राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा विभिन्न फर्मलाई रू. ४० करोड रुपैयाँ बिगो कायम राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बुधवार राजस्व छलीविरुद्ध विभिन्न व्यावसायिक फर्मलाई मुद्दा दायर गरेको हो । विभागले काठमाडौं महानगरपालिका–२५ को न्यू सागर प्लाष्टिक कन्सर्नका प्रोप्राइटर सागर किजुलाई रू. ३२ करोड बिगो कायम राखेर मुद्दा दर्ता गरेको छ ।
न्यू सागर कन्सर्न तथा सुप्रिम प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा नै खरीद नगरी झूठो तथा नक्कली भ्याट बिल मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र राजस्व चुहावटको कुसुरमा संलग्न भएको भन्दै मुद्दा दायर गरिको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । विभागका अनुसार सागर प्लास्टिक कन्सर्नले भ्याटतर्फ रू. ८ करोड १८ लाख ४५ हजार ४८७ र आयकरतर्फ रू. १८ करोड ६३ लाख ८८ हजार १४७ तथा सुप्रिम प्लाष्टिक कन्सर्नले भ्याटतर्फ रू. १ करोड ७७ लाख १७ हजार ३७४ र आयकरतर्फ रू. ४ करोड ५५ हजार १०२ राजस्व चुहावट गरेको पाइएको छ । सागर प्लाष्टिक कन्सर्नका प्रोप्राइटर सञ्जु किजु र सुप्रिम प्लाष्टिक कन्सर्नका सागर किजुलाई बिगो रकम रू. ३२ करोड ६० लाख ६ हजार १११ कायम गरी बिगोको दोब्बर जरीवाना र कैद सजायको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।
यस्तै नक्कली भ्याटबिल प्रयोग गरेको आरोपमा बिकोई/स्काई बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठलाई रू. ८ करोड बिगो राखेर मुद्दा दायर गरेको छ । बिकोई/स्काई बंगलामुखी जेभीले वस्तु तथा सेवा नै खरीद नगरी रू. २ करोड ८३ लाख ६४ हजार ४८४ भ्याट र रू ४ करोड ५२ लाख ७ हजार ४२८ आयकर राजस्व चुहावट गरेको विभागले जानकारी दिएको छ । उक्त कम्पनीलाई बिगो बमोजिम हुने रू. ८ करोड १ लाख ५ हजार ८२६ र बिगोको दोब्बर जरीवाना र कैद सजाय माग गर्लै मुद्दा दायर गरिएको हो । यस्तै विभागले भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २८९ ग्राम सुन चोरी पैठारी गरेको आरोपमा रू. ४ करोड २२ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत हेटौंडामा मुद्दा दर्ता गरेको छ भने यस्तै भारतीय नागरिक रविकुमार शर्मा र पप्पु कुमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख बिगो कायम राखेर मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । भारतीय ट्रक चालक रविकुमार शर्मा सिलिगुड बजार, दार्जिलिङ भारत बस्ने व्यक्ति हुन् भने बस्ने पप्पु कुमार मजफ्फरपुर, विहारका निवासी हुन् । मोरङबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले विराटनगर भन्सार कार्यालय, मोरङ अन्तर्गत एकीकृत भन्सार जाँचचौकी विराटनगरको नं १ गेटमा चेकजाँचको क्रममा लुकाई छिपाई (डब्ल्यूबी७३ई७६३५) नम्बरको ट्रकमा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।