Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता

२०७७ असार २५ गते

बजार खुलेपनि व्यापार नहुँदा चितवनका व्यवसायीहरू बैङ्कको ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् । असार लागेपछि लकडाउन केही खुकुलो भएपनि सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर कायमै भएपछि बजारमा चहलपहल कम भएको छ । चैत्र ११ गतेदेखि कोरोना सङ्क्रमणको डरले भएको लकडाउन अहिलेसम्म जारी छ । असारको ३ गतेबाट केही खुकुलो भएपनि खरिद बिक्री राम्रोसँग हुन नसकेको व्यापारीहरूले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले भन्नुभयो, ‘रोगको डरले अझैपनि सर्वसाधारण हिँड्नसकेका छैनन् ।’ जिल्लाका मुख्य स्थानका बजारहरू खुलेपनि व्यापार नभएको उहाँँले बताउनुभयो । ‘सार्वजनिक सवारी साधन नखुलेसम्म व्यापार हुँदैन । व्यापार नभएपछि बैङ्कको ऋण कसरी तिर्ने समस्या बढेर गएको छ,’ उहाँँले भन्नुभयो ।

चितवनमा मात्र नभई राजधानी काठमाडाैँसहित केही जिल्लामा व्यापार ठप्प भएको उहाँले बताउनुभयो । अवस्था सहज नहुँदासम्म व्यापार नहुने भएकाले व्यवसायीलाई बैङ्कबाट लिएको ऋण तिर्न समस्या हुने उहाँको भनाइ छ ।

नारायणगढका कपडा होलसेल पसल सञ्चालक गणेश सापकोटाले भन्नुभयो, ‘विवाहको सिजन भएपनि व्यापार हुन सकेको छैन ।’ केही विवाहको लागि खरिद गर्न आएका ग्राहकले दुलाहा दुलहीलाई भन्दा अन्यलाई कपडा नकिनेको बताउनुभयो । ‘रोगको डरले ग्राहक डराएका छन् । खरिद गर्न आएकाले पनि काम चलाउ मात्र गर्दछन् । पछि खर्च गर्ने भन्दै गएका छन्,’ सापकोटाले भन्नुभयो, ‘बैङ्कबाट लिएको ऋण कसरी बुझाउने भन्ने चिन्ता लागेको छ ।’ 

गर्मीमा राम्रो व्यापार हुने पसलहरूमा पनि ग्राहकको उपस्थिति छैन । वैशाखदेखि भदौसम्म राम्रो व्यापार हुने पङ्खा, एसी, फ्रिज नबिकेको व्यापारीको भनाइ छ । शहीद चोक नारायणगढका इलेक्ट्रेनिक्स पसलका सञ्चालक राजु पौडेलले भन्नुभयो, ‘एक दिनमा एकसय भन्दा धेरै पङ्खा बिक्री हुने पसलमा अहिले एउटा कटाउन मुस्किल छ । दैनिक दुइ हजारको व्यापारले कति नाफा गर्ने ?’ उहाँले भन्नुभयो ।  बैङ्कको ऋण घरभाडाले गर्दा समस्या भएकोले चिन्ता लागेकाे उहाँकाे भनाइ छ ।  

चितवन, नवलपरासी, तनहुँ, गोरखा, मकवानपुरको मुख्य व्यापारिक नारायणगढ बजार हो । शिक्षालय, सार्वजनिक कार्यक्रम, यातायात बन्द भएपछि आर्थिक गतिविधि नहुँदा यहाँ सबै क्षेत्रमा असर परेको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचार 

Ad