर्देशिका कार्यान्वयन भए यो शुल्क घटेर २ रुपैयाँ १० पैसा मात्रै लाग्छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

Ad