July 1st, 2020

बचत सवा खर्ब बढ्दा ऋण ३६ अर्ब घट्यो, नयाँ ऋण प्रवाह भएन

गत चैतयता वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १३ अर्ब बढ्दा कर्जा प्रवाह भने ३६ अर्ब रुपैयाँ घटेको छ । यो गत शुक्रबारसम्मको तथ्यांक हो । लकडाउनमा आर्थिक गतिविधि ठप्प भएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको थियो ।

यो अवधिमा कर्जा प्रवाह भने भएन । नयाँ कर्जा प्रवाह नभएको र भएको कर्जा पनि असुली भएपछि लगानीमा रहेको कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ ।

गत चैतसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ३१ खर्ब ८९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत शुक्रबारसम्म यो बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । चैतमा बैंकहरूको लगानीमा रहेको कर्जा प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ थियो । गत शुक्रबारसम्म लगानीमा रहेको कर्जा घटेर २८ खर्ब खर्ब ९ अर्ब रुपैयाँमा झरेको छ ।

नयाँ कर्जा माग नभएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढ्न थालेको छ । अहिले सरकारी खर्च र रेमिट्यान्स बढेको, अघिल्ला महिनाको तुलनामा रेमिट्यान्स बढेको तर कर्जा माग नभएकाले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको बताइएको छ । सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा झन्डै १ खर्ब ८ रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । उल्लिखित सबै रकम बैंक तथा वित्तीय संस्थाले कर्जाका रूपमा लगानी गर्न सक्छन् । अधिक तरलता पर्याप्त भएकै कारण बैंक तथा वित्तीय संस्थाबीचको कारोबारको ब्याजदर (अन्तरबैंक दर) एक प्रतिशतभन्दा कम छ ।

असार ५ मा अधिक तरलता १ खर्ब २१ अर्ब रुपैयाँ थियो । यसबीचमा केही रकम राजस्वमार्फत सरकारी ढुकुटीमा गएको छ । सोही कारण वित्तीय प्रणालीको तरलता घटेर गत सातासम्म करिब १ खर्बको हाराहारीमा झरेको थियो । केही दिनयता यो फेरि बढ्न थालेको छ । अधिक तरलता बढेसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाउन थालेका छन् ।

विगतमा पनि संकट तथा महामारीपछि बैंक तथा वित्तीय संस्थामा कर्जा माग कम भएको थियो । माग कम हुँदा वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिन्छ । यसले ब्याजदर घटाउँछ । यतिबेला कर्जाभन्दा निक्षेपको ब्याजदर धेरैले घट्छ । ०७२ सालको भूकम्प र लगत्तै भारतले गरेको नाकाबन्दीपछि पनि यस्तै अवस्था आएको थियो । अधिक तरलताकै कारण बैंक तथा वित्तीय संस्थाले थप निक्षेप लिन मानेका थिएनन् । अहिले पनि त्यस्तै अवस्था आउन सक्ने विज्ञहरूको अनुमान छ ।

निक्षेपको ब्याजदर धेरै कम हुँदा बैंक तथा वित्तीय प्रणालीबाट रकम सहकारीमा जाने तथा पुँजी पलायनको सम्भावना पनि व्यापक रहेको उनीहरूको भनाइ छ ।

लकडाउनका कारण रोकिएको कर्जा माग अझै सुरु भएको छैन । बैंकमा केही प्रतीतपत्र खुले पनि नयाँ ऋणको माग नआएको बैंकरहरूले बताएका छन् । गत सातासम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ३७ खर्ब ८१ अर्ब रुपैयाँ छ । सोही अवधिमा कुल कर्जा प्रवाह ३२ खर्ब १३ अर्ब रुपैयाँ छ । केही सातायता नियमित रूपमा कुल कर्जामा कमी आएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली भएकाले कुल लगानीमा रहेको कर्जा घटेको बैंकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको औसत सीसीडी अनुपात करिब ७२/७३ प्रतिशत हाराहारीमा छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता धेरै रहेको देखाउँछ ।

कोभिड–१९ का कारण व्यवसाय प्रभावित भएका ग्राहकलाई राष्ट्र बैंकले थप १० प्रतिशत कर्जा लिन पाउने सुविधा दिएको छ । अहिले नयाँ व्यवसायका लागि भन्दा पनि असार मसान्तमा बुझाउनुपर्ने साँवा तथा ब्याजका लागि ग्राहकले यही सुविधा उपयोग गर्दै कर्जा माग गरेको बैंकरहरूले बताएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]