July 3rd, 2020

अर्थतन्त्रको मनोबल बढाउने मौद्रिक नीति ल्याउन विज्ञको जोड

आगामी मौद्रिक नीतिमा सर्वसाधारणको मनोबल बढाउने खालका कार्यक्रम आउनुपर्ने विज्ञहरुले सुझाएका छन् । कोभिड–१९ को महामारीले थला परेको अर्थतन्त्र उकास्न ‘पब्लिक कन्फिडेन्स’ को खाँचो रहेकाले त्यसलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

काठमाडौंमा बिहीबार आयोजित ‘आगामी मौद्रिक नीतिबारे पूर्वछलफल कार्यक्रम’ मा पूर्वगभर्नर पूर्वगभर्नर चिरञ्जीवी नेपालले संकटको अवस्थामा अर्थतन्त्रको मनोबल बढाउन मौद्रिक नीतिमा रिस्ट्रक्चरिङ, रिसेडुलिङ र रिलिफ गरी ‘तीन आर’ को नीति ल्याउनुपर्नेमा जोड दिए ।

कोभिड–१९ का कारणले प्रभावित क्षेत्र तथा व्यवसाय पहिचान गरी ती क्षेत्रमा प्रवाहित कर्जाको पुनर्संरचना गर्नुपर्ने उनीहरुको सुझाव छ । ‘अति प्रभावित उद्योग तथा व्यवसाय क्षेत्रमा प्रवाह भएको वर्किङ क्यापिटलमा कति समयसम्म पुनर्तालिकीकरण गर्नुपर्ने हो, त्यो निर्क्योल गर्नुपर्छ,’ उनले भने, ‘साना तथा मझौला उद्यम (एसएमई) लाई बढी प्राथमिकता दिनुपर्छ ।’

कोभिड–१९ को असर लामो समयसम्म रहने संकेत देखिएकाले अर्थतन्त्र र रोजगारीमा नराम्रो असर गरेको मौद्रिक नीतिमा विशेष कार्यक्रम आउनुपर्ने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘एकातिर कोभिड–१९ को जोखिम बढिरहेको र अर्कोतिर ऋणीले असार मसान्तभित्र बैंक तथा वित्तीयलाई साँवाब्याज भुक्तानी गर्नुपर्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा व्यवसायी साथीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् ।’

राष्ट्र बैंकले पुनर्कर्जा कार्यक्रममार्फत ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने, पुनर्कर्जामा एसएमईलाई प्राथमिकता दिनुपर्ने, ऋणको ब्याजदर घटाउनुपर्नेलगायत व्यवस्था मौद्रिक नीतिमा समेटिनुपर्ने गोल्छाले बताए ।

आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, ऋणको पुनसंरचना र पुनर्कर्जाको प्रभावकारी वितरणको कार्यक्रम ल्याउनुपर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालको भनाइ छ । अर्थतन्त्रले हालसम्मकै ठूलो जोखिम बेहोरिरहेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।

अर्थतन्त्रका सबै क्षेत्रलाई सुविधा पुग्ने गरी मौद्रिक नीतिमा कार्यक्रम आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘कुन क्षेत्रलाई केकस्तो सुविधा दिनुपर्ने हो, त्यसबारे सरोकारवालासँग छलफल भइरहेको छ,’ उनले भने, ‘सबैले सुविधा पाउने गरी मौद्रिक नीति आउँछ ।’ मौद्रिक नीतिमा कोभिड–१९ को संकटले प्रभावित एसएमईले प्राथमिकता पाउने पनि उनले जानकारी दिए । पुनर्कर्जाको पहुँच विस्तार गर्ने सम्बन्धमा पनि नीतिगत व्यवस्था भइरहेको उनले जानकारी दिए ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]