सहकारीमा ऋणको किस्ता र ब्याज असुली हुन सकेन, कारोबार ह्वात्तै घट्यो

बैंकिङ खबर । लकडाउन र कोरोना सन्त्रासका कारण देशैभरीका सहकारी संस्थाहरु समस्यामा परेका छन् । सहकारीको कारोबार ह्वात्तै घटेको छ भने अर्कोतिर ऋणको किस्ता र ब्याज असुली हुन सकेको छैन । सहकारीलाई लकडाउन थपीँदै जाँदा समस्या निम्त्याउन थालेको छ । अधिकाँस सहकारीमा तरलता अभाव देखिन थालेको छ । विशेषगरी ऋण तथा बचतको कारोबार गर्ने सहकारी संस्था बढी प्रभावित बन्न थालेका छन् । कर्जाको किस्ता र ब्याज असुली हुन नसकेपछि सहकारीहरु समस्यामा पर्न थालेका हुन् । सहकारीको बचतमा ह्रास आएको र कर्जाको माग घटेको बताईएको छ । कृषिमा लगानी गरेका सहकारीमा पनि समस्या आएको छ । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि उनीहरूले लिएको साँवा ब्याज तिर्न सकेका छैनन् । सहकारी विभागले सुरुमा सहकारीहरु खोलेर सेवा दिनुपर्छ भनेको थियो । तर, सोअनुरुप सामान्य रुपमा सेवा प्रवाह गर्ने अवस्था भएन । स्थानीय निकायले पास उपलब्ध नगराउने लगायतका समस्या आएपछि सुरुबाटै सहकारीहरु बन्द जस्तै छन् । असार १ पछि आफ्नै अनुकुलता हेरेर सहकारीहरु खुल्न थालेका हुन् । पछिल्लो समयमा सहकारीलाई विभागले पनि कुनै निर्देशन दिएको छैन ।

सहकारी क्षेत्रमा कोरोना भाइरस र लकडाउनको ठूलो असर परिरहेको छ । कृषि, दुग्ध लगायतका सहकारीहरुमा सबैभन्दा धेरै असर परेको छ । कृषिजन्य र दुग्ध उत्पादनहरु प्रायः छिटै सड्ने वा विग्रिने हुन्छन् । उत्पादन गरे पनि विक्री वितरण गर्न नपाएपछि कृषकहरु मर्कामा परेका छन् । वित्तीय कारोबार गर्ने सहकारीहरुमा पनि रेगुलर बचत गर्ने क्रम रोकिएको छ । ऋण लिएकाहरुलाई किस्ता चुकाउन समेत समस्या भइरहेको छ । कोरोनाका कारण अहिले विश्व अर्थतन्त्र नै प्रभावित भएको अवस्था छ । नेपाल जस्तो मुलुकमा यसको असर झन् बढी देखिन्छ । आर्थिक क्षेत्रभित्र पनि वित्तीय क्षेत्रमा झन् ठूलो प्रभाव पर्छ । अहिले व्यापार व्यवसायहरु ठप्पै छन् । उत्पादन भएका वस्तुहरुले बजार पाएका छैनन् । एकातिर उपभोक्ताहरु मारमा छन् भने उत्पादकहरु पनि उत्पादन खेर गएका कारण चिन्तित छन् । जसको प्रभाव पनि सहकारीमा पर्ने गरेको छ ।