Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाको मारमा साना तथा मझौला व्यवसायी : महँगो भाडा र बैंक ऋणको मारमा न्यूरोडका व्यापारी

२०७७ असार १८ गते

लकडाउनका कारण लामो समयसम्म पसल खोल्न नपाएर मारमा परेका साना तथा मझौला व्यवसायी यति बेला पसल खोल्न पाए पनि व्यापार नहुँदा चिन्तित बनेका छन् ।

न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठूला व्यापारिक केन्द्रहरूमा व्यापार गर्ने अधिकांश साना तथा मझौला व्यापारीहरू व्यापार नभएपछि चिन्तित भएका हुन् ।
लकडाउन होउन्जेलसम्म पसल खोल्न पाइएन भन्ने पीर थियो, अहिले पसल खोल्न पाए पनि व्यापार नहुँदा घरभाडादेखि बैंकको किस्ता र ब्याज आदि कसरी तिर्ने पिरलो यथावत् रहेको व्यापारीहरू बताउँछन् । पसल खोलेर व्यापार व्यवसाय गर्नेभन्दा पनि बिहान आएर धूपबत्ती बाल्ने अनि दिनभरि टाइमपास गरेर घर जाने काम मात्रै भएको उनीहरूको भनाइ छ । अलिअलि व्यापार भएको पनि स्टाफहरूको तलबमै जान्छ । बाहिरबाट नयाँ सामान ल्याउन नपाएकाले ग्राहक आइहाले पनि उनीहरूले खोजेका सामान दिन सक्ने अवस्था नभएको राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवालले बताए ।

पूर्णरूपमा लकडाउन खुले पनि तत्काल व्यापार भइहाल्ने अवस्था नभएका कारण व्यापारीहरूका लागि राज्यले कुनै न कुनै पहल चाल्नैपर्ने उनको भनाइ छ । ‘लकडाउनले गर्दा चैत महीनादेखिको कर बुझाएका छैनौं, अब एकैपटक ६ महीनाको कर तिर्नुपर्ने अवस्था छ । व्यापार शून्य जस्तै छ कसरी तिर्ने ? त्यसमाथि घरभाडाले समेत तनाव दिइरहेको छ,’ उनले भने ।

हाल खिचापोखरी न्यूरोड, सुन्धारा, असनलगायत क्षेत्रका व्यापारीहरूले कम्तीमा १५ हजारदेखि १ लाख ५० हजारसम्म घरभाडा तिर्ने गरेका छन् । यस क्षेत्रका २२ र २४ नं वडामा मात्रै करीब २० हजारभन्दा बढी साना व्यवसायी छन् ।

महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गरेका व्यापारीहरूलाई यति बेला घरभाडाले समस्या थपिरहेको छ । सार्वजनिक यातायात नचलेका कारण पोखरा, बुटवल, नाराणघाट, नेपालगञ्जलगायत ठूला शहरका व्यापारीसमेत सामान किन्न आउन सकेनन्, जसले गर्दा पनि व्यापार झनै खस्केको व्यापारीहरूको अनुभव छ ।

सुन्धारास्थित काठमाडौं मलमा व्यापार गर्ने व्यापारीहरूको समस्या झनै चिन्ताजनक भएको त्यहाँ व्यापार गर्ने व्यापारीहरू बताउँछन् । लकडाउन खुकुलो भएर सबै मल खुल्दा पनि हालसम्म काठमाडौं मल खुल्न सकेको छैन ।

काठमाडौं मल व्यवस्थापनको जिम्मेवारी पाएको दिवासपना जेभी नामक कम्पनीले बत्तीको समस्या देखाएर अहिलेसम्म व्यापारीहरूलाई पसल खोल्न दिएको छैन ।

यसले गर्दा त्यहाँ व्यापार गर्ने कतिपय व्यापारीले व्यवसाय नै छोडेर हिँडिसकेका छन् भने कतिपय छोड्ने क्रममा भएको मलमा व्यापार गर्ने व्यापारीहरूले बताएका छन् । काठमाडौं मल व्यवस्थापनको कमजोरीका कारण साना व्यवसायीलाई पलायन हुन बाध्य पारिएको उनीहरूको आरोप छ ।

हाल काठमाडौं मलभित्र सानाठूला गरी करीब १ सय २० जना व्यापारी छन् । ती व्यापारीले मासिक २० हजारदेखि ५ लाखसम्म भाडा तिर्ने गरेका छन् ।

काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरूलाई समेटेर बनाइएको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समितिले उद्योगीव्यवसायीहरूबाट अनिवार्य र जबर्जस्ती रूपमा ऋणको साँवाब्याज असुल नगरिदिन बैंक तथा वित्तीय संस्थासँग माग गरेको छ ।

लकडाउन अवधिलाई शून्य समय घोषणा गरी यस अवधिको साँवा, ब्याज, किस्ता र जरीवाना रकम पूर्णरूपमा छूट दिन माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले १ करोडसम्मको ऋणको ब्याज मिनाहा गर्नुपर्ने, ५ करोडसम्मको सबै शीर्षकको ऋण ५० प्रतिशत र सोभन्दा माथिको हकमा २५ प्रतिशत छूट दिनुपर्नेलगायतका माग समितिले राखेको छ ।

आफ्ना माग सम्बोधन नभए दबाबमूलक कार्यक्रम गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले जनाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले शुक्रवारदेखि नै आन्दोलनको तयारी गरिएको बताए ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad