July 6th, 2020

बैंक र बिमा कम्पनीहरू शाखा घटाउने रणनीतिमा

कोभिड–१९ को बहानामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले केही शाखा बन्द गर्ने योजना बनाएका छन् । यसका लागि खुकुलो नीतिगत व्यवस्था गरिदिन उनीहरूले नियामक निकायलाई आग्रह गरेका छन् । कोभिड–१९ का कारण घाटामा गएका शाखाभन्दा पनि यही बहानामा राम्रो व्यवसाय नगरेका शाखा बन्द गर्ने बैंकहरूको योजना छ ।

वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले यसबारे लिखित रूपमै राष्ट्र बैंकलाई आग्रह गरेको छ । सञ्चालन खर्च कम गर्न भन्दै धेरै शाखा भएका स्थानमा केही बन्द गर्न खुकुलो नीतिगत व्यवस्थाका लागि आग्रह गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउनका लागि शाखा संख्या बढी भएका स्थानमा रहेका शाखा कार्यालय बन्द गर्नका लागि गर्नुपर्ने प्रक्रिया सरलीकृत गरिनु उपयुक्त हुने,’ बैंकर्स संघले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ । आगामी मौद्रिक नीतिमा सुझाव दिने क्रममा संघले यस्तो माग गरेको हो । यसअघि सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि लागत घटाउन शाखा बन्द गर्न पाउने सुझाव दिएको थियो ।

लकडाउन सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा पनि खर्च (लागत) घटाउने क्रम सुरु भएको छ । बैंकका कुन–कुन क्षेत्रमा खर्च घटाउन सकिन्छ भनेर बैंकर्स संघले अध्ययन पनि गरेको छ । अध्ययन पूरा भइनसके पनि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनमा लागत कम गर्ने विभिन्न विकल्पमध्ये शाखा घटाउने पनि एक छ । सोही सुझावका आधारमा अनावश्यक देखिएको स्थानका शाखा बन्द गर्न सक्ने अधिकार सम्बन्धित बैंकलाई नै दिन आग्रह गरिएको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए ।

‘राष्ट्र बैंकको निर्देशनअनुसार दुर्गम स्थानमा खोलिएका शाखा बन्द गर्ने भनिएको होइन,’ उनले भने, ‘सहरी क्षेत्र जहाँ एकै स्थानमा धेरै बैंकका शाखा छन् । तीमध्ये केही बन्द गर्दा पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु पर्दैन । ती शाखा बन्द गर्दा खर्च कम हुन्छ भन्ने हो ।’ स्थानीय तहमा खुलेका धेरै शाखा घाटामा भए पनि ती बन्द नहुने उनले प्रस्ट्याए । शाखा बन्द हुँदा पनि त्यहाँका कर्मचारीलाई जागिरबाट ननिकालिने, तिनलाई अन्य शाखामा समायोजन गरिने उनले बताए । कोभिडका कारण बैंकहरूको खर्च घटाउनुपर्ने भएकाले अनावश्यक शाखा बन्द गर्ने प्रस्ताव गरिएको उनको भनाइ छ । ‘अहिले नीतिगत व्यवस्थाका लागि मात्र आग्रह गरिएको हो,’ उनले भने, ‘त्यसपछि कुन शाखा करिब बन्द गर्ने भन्नेबारे मोडालिटी बनाइने हो ।’

संघले गरेको अध्ययनमा करारमा राखेका कर्मचारी हटाउन सकिने, यसका लागि करार अवधि थप नगर्ने, अन्य विविध खर्च घटाउन सकिने सुझाव पनि समेटिएको छ । विकास बैंक भने शाखा घटाउने पक्षमा छैनन् । ‘कोभिड–१९ का कारण व्यवसाय केही प्रभावित भएको होला । तर शाखा नै बन्द गर्ने पक्षमा कुनै पनि विकास बैंक छैनन्,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले भने, ‘बरु अप्ठ्यारो परिस्थितिमा पनि कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेबारे छलफल गरिरहेका छौं ।’

राष्ट्र बैंकबाट ‘ग’ वर्षको वित्तीय संस्थाका रूपमा काम गर्न अनुमति पाएका फाइनान्स कम्पनी पनि शाखा बन्द गर्ने अवस्था नररहेको वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘यो स्थानबाट सेवा दिन्छौं भनेर खोलिसकेपछि अहिले अप्ठ्यारो पर्‍यो भनेर शाखा घटाउने पक्षमा छैनौं,’ उनले भने, ‘फाइनान्स कम्पनीहरू व्यावसायिक हिसाबले सानो भए पनि सेवा प्रवाह र सेवाग्राहीप्रतिको दायित्व राम्रोसँग बुझेका छौं ।’ यही कारण कोभिड–१९ का कारण २/३ महिना व्यवसाय प्रभावित हुँदैमा शाखा बन्द नगर्ने उनको भनाइ छ ।

गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाका ९ हजार ६ सय ९५ शाखा छन् । असारमा यो संख्या ८ हजार ६ सय ८६ थिए । गत वैशाखसम्मका कुल शाखामध्ये वाणिज्य बैंकको मात्र ४ हजार २ सय १९ छ । वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ६३ छ । यसमध्ये २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । ७ सय ५३ स्थानीय तहमध्ये ०७७ वैशाखसम्म ७ सय ४६ तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । बाँकीमा पनि ७ स्थानमा पनि शाखा स्थापनाको गृहकार्य भइरहेको बताइएको छ ।

कोभिड–१९ को कारण देखाउँदै शाखा बन्दको माग गर्नेमा बिमा कम्पनी पनि छन् । विगतमा स्थापना गरी राम्रो व्यवसाय गर्न नसकेका शाखा बन्द गर्न केही कम्पनीहरूले बिमा समितिमा आग्रह गरेका छन् । यसका लागि केही कम्पनीबाट आग्रह आएको बिमा समितिले पनि स्विकारेको छ । तर कोभिड–१९ का कारण नभई कम्पनीको व्यावसायिक रणनीतिअनुसार यस्तो आग्रह आएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

‘यो नियमित कार्य हो, कोभिडकै कारण शाखा बन्द गर्न कोही आएका छैनन्,’ उनले भने, ‘कम्पनीको व्यावसायिक राणनीतिअनुसार नियामक निकायले तोकेको मापदण्ड पूरा गरी सञ्चालक समितिको निर्णयका आधारमा शाखा खोल्न वा बन्द गर्न पाउँछन् ।’ कम्पनीहरूले शाखा बन्दको प्रस्ताव नगरेको जीवन बिमा कम्पनी संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘शाखा बन्द/स्थापना कम्पनीको व्यावसायिक रणनीतिअनुसार हुने हो,’ उनले भने, ‘कोभिड–१९ कै कारणले बन्द गर्ने अवस्था छैन ।’

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पनि शाखा बन्द गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । एकपटक खोलिसकेको शाखा कुनै ठूलो संकटबाहेकको अवस्थामा बन्द गर्न नहुने उनको सुझाव छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]