July 14th, 2020

लकडाउन खुकुलो भएपछि निर्जीवन बीमा व्यवसायमा सुधार आउँदै

bबन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै निर्जीवन बीमाको व्यवसायमा पनि सुधार आउन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि पूर्णरूपमा बन्दाबन्दी लगाएपछि निर्जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत असार १ गतेदेखि बन्दाबन्दी खुकुलो भएपछि भने व्यवसायमा सुधार आउन थालेको कम्पनीहरू बताउँछन् ।

नेपालमा निर्जीवन बीमाको व्यवसाय गर्ने २० कम्पनी छन् । उनीहरूले सामान्य अवस्थामा मासिक २ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्छन् । तर बन्दाबन्दी लगाइएपछि भने मासिक १ अर्ब रुपैयाँको हाराहारीमा मात्र बीमा संकलन हुने गरेको थियो । अहिले त्यसमा सुधार आएको बीमा कम्पनीहरूको भनाइ छ ।

पूर्ण बन्दाबन्दीको अवस्थामा भन्दा अहिले ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म व्यवसाय बढेको बीमा कम्पनीका अधिकारीहरू बताउँछन् । तर, सामान्य अवस्थाको तुलनामा भने औसतमा ७५ प्रतिशत व्यवसाय भएको जीवन बीमक संघका महासचिव चंकी क्षेत्री बताउँछन् ।

बीमा समितिको तथ्यांक अनुसार वैशाखमा करीब १ अर्ब रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको छ । जेठमा भने २ अर्ब रुपैयाँको हाराहारीमा नै बीमाशुल्क संकलन भएको देखिन्छ । असारमा पनि सोही मात्रामा बीमाशुल्क संकलन भएको हुन सक्ने बीमा कम्पनीहरूको अनुमान छ ।

विशेषगरी अहिले बैंकमार्फत बढी मात्रामा बीमा व्यवसाय आउने गरेको छ । बैंकबाट कर्जा लिएर किनेको घर र गाडीको अनिवार्य बीमा गर्नुपर्ने हुन्छ । साथै, बैंकबाट कर्जा लिएर गरिने व्यवसायको पनि बीमा गर्नुपर्ने व्यवस्था छ । यसका लागि बैंकहरूले आफैले सहजीकरण गर्दै आएका छन् । अहिले यस्तै बाध्यकारी रूपमा गर्नुपर्ने बीमाहरू मात्र बढी भइरहेको युनाइटेड इस्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

‘अहिले बाध्यकारी रूपमा गर्नुपर्ने बीमा मात्र भइरहेको छ । स्वतःस्फूर्त रूपमा हुने बीमा भने अत्यन्त न्यून मात्रामा रहेको छ,’ उनले भने, ‘मानिसले अहिले बैंकको कर्जा नै तिर्न नसकेको अवस्था छ । यस्तोमा उनीहरूले बीमालाई प्राथमिकतामा राखेका छैनन् । तर लकडाउनको तुलनामा अहिले समग्रमा व्यवसाय सुधार भएको छ ।’

विशेषगरी पर्यटन, होटेल, हवाई उड्डयन, पूर्वाधार लगायत क्षेत्रको बीमालेख नवीकरण अझै अपेक्षित रूपमा नभएको कम्पनीहरू बताउँछन् । त्यस्ता क्षेत्रमा विक्री भएका बीमालेख सामान्य अवस्थामा असारको शुरुआतमै नवीकरण हुने गर्छन् । तर यसपटक अझै सोचेअनुरूप नविकरण नभएको एनएलजी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तले बताए ।

‘अहिले सवारी क्षेत्रका बीमा पोलिसी सीमित मात्रामा विक्री भइरहेको छ,’ उनले भने, ‘लकडाउन खुकुलो भएपछि व्यवसायमा करीब ५० प्रतिशत सुधार आएको छ । तर, सबै क्षेत्र अझै बीमाको दायरामा आएका छैनन् ।’

पछिल्लो व्यावसायिक गतिविधि अनुसार चालू आवमा गत आवको बराबर नै बीमाशुल्क संकलन हुने कम्पनीहरूको भनाइ छ । गत आवमा रू. २४ अर्ब ३२ करोड बीमाशुल्क संकलन भएको थियो । समितिको तथ्यांक अनुसार चालू आवको जेठसम्ममा २२ अर्ब ३७ करोड रुपैयाँ बीमा बीमाशुल्क संकलन भइसकेको छ । असार मसान्तसम्म पुग्दा गत आव बराबरको बीमाशुल्क संकलन हुने कम्पनीहरूको भनाइ छ ।

गत आवमा निर्जीवन बीमाशुल्क संकलन १८ प्रतिशतले बढेको थियो । तर यसपटक बीमाशुल्क संकलनमा वृद्धि हुने स्वयं कम्पनीहरूले नै आशा गरेका छैनन् । बीमक संघका  महासचिव क्षेत्रीले भने, ‘यो वर्ष गत आव बराबरको बीमाशुल्क संकलन हुने अपेक्षा छ । तर, गत आवको भन्दा बढी बीमाशुल्क संकलन हुन्छ जस्तो लागेको छैन ।’ यसैगरी सामान्य अवस्थाको जस्तै व्यवसाय हुन अझै १ देखि २ वर्षसम्म लाग्ने कम्पनीहरूको भनाइ छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]