Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आयात खुम्चिँदा विदेशी मुद्रा सञ्चिति बढ्यो

२०७७ असार ११ गते
०७४ असारमा यस्तो सञ्चिति १० अर्ब ७६ करोड अमेरिकी डलर थियो

कडाउनका समयमा आयात घटेपछि मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १० अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ । यो गत जेठ तेस्रो सातासम्मको तथ्यांक हो । त्यसपछि पनि रेमिट्यान्स, विदेशी सहायता, सरकारी ऋण आएकाले विदेशी मुद्राको सञ्चिति झनै बढेको राष्ट्र बैंक स्रोतले बताएको छ । अहिलेको विदेशी मुद्रा विनिमय सञ्चिति विगत तीन वर्षयताकै उच्च हो । यसअघि ०७४ असारमा यस्तो सञ्चिति १० अर्ब ७६ करोड अमेरिकी डलर थियो ।

विदेशी विनिमय सञ्चितिको वास्तविक अवस्था पत्ता लगाउन डलरमै घटबढ हेर्नुपर्छ । किनकि अमेरिकी डलरको विनिमय दरमा आएको घटबढअनुसार रुपैयाँमा पनि घटबढ हुन्छ । यसकारण वास्तविक विदेशी मुद्राको सञ्चिति बढ्न डलरमै बढ्नुपर्छ । अहिले डलरमै विदेशी मुद्रा सञ्चिति बढेको हो ।

गत आर्थिक वर्षको वैशाखको तुलनामा यो आवको सोही अवधिमा आयात करिब ६४ प्रतिशत घटेको छ । आयात घटेपछि त्यसबापत विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने रकम पनि घटेकाले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । ‘गत वैशाखसम्म शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति केही वर्षयताकै धेरै छ,’ उनले भने, ‘यसले मुलुकको बाह्य अवस्था बलियो रहेको देखाउँछ ।’ गत वैशाखमा ४२ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । ०७६ वैशाखमा १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।

वैशाखको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १०.८ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकको चालु आवको लक्ष्यभन्दा करिब चार महिना बढी हो । चालु आवमा कम्तीमा ७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको थियो ।गत वैशाखसम्म नेपालको विदेशी विनिमय सञ्चिति १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब १९ प्रतिशतको वृद्धि हो । ०७६ असारमा यो १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । वैशाखमा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ । ०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिति गत वैशाखमा १० अर्ब २५ करोड पुगेको थियो ।

गत असारको तुलनामा चैतसम्म डलरमा विदेशी मुद्रा सञ्चिति घटे पनि नेपाली रुपैयाँमा बढेको थियो । त्यतिबेला अमेरिकी डलरको विनिमय दर उच्च भएकाले रुपैयाँमा विदेशी विनिमय सञ्चिति वृद्धि भएको थियो । फागुनसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३६ अर्ब रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा यो ११ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो । गत असारको तुलनामा चैतसम्म यस्तो सञ्चिति ११.३ प्रतिशत बढेको थियो । ०७६ असारमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब रुपैयाँ थियो । त्यतिबेला पनि डलरको मूल्य बढेकाले रुपैयाँमा विदेशी विनिमय सञ्चिति बढेको थियो ।

गत फागुनमा अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६० करोड थियो । चैत मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ४९ करोडमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत वैशाखमा नेपाल भित्रिने रेमिट्यान्स ६.१ प्रतिशत घटेको छ । गत वर्षको वैशाखको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स घटे पनि गत चैतको तुलनामा भने बढेको छ । यसको सकारात्मक प्रभाव विदेशी विनिमयमा परेको राष्ट्र बैंकले जनाएको छ । गत वैशाखमा ६ खर्ब ८० अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा यो साढे १९ प्रतिशतले बढेको थियो ।

केही वर्षयता रेमिट्यान्स उच्च अंकले घटेको यो पहिलो घटना हो । गत फागुनमा १.८ प्रतिशत बढेको रेमिट्यान्स चैतमा ४ प्रतिशत घटेको थियो । उच्च दरले रेमिट्यान्स घटे पनि जेठमा थप सुधार आउने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । प्रक्षेपणअनुसार जेठमा ६२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिनेछ । ०७५ जेठमा ७३.७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

नेपालमा चैत ११ देखि निरन्तर रूपमा लकडाउन छ । लकडाउनको अवधि चैत र वैशाख गरी दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत आवको चैत र वैशाखको तुलनामा यो आवको सोही अवधिमा ४७ प्रतिशतले रेमिट्यान्स घटेको छ ।

गत वैशाखमा भने प्रत्यक्ष विदेशी लगानी भने सामान्य बढेको छ । यसले पनि विदेशी मुद्रा सञ्चिति बढ्नुमा मद्दत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

Ad