अर्थमन्त्री युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति अन्तर्गत नै कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताएका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा मन्त्री खतिवडाले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी भन्सारका दरहरू तय गरेको बताए । भन्सार दर पुनरावलोकन मार्फत स्वदेशी उद्योगहरूको संरक्षण सम्बन्धमा समितिमा भएको छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तुको भन्सार दर कच्चा पदार्थको भन्दा एकतह माथि राखिएको बताए । आयातित बस्तुबाट न्यूनतम १० देखि बढीमा २० प्रतिशतसम्मको संरक्षणमा उद्योग व्यवसायहरू रहेको उनले उल्लेख गरे ।
मन्त्री खतिवडाले मूल्य वृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने र उद्योगी व्यवसायीहरू अहिले २० प्रतिशत भित्रै रहेर प्रतिस्पर्धी बन्न सक्नुपर्ने बताए । उनले भन्सारका दर नियमित रूपमा परिवर्तन भइराख्ने भएकाले पनि व्यवसायीका समस्याहरू हरेक वर्ष समाधान हुँदै आएको स्मरण गराए । राजस्व बोर्ड गठन गरी राजस्व सम्बन्धमा स्वतन्त्र रूपमा काम गर्न दिने व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिए । कर सम्बन्धमा हुने समस्या समाधानका लागि बोर्डले प्रभावकारी काम गर्ने उनको भनाइ थियो ।
स्वदेशी उत्पादनको प्रयोगका लागि तोकिएको मापदण्ड पुरा हुने र आपूर्तिमा समस्या नहुने हो भने आयोजनाहरूमा स्वदेशी वस्तुको प्रयोग गर्न कुनै समस्या नहुने अर्थमन्त्री खतिवडाले बताए । सार्वजनिक खरिद ऐनले १५ प्रतिशत महंगो भएपनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था गरेकाले पनि स्वदेशमा उत्पादन हुने वस्तुको प्रयोगको सुनिश्चितता भएको बताए । उनले वस्तुको गुणस्तर, समयमा आपूर्ति गर्ने र भनेको मात्रामा आपूर्ति गर्नसक्ने क्षमता विकास गर्दै त्यसको आधारबाट स्वदेशी उद्योगलाई संरक्षण दिने कुरामा सरकारले काम गरिरहेको धारणा राखे । व्यवसायीले दिने र सरकारले लिने भन्ने धारणामा परिवर्तन गर्नसमेत उनले आग्रह गरे । सरकारले व्यवसायिक वातावरण बनाइदिने, कानुन निर्माण गर्ने, पूर्वाधार तयार गर्ने, आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्ने तथा शान्ति सुरक्षा दिने काम गरेवापत व्यवसायीबाट कर लिएको उल्लेख गर्दै व्यवसायीले दिने र सरकारले लिने भन्ने कुरालाई आफू मान्न तयार नभएको उनले बताए ।
ऊर्जासचिव दिनेशकुमार घिमिरेले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग गर्ने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय स्पष्ट रहेको बताए । उनले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर पुगेमा र मागअनुसार आपूर्ति हुन सकेमा १५ प्रतिशतसम्म महंगो भएपनि प्राथमिकता दिने व्यवस्थाअनुसार नै स्वदेशी वस्तुको प्रयोग भइरहेको सुनाए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले सार्वजनिक निर्माणका लागि खरिद गर्ने सामग्रीमा तोकिएको गुणस्तर, मापदण्ड र आपूर्ति पुरा हुन सकेको अवस्थामा स्वदेशी उत्पादनलाई नै प्रयोग गरिएको बताए । उनले स्वदेशमा उत्पादन भएको वस्तुलाई कानुनले दिएको सुविधा अनुसार नै सञ्चार क्षेत्रमा प्रयोग गरिएको बताए ।
सांसदहरुले ऊर्जा र सञ्चार क्षेत्रका आयोजनाहरूमा नेपालमै उत्पादित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । सांसद देवेन्द्र पौडेलले ऊर्जा र सञ्चार मन्त्रालय मातहतका आयोजना र कार्यक्रमहरूमा प्रयोग हुने वस्तु नेपालमै उत्पादन गर्न उद्योगी व्यवासयीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । उनले देशका लागि चाहिने वस्तु कति हो र कति उत्पादन नेपालमै हुन्छ भन्ने एकिन गरेर आयातित वस्तुलाई नियन्त्रण गर्नुपर्ने बताए ।
सांसद सोमप्रसाद पाण्डेले देशभित्रै उत्पादन बढाउन नसके देशको अर्थतन्त्र माथि जान नसक्ने बताए । उनले उत्पादन बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । कुनैपनि आयोजनामा स्वदेशी वस्तुको प्रयोग गर्न कम्तिमा तीन वटा मुलुकमा प्रचलन रहेको वस्तु हुनुपर्ने भन्ने व्यवस्था उपयुक्त नभएको बिन्दा पाण्डेको भनाइ थियो । उनले देशभित्र उत्पादन भएको वस्तुलाई आफ्नै देशले प्रयोग गरे मात्र अर्को देशमा निर्यात गर्न सकिने भएकाले पनि उक्त व्यवस्थालाई संशोधन गर्न माग गरेका थिए ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
