July 6th, 2020

कृषि ऋणमा दुई प्रतिशत ब्याज छुट !

भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो । महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । आगामी वर्षको महानगरको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको कार्यक्रम हो, ‘भरतपुर कृषकमैत्री ऋण कार्यक्रम’, उहाँले भन्नुभयो, “किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रमले निम्न वर्गका कृषकको उत्थानमा सहयोग पुग्ने विश्वास लिइएको छ । ” यो कार्यक्रम नयाँ आर्थिक वर्ष साउनबाट लागू हुनेछ । भरतपुर महानगरभित्रका किसानले आफूले लिएका कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणमा महानगरले २ प्रतिशत ब्याज बराबरको रकम उपलब्ध गराउने छ ।

“महानगरको योजना प्रत्यक्ष बैङ्क तथा वित्तीय संस्थालाई नै सहयोग गर्ने हो । यो २५ लाख रुपियाँभन्दा कम ऋण लिने किसानका हकमा मात्रै लागू हुनेछ,” अधिकृत लामिछानेले भन्नुभयो । महानगरले लागू गरेको यो कार्यक्रमले २५ लाख रुपियाँ ऋण लिने किसानले ५० हजार रुपियाँ महानगरका तर्फबाट सहयोग पाउनेछ । महानगर प्रमुख रेणु दाहाल कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने महानगरको योजनाअनुसार यो कार्यक्रम आएको बताउनुहुन्छ । “युवा पुस्तालाई कृषि पेसामा टिकाइराख्न पनि विभिन्न आकर्षक कार्यक्रम जरुरी भयो,” उहाँले भन्नुभायो । यसरी किसानले लिने ब्याज छुट रकमका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस भने आवश्यक पर्ने महानगरले मापदण्ड बनाएको छ । विशेष त किसानले यो रकम कृषि यान्त्रिकीकरणमा खर्च गर्ने विश्वास महानगरको छ । कृषि उत्पादनका दृष्टिले देशकै अग्रणी जिल्ला चितवनको मुख्य कृषि उत्पादन क्षेत्र भरतपुर महानगरपालिकाले ओगटेको छ । दुई लाख ६५ हजार जनसङ्ख्या रहेको भरतपुरमा ४५ प्रतिशत जनसङ्ख्या कृषि क्षेत्रमा आबद्ध छन् । महानगरमा १४ हजार हेक्टर जग्गामा खेती गरिएको तथ्याङ्क महानगरसँग छ । कृषिका क्षेत्रमा कतिले ऋण लिएका छन् भन्ने यकिन तथ्याङ्क महानगरले निकाल्न सकेको छैन ।

बाँझो जग्गा भाडामा लिने
कोही कसैले खेती नगरी बाँझो राखेका जग्गा महानगर आफैँले भाडामा लिएर खेती गर्न चाहने किसानलाई दिने भएको छ । कृषियोग्य जमिन बाँझो नराख्ने नीतिअनुरूप महानगरले यो कार्य सुरु गर्न लागेको हो । अब महानगरले बाँझो जग्गा भाडामा लिन्छ र खेती गर्न चाहने किसानलाई भाडामा लगाउँछ, महानगरका प्रशासकीय अधिकृत विनोद लामिछानेले बताउनुभयो । बाँझो जमिनमा खेती गर्न चाहने किसानले अब महानगरबाटै भाडामा लिएर खेती गर्न पाउनेछ, उहाँले भन्नुभयो । यसरी बाँझो जग्गा भाडामा दिँदा जग्गाधनीले समेत केही भाडा पाउने नीति महानगरले अवलम्बन गर्न लागेको हो ।  गोरखापत्र दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]