July 10th, 2020

ऋणको भुक्तानी म्याद बढाउन माग

असार मसान्तमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज भुक्तानी अवधि बढाउन उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को माग छ ।

लकडाउन पूर्णरूपमा नखुलेको अवस्थामा उद्योगी व्यवसायी असारभित्रै बैंकको किस्ता तथा ब्याज बुझाउन सक्ने अवस्थामा नरहेको भन्दै महासंघले म्याद थपको आग्रह गरेको हो ।

‘०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गर्दछ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि उद्योगी व्यवसायीले चैतदेखिको साँवा तथा ब्याज असार मसान्तभित्र चुक्ता गरे हुने सुविधा पाएका थिए । असार मसान्त नजिकिँदै गर्दा अहिले किस्ता तिर्न बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई ताकेता गर्न थालेको महासंघले जनाएको छ । ‘उद्यमी व्यवसायीलाई असारभित्र कर्जा तथा ब्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण नेपाल ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहयो । उक्त समयमा मुलकभित्र अत्यावश्यकबाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहे । ‘असार १ देखि लकडाउन केही खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन नभएकोलगायत कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘चलेका उद्योग पनि क्षमताको ३०/४० प्रतिशत मात्रमा सञ्चालनमा रहेका, उत्पादित मालवस्तु निर्बाध बजारसम्म पुर्‍याई बिक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको यथार्थ अवस्था छ ।’

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका सानाठूला उद्योगी व्यवसायी गम्भीर संकटमा रहेको महासंघले जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ ।  कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]