राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले अपेक्षा गरेभन्दा बढी ‘राहत’ दिने घोषणा गरेका छन्। मौद्रिक नीतिबारे सुझाव संकलन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार आयोजना गरेको डिजिटल अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘अहिले सबैलाई असजिलो परेको छ। सबैलाई समेटेर बचाउने नीति ल्याउँछौं’, उनले भने। तर उनले अहिले नगद प्रवाह राम्रो भएका व्यवसायी र ऋणीले समयमै ब्याज र किस्ता भुक्तानी गरिदिन आग्रह गरे।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँलगायतले ब्याजदर स्थायित्वमा ध्यान दिन सुझाएका छन्। तर गभर्नर अधिकारीले ल्याउने भनेको त्यो आकर्षक राहत भने कर्जाको भाखा सार्ने कुरासँग सम्बन्धित रहेको राष्ट्र बैंकका अधिकारीले बताए। राष्ट्र बैंकले ऋण तिर्ने भाखा सारेर व्यावसायिक क्षेत्रको उद्धार गर्ने योजना अघि सार्ने संकेत गरेको छ। व्यवसायीले कोरोनाको यो असरबाट बाहिर निस्कनका लागि व्यापारको प्रकृति हेरेर एकदेखि दुई वर्ष समय लाग्ने बताएका छन्।
‘यो समस्या हाम्रो अर्थतन्त्रमा आएको अहिलेसम्मकै ठूलो हो,’ नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘महामारीबाट प्रभाति अर्थतन्त्र पुनरुत्थानका लागि न्यूनतम एक वा २ वर्षसम्म लाग्छ।’ उनले अहिलेको संकटमा दैनिक ९ अर्ब रुपैयाँ बराबरको कारोबारको क्षति पुगेको बताएका छन्। करिब १५ लाख युवालाई बेरोजगार बनाएको यो समस्याबाट अर्थतन्त्रलाई बाहिर ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् उद्धार गर्नुपर्ने उनले बताए।
राष्ट्र बैंकका अधिकृतका अनुसार हालसम्म गभर्नरले यसबारे विभागीय छलफल भने गरेका छैनन्। राष्ट्र बैंकमा मौद्रिक नीति तर्जुमा गर्न विभिन्न विभागीय समितिमा छलफल भएर सञ्चालक समितिमा प्रस्ताव पुग्छ। तर उनले व्यवसायीलाई आशावादी रहन आग्रह गरेका छन्। अहिले बैंकको ब्याज तिर्न नसकेर नआत्तिन उनले आग्रह गरेका छन्। व्यवसायीले दुई वर्षसम्म भाखा सार्न गभर्नर तयार हुने आशा पलाएको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार