July 7th, 2020

लकडाउन खुकुलो भएपछि बीमाशुल्क संकलन बढ्दै

सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएसँगै जीवन बीमाशुल्क संकलनमा पनि सुधार आएको छ । कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि लकडाउन लगाएपछि नवीकरण र प्रथम बीमाशुल्क संकलन खस्किएको थियो । तर, लकडाउन खुकुलो भएपछि क्रमशः बीमाशुल्क संकलन बढ्दै गएको जीवन बीमा कम्पनीहरू बताउँछन् ।

नेपालमा सामान्य अवस्थामा मासिक ६ अर्ब रुपैयाँको हाराहारीमा बीमाशुल्क संकलन हुन्छ । तर, लकडाउन अवधिमा २/३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै संकलन भएको थियो । जेठमा मात्र रू. ४ अर्ब ७४ करोड बीमाशुल्क संकलन भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ । असारमा पनि त्योभन्दा बढी बीमाशुल्क संकलन हुने अनुमान कम्पनीहरूको छ ।

बीमा शुल्क कति संकलन भयो भन्ने यकिन तथ्यांक भने छैन । चैत, वैशाख र जेठको तुलनामा असारमा बीमाशुल्क संकलन बढ्ने जीवन बीमा कम्पनीहरूको भनाइ छ । जीवन बीमक संघ नेपालका अध्यक्ष शिवनाथ पाण्डेले लकडाउन खुकुलो भएपछि बीमाशुल्क संकलनमा सुधार आएको बताए । ‘पूर्ण लकडाउन अवधिको तुलनामा असारमा बीमाशुल्क संकलन राम्रो देखिएको छ । यसको पूर्ण तथ्यांक भने तयार भएको छैन,’ उनले भने, ‘बीमा बजारको पछिल्लो गतिविधि सन्तोषजनक नै रहेको छ ।’

बीमा व्यवसाय बढाउन वैशाख, जेठ र असार उपयुक्त समय हो । पुराना बीमालेखको नवीकरण गर्ने समय पनि यही बेला हो । आर्थिक वर्षको अन्त्य भएकाले अन्य महीनामा भन्दा असारमा बढी बीमाशुल्क संकलन हुन्छ । त्यसैले बीमाशुल्क संकलनमा सुधार आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

‘कम्पनीले दिने सेवासुविधा पाउन अभिकर्ताहरूले तोकिएको लक्ष्य पूरा गर्नुपर्ने हुन्छ । त्यसको प्रभावले यो समयमा बढी व्यवसाय हुन्छ,’ उनले भने, ‘बीमा समितिले पनि लकडाउनमा तिर्न बाँकी रहेको बीमाशुल्कलाई जरीवानाविना उठाउन मिल्ने व्यवस्था गरेको थियो, त्यसकारण पनि बीमाशुल्क संकलनमा सुधार आएको हो ।’
कम्पनीहरूका अनुसार अहिले नयाँ बीमा गर्ने व्यक्तिहरू पनि आएका छन् । बीमालेख नवीकरण गर्ने बीमितको संख्या पनि बढेको छ । तर, सामान्य अवस्थाको तुलनामा भने त्यो कम नै रहेको कम्पनीहरूको भनाइ छ ।

युनियन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले बीमालेख नवीकरण सोचेअनुरूप नदेखिएको बताए ।

‘लकडाउन खुकुलो भएपछि त्यसमा सुधार त आएको छ तर, सोचेअनुरूप छैन,’ उनले भने, ‘फलतः यो वर्ष बीमा कम्पनीहरूको २५ प्रतिशत बीमालेख नवीकरण नहुने (ल्याप्स हुने) सम्भावना छ ।’

चालू आवमा गत आवको तुलनामा जीवन बीमाशुल्क संकलन १० प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढ्न सक्ने अनुमान गरिएको छ । गत आवमा जीवन बीमाशुल्क संकलन ४६ प्रतिशतले बढेको थियो । तर, यसपटक भने त्यो बराबरको वृद्धिदर कायम गर्न नसकिने कम्पनीहरू बताउँछन् ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले रू. ७० अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका थिए । चालू आवमा करीब ९० अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अनुमान छ ।

समितिको तथ्यांकअनुसार चालू आवको जेठसम्म जीवन बीमा कम्पनीहरूले ७० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरिसकेका छन् । उनले भने, ‘यो वर्ष बीमाशुल्क संकलनमा ह्रास आउँदैन । गत आवको भन्दा बढी नै बीमाशुल्क संकलन हुने आशा छ ।’

प्रथम बीमाशुल्क संकलनको लक्ष्य पूरा गर्न भने कम्पनीहरूलाई चुनौतीपूर्ण नै हुने बताइएको छ । पहिले नै बीमा गरेकालाई बीमालेख नवीकरण गराउन समस्या हुँदैन । तर, नयाँ व्यक्तिलाई बीमाको दायरामा ल्याउने अहिले समस्या भएको कम्पनीहरू बताउँछन् ।

युनियन लाइफका सीईओ कर्णले प्रथम बीमाशुल्क संकलन गर्न चुनौतीपूर्ण नै हुने बताए । ‘नयाँ बीमितको संख्या पनि सामान्य अवस्थाको जस्तो छैन । तसर्थ, कम्पनीहरूलाई गत आवको बराबरमा पनि प्रथम बीमाशुल्क संकलन हुन गाह्रो हुने देखिन्छ,’ उनले भने, ‘गत आवको लक्ष्यअनुसार अधिकांश कम्पनीले प्रथम बीमाशुल्क संकलन गर्न भने सक्छन् ।’

सामान्य अवस्थामा प्रथम बीमाशुल्कको वृद्धिदर ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म हुने गरेको थियो । तर, यसपटक भने त्यो बराबरको वृद्धिदर कायम नहुने कम्पनीहरूको आकलन छ । चालू आवको शुरूमा बीमा समितिले १ खर्ब रुपैयाँ जीवन बीमाशुल्क उठ्ने अनुमान गरेको थियो । तर, कोरोना भाइरसका कारण त्यो पूरा नहुने देखिएको समितिको भनाइ छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]