July 3rd, 2020

साढे ३ महीनादेखि बन्द पुनः श्रमस्वीकृति खुला

साढे ३ महीनादेखि बन्द गरेको वैदेशिक रोजगारको पुनः श्रमस्वीकृति सरकारले बिहीवारदेखि खुला गरेको छ । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किई बन्दाबन्दीका कारण नेपालमै अड्किएका तथा करार अवधि बाँकी रहेका हकमा कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिनेगरी पुनः श्रमस्वीकृति सुचारू गरिएको हो ।

असार १५ गतेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । त्यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गतेको बैठकले श्रमस्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

श्रम कार्यालय, ताहाचलका अनुसार पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा पुनः श्रमस्वीकृति प्रदान गरिनेछ । श्रम कार्यालय ताहाचलबाट बिहीवारदेखि नै यस्तो स्वीकृति दिन थालिसकेको छ । श्रम कार्यालय प्रमुख उमेश बस्नेतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएसँगै कार्यालयमा आउनेहरूलाई पुनः श्रमस्वीकृति दिन थालिएको बताए । ‘वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रमस्वीकृति दिन थालिएको छ । तर, नयाँ श्रमस्वीकृति भने अहिले दिइने छैन,’ उनले भने ।

वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति पाए पनि सहज रूपमा अन्तरराष्ट्रिय उडान नभएका कारण ती देशमा जान कठिन छ । यद्यपि यात्रुको संख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउन चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रमस्वीकृति लिएकाहरूले यात्रा गर्न सक्नेछन् । कोरोना सक्रमण बढेसँगै कोरोना उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रमस्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर बिदामा नेपाल आएका तथा नयाँ श्रमस्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रमस्वीकृति दिन वैदेशिक रोजगार विभागलाई पत्राचार गरेअनुसार मातहतका कार्यालयहरूले श्रमस्वीकृति दिन थालेको श्रम विभागका महानिर्देशक कुमार दाहालले बताए ।

उनका अनुसार कोरोना महामारीका बीच पनि कतिपय देशमा उच्च सतर्कता अपनाएर काम भइरहेको र उद्योगहरू चलिरहेको अवस्थामा श्रम गन्तव्यमा जान चाहनेका लागि पुनः श्रमस्वीकृति दिन लागिएको हो । बन्दाबन्दीको अघिसम्म कबिी ५ हजारको हाराहारीमा बिदामा नेपाल आएको हुनसक्ने विभागको अनुमान छ । तत्काल बिदामा आएका जाने अवस्था एकदमै कम रहेको उनी बताउँछन् । ‘अहिले तत्काल एक/डेढ सय जान सक्छन्, अझै कोरोना कायमै रहेकाले अरू जान सक्ने अवस्था देखिँदैन,’ दाहालले भने ।

कतिपय कम्पनीबाट कामदारको माग भई आएको र पहिले नै कागजात तयार भइसकेकाहरूका लागि श्रमस्वीकृति दिन थालिएको विभागका अधिकारीहरूको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने सरकारले हतार गरेर पुनः स्वीकृति सुचारु गरेको प्रतिक्रिया दिएको छ । ‘कोरोनाको जोखिम अभैm कम भएको छैन । हामीले श्रमस्वीकृति दिए पनि र रोजगारदाताले लिन खोजे पनि सम्बद्ध देशले कामदारलाई आप्mनो देशमा प्रवेश गराउन मानेन भने नेपाली कामदारको झन् बिचल्ली हुने देखिन्छ,’ संघका अध्यक्ष विष्णु गैरेले अभियानसँग भने ।

सरकारले कूटनीतिक माध्यमबाट रोजगारदाता मुलुकसँग छलफल गर्ने र स्पष्ट मापदण्ड बनाएर सुरक्षा सतर्कताका साथ जोखिमरहित देशमा कामदार पठाउन थाल्नुपर्ने उनको भनाइ छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]