झण्डै २५ हजार जनसंख्या रहेको उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाविस रामपुर ठोक्शिलाका बासिन्दा अभैm बैंकिङ पहुँचभन्दा बाहिर छन् । बैंक सञ्चालनका लागि चाहिने सडक, बिजुली, टेलिफोन, इन्टरनेट, सुरक्षाजस्ता न्यूनतम आधारभूत पूर्वाधारहरु पूरा हुने अवस्थामा भएपनि रामपुर ठोक्शिलामा अहिलेसम्म बैंकहरु पुग्न नसकेका हुन् । सो गाविसमा ग्रामीण क्षेत्रमा सेवा दिने लघुवित्त संस्थाहरुको समेत प्रभावकारी उपस्थिति हुन सकेको छैन । ठोक्शिलाबासी अहिले विभिन्न सहकारीमार्फत वित्तीय कारोबार गर्दै आएका छन् । सो गाविसमा दैनिक झण्डै दश लाख रुपैयाँको रेमिट्यान्स कारोबार हुने गरेको अनुमान गरिएको छ । वित्तीय कारोबार यति फराकिलो भईसकेको अवस्थामा एउटा बैंक पनि पुग्न नसक्नुलाई ठोक्शिलाबासीले विडम्बना ठानेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तारका लागि स्थानीयले पटक–पटक आग्रह गरेको भएपनि प्रक्रियागत झमेला देखाएर बैंकले अहिलेसम्म उनीहरुको मागबारे कुनै सम्बोधन गरेको छैन । स्थानीय पत्रकार रोयल आचार्यले भन्छन्, ‘दुई वर्ष अघि नै राष्ट्रिय बाणिज्य बैंकको शाखा खुल्ने कुराहरु आएको थियो । बैंकका माथिल्ला कर्मचारीहरु आएर ठाउँ हेरेर पनि गए । तर अहिलेसम्म त्यसको प्रगतिबारे हामी अनविज्ञ छौँ ।’
२०६८ सालको जनगणनाअनुसार त्यहाँको जनसंख्या २१ हजार २ सय ८१ छ । बैंक खोल्नका लागि आधारभूत पूर्वाधारहरु समेत छ । तर पनि बैंकहरु जान नमान्नुले बैंकहरुले नाफामुखी क्षेत्रमात्र हेर्छन जस्तो लागेको स्थानीय व्यवसायी शरद बहादुर कोइराला बताउँछन् । ‘अहिले हामी पैसाको कारोबारका लागि सुनसरी वा उदयपुरकै सदमुकाम गाइघाटसम्म धाउनु परेको छ । उनले भने , एउटा बैंक यही खुल्दिए हामीलाई निकै राहतको महशुस हुने थियो ।’
एक तथ्यांक अनुसार अझै पनि ४० प्रतिशत नेपाली बैंकिङ पहुँचभन्दा बाहिर छन् । तर पूर्वाधार र सम्भावना भएका क्षेत्रमा समेत बैंकहरु पुग्न नसक्नुले यस्तो प्रतिशत अझै बढी हुने अनुमान गर्न सकिन्छ । बैंकिङ कारोबारका लागि अहिले सो गाविसबासी सदरमुकाम गाइघाटदेखि सुनसरीको धरान, इटहरी, झुम्का र मोरङको विराटनगरसम्म पुग्ने गरेका छन् ।