बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले कर छुट दिएर नीजि क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । उनले कोरोनाका कारण अर्थतन्त्रलाई तिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रियसभामा बोल्दै उनले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि बढ्न सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच पनि अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए । आगामी आर्थिक वर्षको राजस्वको शीर्षकगत बाँडफाँट अन्तर्गत राजस्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण पनि उनले अवगत गराए । सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजस्व लक्ष्यसहित त्यसको २९।९५ मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ ।
“श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ । हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौं । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।” मन्त्री डा. खतिवडाले कोरोना संकट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढंगले जान्छ भन्नेमा नै अर्थतन्त्रको विकासमा भर पर्ने बताए ।