Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

महासंघको कार्यसमिति बैठक असार ८ गते

२०७७ जेष्ठ २७ गते

पूर्वअध्यक्ष चण्डी ढकालविरुद्ध खेद प्रस्ताव पारित

निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभासम्बन्धी आन्तरिक विवाद टुंग्याउन आगामी असार ८ गते कार्यसमितिको बैठक बोलाएको छ । गत शुक्रवार सम्पन्न महासंघको पदाधिकारीको बैठक साधारणसभाको विषयमा अनिर्णीत भएपछि कार्यसमितिको बैठक बोलाउने निर्णय गरिएको थियो ।

महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आगामी असार ८ गते कार्यसमितिको बैठक बस्ने बताए ।

कोरोना भाइरसका कारण दुईपटक स्थगित भएकोे महासंघको साधारणसभा असारभित्र नै गर्न केही पदाधिकारीले दबाब दिएका छन् । तर, बन्दाबन्दीका समयमा साधारणसभा गर्दा नराम्रो सन्देश जाने बताउँदै साधारणसभा गर्न हुन्न भन्ने महासंघ पदाधिकारीहरूको एक समूहको भनाइ छ । तर, पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष पदका दावेदारमध्येका एक चन्द्र ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीसहितको अर्को समूह असारभित्रै साधारणसभा गरिनुपर्ने अडानमा छ ।

साधारण सभामार्फत महासंघ नयाँ नेतृत्व चयन हुने भएकाले यो गर्ने÷नगर्ने विवाद अहिले बढ्दै गएको छ । विवाद समाधान गर्न महासंघले कार्यसमितिको बैठक आ≈वान गरेको हो ।
महासंघको विधानअनुसार गत चैत २८ र २९ गते नै साधारणसभा गर्नुपर्ने थियो । तर, बन्दाबन्दीका कारण चैतमा गर्ने भनिएको साधारणसभा जेठ ७ र ८ गते गर्ने भनिएको थियो । तर, बन्दाबन्दीको निरन्तरताका कारण सो मितिमा पनि साधारणसभा हुन सकेन । त्यसैले अहिले कहिले साधारणसभा हुने भन्नेमा अन्योल छ ।

विधानअनुसार चैतमा साधारणसभा गर्न नसकिएमा थप ३ महीनाभित्र साधारणसभा गर्नुपर्ने छ । अहिले सोही प्रावधानलाई टेकेर महासंघमा विभिन्न पदाधिकारीहरूले असारभित्र नै साधारणसभा गर्न दबाब दिँदै आएका छन् । विशेषगरी अध्यक्ष भवानी राणाले बाधा अड्काउको प्रस्ताव ल्याएर केही समय साधारणसभा नगर्ने भनेपछि महासंघमा विवाद बढेको हो ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ, जसअनुसार अबको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुनेछन् । वरिष्ठमा उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच, महासंघले महासंघको पूर्वअध्यक्ष तथा विशिष्ट सदस्यसमेत रहेका चण्डीराज ढकालविरुद्धको खेद प्रस्ताव पारित गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले सोमवार त्यससम्बन्धी माइन्युटमा हस्ताक्षर गरेपछि ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएको हो । महासंघको साधारणसभाको विषयलाई लिएर ढकालले विभिन्न मिडियामा अध्यक्ष भवानी राणाको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिँदै आएको आरोप लगाइएको छ । महासंघको साधारणसभाको मिति नतोकिएको विषयमा ढकालले अध्यक्ष राणालाई आप्mनो हैसियत बिर्सेको भनी आलोचना गर्दै आएका छन् ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले गत शुक्रवार भएको पदाधिकारी बैठकमा ढकालविरुद्ध खेद प्रस्ताव पेश गरेका थिए । खेद प्रस्तावको माइन्युटमा सोमवार अध्यक्ष राणाले हस्ताक्षर गरेपछि त्यो पारित भएको हो । त्यसमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि समर्थन रहेका छन् । महासंघका एक पदाधिकारीले चण्डीराज ढकालविरुद्ध खेद प्रस्ताव पारित भएको पुष्टि गरे । ‘उहाँलाई हामीले सम्मान गरेर महासंघमा विशिष्ट सदस्य पदमा राखेका छौं । महासंघमा उहाँको योगदान पनि बढी छ ।

तर, उहाँले मिडियामा गएर अध्यक्षमाथि अपशब्द बोलेर संस्थालाई नै कमजोर बनाउने काम गर्नुभयो, जुन गलत हो,’ उनले भने, ‘उहाँ निर्वाचित पदाधिकारी नै भएको भए यसले अझ ठूलो रूप लिने थियो । तर, हामीले खेद प्रस्ताव पारित गरेर मात्र राखेका छौं ।’ कुनै पदमा रहेको व्यक्तिप्रति विमति भए पनि निजको व्यक्तिगत जीवनलाई असर पुग्ने गरी टिप्पणी गर्न नहुने उनको भनाइ छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad