Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिमा पुँजी बजारबारे सुझाव

२०७७ असार ९ गते

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आईपिएसबाट गरिने भुक्तानीको सीमा हटाईनुपर्ने सुझाव दिएका छन् । आइतबार आगामी मौद्रिक नीतिमा पुँजीबजारको विकासका लागि समावेश हुनुपर्ने विषयमा आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन् । त्यस्तै, मार्जिन कर्जाको सीमालाई ८० प्रतिशत राख्नुपर्ने पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । अध्यक्ष पोखरेलले सेयर कर्जामा असुल्दै आएको चर्को व्याज घटाउनुपर्ने माग गरिन् । “लगानीकर्ताको मागलाई बोर्डले अनिवार्यरुपमा पूरा गर्नुपर्छ” उनले भनिन् । पोखरेलले तीन महिना बजार बन्द हुँदा सबैभन्दा बढी लगानीकर्ता पीडित भएको गुनासो गर्दै उनले नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको आरोप लगाइन् । सेयरबजारको लागि नीतिगत सुधार आएपनि कार्यन्वयन हुन नसकेको उनले उनले बताइन् । पूर्ण अनलाइन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भएपनि यसमा नियामक निकायले ध्यान दिन नसकेको उनले दाबी गरिन् ।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले सेयर बजारमा अहिले ग्रहण लागिरहेको बताए । बजारमा लागेको ग्रहण हटाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकमा पुगेको भन्दै रानाभाटले लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लािग राष्ट्र बैंकले पहल कदमी लिनुपर्ने सुझाव दिए । बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्र बैंकमा नै निर्भर भएकाले बजार सञ्चालन हुन नसकेको उनको भनाई थियो । उनले बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनु पर्ने, मार्जिनकलमा सहुलियत दिनुपर्ने लगायतका विषय मौद्रिक नीतिमा समेट्नु पर्ने सुझाव दिए । यस्तै सेयर धितो माग भएको कर्जाको व्याजमा तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव पनि दिए ।
उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमालाई हटाउन समेत सुझाव दिएका छन् । रानाभाटले हाल मार्जिन लेण्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले बण्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैरआवासीय नेपालीहरुलाई पनि दोस्रो बजारमा कारोबार गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिए ।
त्यस्तै, सेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको सेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिजबुकमा नाम लेखाउने अवस्थामा पुगेको बताए । लामो समयसम्म सेयर बजार बन्द भएकोप्रति नियामकहरुको आलोचना गर्दै यस्तो धारणा आएको हो । सेयर बजारले पुँजी निर्माण र तरलता सिर्जना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे । नेपालको पुँजी बजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सय दिन बजार बन्द गराएर गिनिजबुकमा नाम लेखाउनुपर्ने अवस्थामा पुगेको भन्दै उनले आलोचना गरे ।
नेपालको सेयर बजार सरकार, धितोपत्र बोर्ड, नेप्सेलगायतका नियमनकारी निकायहरुबाट नभई पुँजीबजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको उल्लेख गरे । सेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उनको भनाई थियो ।
२७ वर्षको इतिहासमा नेपालको सेयर बजार अझै दयनीय अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको बताउँदै उनले बण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्रयाउन पहल गर्न नसकेको आरोप लगाए । निक्षेपभन्दा बण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबार सहज हुन नसक्नुलगायतले बजार विस्तार हुन नसकेको बताए ।
अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने तर लगानीकर्ताहरुले लाभांश नपाउने अवस्था आउन सक्ने पनि उनले बताए । त्यस्तै लगानीकर्ता तिवारीले गैरआवासीय नेपालीहरुलाई यतिकै अवस्थामा आउ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको भन्दै नेपालमै बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानी गर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भि¥याउँछु भन्ने कोरा कल्पनामात्र भएको बताए ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक तथा सरकारले कम प्राथमिकतामा राखेको आरोप लगाए । अब वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउनु पर्ने भन्दै उनले सूचिकृत हुन आउनेलाई कर्जामा सहुलियत दिने नीति आवश्यक रहेको र यसो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताए । राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने उनको दाबी छ । ऐनमा भएको काम गर्दै जाने हो भने बोर्ड र बजारको विश्वसनियता बढ्दै जाने पनि उनले बताए ।
बेबिनारमा बोल्दै डा.गोपालप्रसाद भट्टले पुँजी बजारले सबै कामका लागि मौद्रिक नीतिको मुख ताक्नु दुखद भएको बताए । पुँजी बजारको नियामक निकाय भनेको धितोपत्र बोर्ड हो । त्यसैले बोर्ड आफैंले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, आवश्यक तरलता व्यवस्थापनलगायतका बिषयमा व्यवस्थापन गर्न सुझाव दिँदै उनले नेपालमा कर्जा दिने पनि बैंक तथा वित्तीय संस्था, लगानीकर्ताको उपकरण जारी गर्ने पनि बैंक तथा वित्तीय संस्था, मार्केट सञ्चालन गर्ने पनि वित्तीय संस्था रहेको बताए । “बजार विकासमा अन्य निजी क्षेत्रहरु पनि छन्, जसलाई परिचालन गर्नु आवश्यक छ”, उनले बताए । कारोबार दैनिकमा प्रकाशित समाचार 

Ad